लागुऔषधको कुलतमा फसेका दुई यूवाले नियमित खर्च गर्ने पैसा नभएपछि पर्वतको जलजला गाउँपालिका–२,मल्लाजमा दहमा एक दम्पत्तीको विभत्स हत्या गरे ।

गएको चैत्र महिनाको १९ गते मदिरा र प्रतिबन्धित लागुऔषधको प्रयोग गर्ने गरेका जलजला गापा–२ नेपानेका ३४ बर्षिय कृष्ण बहादुर विश्वकर्मा र कुस्मा नगरपालिका–२,खुर्कोटका ३२ बर्षिय दिपक दर्जीले पेशेवर अपराधीको जस्तै १५ दिनदेखि नै लुटपाटको योजना बनाएर दम्पत्तीको हत्या गरी गरगहना, केही नगद सहित रिचार्ज कार्ड १७ थान लुटेर लगे ।

बैदेशिक रोजगारीबाट फर्किएपछि सवारीचालक बनेका विश्वकर्मा र दर्जी कुलतमा फसेपछि सवारीधनीले निकालेपछि नियमित लागुऔषधको प्रयोग गर्ने गरेका थिए। घटना अगाडी विश्वकर्मा र दर्जी लागूपदार्थको सेवनपछि लठ्ठ थिए ।

बोलेरो र जीपबाट आउने तलबसुविधाले खर्च चलाउँदै आएपनि नियमित गाँजा र मदिरा सेवनको लतमा फसेपछि एकबर्षदेखि काम विहिन भएका थिए । आर्थिक रुपमा विपन्न र परिवारको जिम्मेबारीले समेत थिचेपनि कुलतको साहरामा रमाइरहेका विश्वकर्मा र दर्जीले आफ्नो दैनिक हुने खर्च चलाउनै नसक्ने अवस्था भएपछि लुटपाटको योजना बनाएर एउटा सुन्दर घरको खुसी नै लुटिदिए ।

‘कुलतमा फसेका उनीहरुले लुटपाट गरी खर्च चलाउन घटना घटाएको पुष्टी भएको छ,‘लुटेर गुजरा चलाउने योजना बनाएका थिए’ पर्वतका प्रहरी नायव उपरीक्षक खुमलाल भुषालले बेनीअनलाइनलाइ भने । उनले जसरी पनि खानैपर्ने अवस्था भएकाले लागुऔषध किन्नका लागि पैसा जुटाउने मौका हेरिरहेका उनीहरूले परिचय खुल्ने डरले हत्याका घटना घटाएका थिए ।

अभियुक्तद्धय विश्वकर्मा र दर्जीले नियमित गाँजा र मदिरा सेवन गर्ने गरेको पाइएको छ । उनीहरूले प्रतिबन्धित लागुऔषधको समेत सित्तैमा पाएसम्म सेवन गर्ने गरेका थिए ।

दैनिक कागजमा बेरेर साना साना गाँजाको पोकासहित बजारमा आउने गरेका विश्वकर्माले गाउँमा बृद्धबृद्धा र आर्थिक रुपमा बलियो अवस्थामा रहेको परिवारमा लुटपाट गरी संकलन भएको आर्थिकले लागुपदार्थ सेवन गर्ने योजना बनाएको प्रहरीलार्इ बयान समेत दिएका छन् ।

‘कुलतमा फसेका युवाले अपराध जन्माउँछन, समाजमा अब कुलतमा फसेकाहरुलाई निगरानी गर्नुपर्छ’ प्रनाउ भुषालले भने । उनले भात खान छाडेर पनि गाँजा तान्नै पर्ने अवस्थामा अभियुक्तद्धय विश्वकर्मा र दर्जी पुगेको समेत प्रनाउ भुषालको भनाई छ ।

घटनाको अघिल्लो दिन दिउँसो आधा घण्टा घटनास्थल पुगेर रेक्की समेत गरेको भेटिएको थियो । कुलतमा फसेकाहरूबाट परिवारका सदस्य समेत असुरक्षित हुने गरेको अवस्थामा समाजमा घट्ने घटनाका ठूलो हिस्सा मदिरा र लागुऔषधको सेवनबाट हुने भएकाले समयमै निगरानी गर्न नसक्दा समाजमा अपराधिक घटना घट्ने गरेको प्रहरीको भनाई छ ।

दह घटनाका अभियुक्त दर्जी बि.स ०८०साउन देखी माघ महिना सम्म ६ महिना बागलुङ स्थित नव जीवन सुधार गृहमा ६ महिनामा बसेर निस्किएका थिए । प्रहरी अधिकारीहरूका अनुसार यहाँ घट्ने ८० प्रतिशत अपराधिक घटना लागुऔषधकै कारण भइरहेको बताउँछन्।

लागुऔषध प्रयोग गरेर हत्या र जबर्जस्ती करणी गर्ने गरेको भएपनि सबै मुद्दा कर्तव्य ज्यान र जबर्जस्ती करणीमा परिणत हुने भएकाले लागुऔषधकै फरक मुद्धाको रुपमा लामो समयसम्म अभिलेखमा राखिदैन । समाजमा लागुऔषधको कुलतमा फसेकाहरुलाई समयमै सुधारकेन्द्र र उनीहरुको अपराधिक मानसिकताको पहिचान गर्न सकेमा घरायसी हिंसा र समाजमा हुने अपराधिक घटना नियन्त्रणमा सहज हुने भएकाले सचेतनामुलक अभियान समेत सञ्चालन गर्नुपर्ने जानकारहरु बताउँछन् ।

Leave a Reply