म्याग्दीको बेनी नगरपालिकाले महिलालाई नौमती बजाउने तालिम सुरु गरेको छ । आमा समुहसँग उपमेयर कार्यक्रम अन्तरगत नौमती बाजाको संरक्षण र प्रवर्धनका साथै महिलाहरूलाई आयआर्जनमुलक सीप सिकाउने उद्देश्यले मंगलबारदेखि बेनपा–१०पात्लेखेत र वाखेतका आमा समुहलाई नौमती बाजा बजाउने तालिम सुरु गरिएको हो ।

तालिमको उद्घाटन गदैं बेनी नगरपालिकाकी उपमेयर ज्योति लामिछानेले ग्रामिण क्षेत्रका महिलाको सक्रियतामा नौमती बाजाको संरक्षण र प्रवर्धनका साथै आयआर्जनमा समेत सघाउने भएकाले तालिम सञ्चालन गरिएको बताउनुभयो । ‘नौमती बाजा बजाएर पनि राम्रो आम्दानी गर्न सकिन्छ, आमा समूहको अग्रसरतामा भएका कार्यक्रमहरु सफल र दिर्घकालिन समेत देखिएका छन्’ उपमेयर लामिछानले भन्नुभयो ।

गृहिणी महिलालाई आवश्यक ज्ञान सीप र प्रविधि समेत प्रदान गरी नेपाली मौलिकताको जगेर्ना गर्दै आर्थिक विकासमा सघाउने उपमेयर लामिछानेको भनाई छ । गाउँमा विवाह, व्रतबन्धलागयत अन्य समाजिक कार्यक्रममा मौलिक बाजाको माग आइरहेको र युवापुस्तामा विदेश पलायन भएको अवस्थामा महिलालाई सीपसँगै आम्दानीको समेत अवसर रहेको सिद्धबराह आमा समुहकी सचिव गिता रोकाले बताउनुभयो । तालिममा बाजा बजाउने इच्छा भएका महिलालाई अवसर दिइएको छ ।

तालिमा सहभागी ३० जना महिलालाई स्थानीय देबीलाल नेपाली र श्याम नेपालीले एक महिनासम्म प्रशिक्षण दिनुहुने छ । तालिमको उद्घाटन कार्यक्रममा वडा अध्यक्ष मसबिर रोकाले आमा समुहसँग उपमेयर कार्यक्रममा दुई सेट नौमती बाजा खरिद, तालिम सञ्चालन लगायत महिला लक्षित गतिविधिका लागि ६ लाख, कुटानी पिसानी मेसिनका लागि ३ लाख बजेट विनियोजन भएको बताउनुभयो ।

तालिमको अध्यक्षता वडा अध्यक्ष रोका, स्वागत वडा सदस्य जानकी शर्मा र सञ्चालन नगरपालिकाकी महिला विकास निरिक्षक प्रतिमादेवी शर्माले गर्नुभएको थियो । म्याग्दीमा नौमति बाजाको तालिम लिएका महिलाहरूको सक्रियता प्रभावकारी देखिएको छ । पछिल्लो समय विवाह, व्रतबन्ध, चाडबाड तथा मेला पर्व र उत्सवहरूमा नौमती पञ्चेबाजाको माग बढी हुने गरेको भए पनि बाजा बजाउन सक्ने दक्ष जनशक्तिको भने अभाव रहँदै आएको छ । पञ्चेबाजा बजाउने सीपको पुस्तान्तरण नभएकाले पनि समस्या भएको हो ।

 

 

Leave a Reply