म्याग्दीको रघुगंगा गाउँपालिका २ भगवतिमा आर्थिक वर्ष २०७९÷८० को वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार वडा कार्यालयको प्राङगणमा आयोजित वडाको वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयले आफ्ना गुनासो, जिज्ञासा तथा सुझावहरु प्रस्तुत गरेका थिए ।

सहभागीहरुले भगवतिमा सिचाईको समस्या रहेको, खानेपानीको समस्या रहेको, योजना तर्जुमा गर्दा स्थानीयलाई कम सहभागिता गराएको, खानेपानी पहिरोले रुइसेटोल सम्मकै बस्तीहरुलाई जोखिम बनाएको, पष्टोलाको सडक अवरुद्ध भएको तर मर्मत नगरिएको, वडा भित्र मापदण्ड अनुसारको सडक निर्माण नभएको, आमा समुहको भवन भत्काएर वडा कार्यालय निर्माण गरेकोले आमा समुहलाई सामुदायिक भवनको समस्या रहेको, पिप्लेदेखि भगवति सम्मको सडक पिच भएको तर भाडादर समायोजन नभएको, पालिकाले समयमै शिक्षक उपलब्ध नगराउदा विद्यालयमा समस्या भएको लगायतका गुनासो राखेका थिए ।

सहभागी रवि बहादुर खत्री, इन्द्र बहादुर कार्की, तप्त कुमारी केसी, चन्द्र बहादुर केसी, गणेश घर्ति, सोम बहादुर भण्डारी, बालकृष्ण कटुवाल, विमल कटुवाल लगायतका सहभागीहरुले उठाएका प्रश्नहरुको जवाफ दिदै गाउँपालिका अध्यक्ष भव बहादुर भण्डारीले कालगण्डकी नदिबाट बैसरी, रिसिनचौतारी हँुदै भगवति सम्मको लिफ्टिङ सिचाईको २०७८ सालमा डिपिआर गरेर बजेटका लागि प्रदेश तथा संघ सरकारको मन्त्रालय र रुपा ताल संरक्षण आयोजना पठाएको बताउनुभयो । करिव ४ करोडको डिपिआर भएको सिचाई आयोजनाको काम अर्को आर्थिक बर्षदेखि संचालन हुने गरि प्रक्रिया अगाडि बढेको उहाँले बताउनुभयो ।

अध्यक्ष भण्डारीले पालिकाका सवै विद्यालयबाट १२ वटा कम्प्युटर शिक्षकको माग भई आएको र जसमध्य दुईवटा विद्यालयले विज्ञान शिक्षकको माग गरेकाले विज्ञान शिक्षक आवश्यकताको लागि पटक पटक सूचना जारी गर्दा पनि शिक्षक नपाईएको भन्दै उहाँले शुक्रबारमात्रै दुई विद्यालयमा विज्ञान शिक्षक उपलव्ध गराईएको बताउनुभयो ।

हाल सम्म पालिका भरिका विद्यालयहरुमा १९ जना शिक्षक र ९ जना बाल विकास सहजकर्ता गाउँपालिकाले व्यवस्थापन गरेको बताउनुभयो ।अध्यक्ष भण्डारीले गाउँपालिकाले भगवति वेग कृषि सडकको १० मिटर र वडा भित्र भएका अन्य सडकको ८ मिटर मापदण्ड रहेको कार्यविधि कार्यपालिकाबाट पास गरिएको र सोहि अनुसार सडक निर्माण र विस्तार गर्न निर्देशन गरेको बताउनुभयो ।

अध्यक्ष भण्डारीले वृहत चिम्खोला, भगवति, पिप्ले खानेपानी आयोजनाको भगवति र पिप्लेमा एक घर एक धारा निर्माण भएको बताउँदै क्रमागत रुपमा संचालन भईरहेको योजनाको थप कामका लागि चालु आर्थिक वर्षमा टेण्डर प्रक्रियामा रहेको बताउनुभयो ।

वडा अध्यक्ष अमृत भण्डारीले खानेपानी पहिरो नियन्त्रणका लागि अघिल्लो आर्थिक बर्षमा केहि ग्याविन जाली लगाईएको र थप वजेटको व्यवस्थापन गर्न पहल गर्ने बताउनुभयो । आमा समुहको भवन भत्काएर वडा कार्यालयको भवन निर्माण गरिएको र आमा समुहको लागि उपयुक्त जग्गा व्यवस्थापन गरेर सामुदायिक भवन बनाउने बताउनुभयो । वडा अध्यक्ष भण्डारीले बताउनुभयो ।

उहाँले योजनाको तर्जुमा गर्दा स्थानीयलाई सहभागिता बनाएको, स्थानीयको आवश्यकता अनुसारको विकासका गतिविधिलाई प्राथमिकतामा राखेको बताउनुभयो । वडा अध्यक्ष भण्डारीले आर्थिक बर्ष २०७९÷८० मा ६ लाख ५० हजार बजेट बाट वडाका न्युन आय भएका र दलित समुदायको गरि ९५ घरधुरीलाई स्वास्थ्य विमा सेवा उपलब्ध गराएको बताउनुभयो ।

क्रमागत योजनाको रुपमा आगामी ५ बर्षभित्र वडाका दलित र न्युन आय भएका सतप्रतिशत नागरिकलाई स्वास्थ्य विमाको पहुँच पु¥याईने बताउनुभयो । उहाँले उक्त आर्थिक बर्षमा वडा, पालिका, प्रदेश र संघबाट गरि वडामा ३ करोड ६९ लाखको योजना प्राप्त भएको र करिव ४० लाखको योजना बाहेक अरु सवै कार्यान्वय भएको बताउनुभयो ।

कार्यक्रममा निवर्तमान वडा अध्यक्ष रिम कटुवालले पनि सहभागीहरुले उठाएका प्रश्नहरुको सम्वोधन गर्नुभएको थियो । वडा सचिव विष्ण बहादुर भण्डारीले आर्थिक बर्ष २०७९÷०८० मा वडाले कुल ११ लाख ७३ हजार ९ सय ६२ रुपैयाँ राजस्व संकलन गरेको बताउनुभयो । उक्त आर्थिक वर्षमा १ करोड ९७ लाख १९ हजार सामाजिका सुरक्षा वापतको रकम वितरण गरेको वडा सचिव भण्डारीले जानकारी गराउनुभयो ।

कार्यक्रममा भगवति स्वास्थ्य चौकि ईन्चार्ज जयनाथ यादव, कृषि प्राविधिक सिता खड्का, पशुसेवा प्राविधिक सुनिता वढाथोकी, आयुर्वेदिक औसधालयका प्रमुख लक्ष्मण चालिसे, मुक्तिधाम माविका प्रअ टेक बहादुर केसी, सिद्धार्थ ज्ञान मन्दिर आविका प्रअ तोरण बहादुर श्रेष्ठ, धवलागिरी आविका प्रअ मन बहादुर पूर्जा, अन्नपूर्ण आविका प्रअ गंगा बहादुर भण्डारी र देउराली आविका प्रअ ओम बहादुर भण्डारीले वार्षिक प्रगति प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम वडा अध्यक्ष भण्डारीको अध्यक्षता, गण्डकी प्रदेश सभा सदस्य हरि भण्डारीको प्रमुख आतिथ्यता, वडा सदस्य कृष्ण बहादुर कटुवाल क्षेत्रीको स्वागत रहेको कार्यक्रमको सहजीकरण संचारकर्मी अमित विश्वकर्माले गर्नुभएको थियो ।

 

 

Leave a Reply