सवारी व्यवस्थापन, दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि म्याग्दीमा ट्राफिक सप्ताह सुरू भएको छ । जिल्ला प्रहरी कार्यालय अन्तरगत ट्राफिक प्रहरी कार्यालयको आयोजनामा तथा स्थानीय तह, विभिन्न संघसंस्थासँगको समन्वय तथा सहकार्यमा साताव्यापी रूपमा विविध ट्राफिक चेतनामूलक कार्यक्रम गरी ट्राफिक सप्ताह मनाउन लागिएको हो ।

सप्ताहको पहिलो दिन सदरमुकाम बेनीबजारमा प्रभातफेरी गरी जिल्ला समन्वय समितिमा पुगेर अन्तरक्रिया कार्यक्रमको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले ट्राफिक सप्ताहको उद्घाटन गदैं सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि सबैको जिम्मेबारी रहेको बताउनुभयो ।

दिवसको अवसरमा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, जिल्लाका स्थानीय तहका प्रमुख तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिले दुर्घटना न्यूनीकरण गर्न, सडक अनुशासन कायम राख्न, सडक प्रयोगकर्तालाई जिम्मेवारी बोध गराउन सचेतनामुलक अभियानहरु निरन्तर जारी राख्नुपर्नेमा जोड दिइएको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ नायब निरीक्षक राजकुमार केसीले चालक, परिचालक, पैदलयात्री, विद्यार्थी र समग्रमा सडक प्रयोगकर्ता लक्षित ट्राफिक चेतनामूलक कार्यक्रमहरू गरिने बताउनुभयो।

म्याग्दीमा सवारी दुर्घटनाको विश्लेषण गर्दा अधिकांश सवारी दुर्घटना तीव्र गति, ट्राफिक संकेत वा इशाराको उल्लंघन, मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन चलाउने जस्ता चालकको लापरबाहीका कारण हुने गरेको पाइएको ट्राफिक प्रहरीले जनाएको छ।

त्यस्तै ग्रामिण क्षेत्रमा सडकको अवस्था,सवारी साधनको खराब र लाइन्सेन्स नभएका चालक, निजी सवारीसाधनले क्षमताभन्दा बढी यात्रु बोक्ने , भाडाका सवारीसाधनको नियमित मर्मतको अभाव, सवारीको यान्त्रिक गडबडी र सडक प्रयोगकर्तामा ट्राफिक नियमको पर्याप्त ज्ञानको अभाव पनि सवारी दुर्घटनाका कारण बनेको छ। ट्राफिक सप्ताहमा सचेतनामुलक अभियान, सवारीचाकलको स्वास्थ्य परीक्षण देखि दुर्गम क्षेत्रमा समेत विभिन्न कार्यक्रम गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply