म्याग्दीका कृषकहरुले यय वर्ष झण्डै नौ सय रोपनी क्षेत्रफलमा एक करोड भन्दा बढी मुल्य पर्ने वर्षे आलुको बिउ रोपेका छन् ।समुदायस्तरमा प्रविधियुक्त कृषि उत्पादन प्रवद्र्धन आयोजना अन्तर्गत खायन आलु उत्पादन प्रवद्र्धन कार्यक्रम मार्फत म्याग्दी जिल्ला भित्रका १३ वटा कृषक समूहले एक करोड तीन लाख ७४ हजार पाँच सय ९४ रुपियाँ मुल्यको आलुको विउ खरिद गरेर लगाएका हुन् ।

१३ वटा कृषक समूहका करिब दुई सय परिवारले म्याग्दीको रघुगंगा गाउँपालिका, धवलागिरी गाउँपालिका, मंगला गाउँपालिका, धवलागिरी गाउँपालिका र बेनी नगरपालिकाको ८ सय ९८ रोपनी क्षेत्रफलमा उक्त मूल्य बराबरको आलु लगाइएको कृषि ज्ञान केन्द्रका नायव प्राविधिक सहायक नवराज भुषालले बताउनुभयो ।

कृषि ज्ञान केन्द्रले दिएको जानकारी अनुसार यस वर्ष वर्षे आलुका लागि विभिन्न १५ वटा कृषक समूह छनौट भएको भए पनि कार्यक्रमका लागि सम्झौता गर्न १३ वटा समूह मात्रै आएका थिए । ज्ञान केन्द्रले आलु प्रवद्र्धन कार्यक्रम अन्तरगतको खायन आलु उत्पादन प्रवद्र्धन अन्तरगत आलु लगाइएको क्षेत्रको अनुगमन गर्दा उत्पादकत्व राम्रो हुने देखिएको कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जिव बाँस्तोलाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो–‘जिल्लाको आलुको उत्पादकत्वको हिसाबले हेर्दा यस वर्ष सात सय ६५ मेट्रिकटन आलु उत्पादन हुने देखिन्छ ।’ आठ सय ९८ रोपनी भनेको ४५ हेक्टर क्षेत्र फल हो र प्रति हेक्टर म्याग्दीमा १७ मेट्रिकटन उत्पादन हुने देखिन्छ । आलुको बोटको हाल सम्मको गुणस्तर हेर्दा अन्य कुनै रोग किराको समस्या भएन भने यस वर्ष करिब आठ सय मेट्रिकटन सम्म आलु उत्पादन हुने हामीले अनुमान गरेका छौं–बाँस्कोटाले भन्नुभयो ।

पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकम, धवलागिरी गाउँपालिका–४ मुदीको बगर, उत्तरी म्याग्दीको अन्नपुर्ण गाउँपालिका–६ को खिबाङ, रघुगंगा गाउँपालिका–६ ठाडाखानीलगायतको क्षेत्रमा यस वर्ष वर्षे आलु लगाइएको छ । त्यस्तै बेनी नगरपालिका–३ को भुकभुके, मंगला गाउँपालिका–२ हिदी लगायतको क्षेत्रमा पनि आलु उत्पादन राम्रो हुने भएकाले त्यस क्षेत्रमा आलु उत्पादनका लागि अनुदान वितरण गरिएको कार्याय प्रमुख बाँस्कोटाको भनाई छ ।

यस पटक २५ प्रतिशत कृषकको र ७५ प्रतिशत अनुदान गरी प्रति रोपनी ११ हजार पाँच सय ५३ रुपियाँ बराबरको बीउ खरिद गरेर आलु खेती गरिएको हो । कृषि ज्ञान केन्द्रको ७५ प्रतिशतमा कृषकले आफ्नो २५ प्रतिशत थप गरेर कुल एक करोड ३ लाख ७४ हजार पाँच सय ९४ रुपियाँ मूल्य बराबरको आलुको बिउ खरिद गरेर खेती गरिएको ज्ञान केन्द्रको भनाई छ ।

Leave a Reply