म्याग्दीको बेनी नगरपालिकालाई  पूर्ण खोप पालिका घोषणा गरिएको छ। (आज) शुक्रबार बेनी नगरपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गरि नगरपालिकालाई  पूर्ण खोप सुनिश्चितता स्थानीय तह घोषणा गरिएको हो । नगरपालिकाका सबै वडामा  लक्षित उमेर समुहका बालबालिकाहरुले तोकिएको खोपको पुरा मात्रा लगाएकाले पूर्णखोपको दिगोपना कायम राख्ने प्रतिवद्धता जनाउदै घोषणा गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि  जिल्ला सामान्य समिति म्याग्दीका प्रमुख राजकुमार थापाले नेपाल सरकारले कुनै काम एक्लै सम्पन्न्न गर्न  सम्भव नभएका कारण स्थानीय तहलाई तोकेको हुँदा स्थानीय तहले प्राथमिकतामा राखेर कार्यक्रम अगाडी बढाएको बताउनुभयो ।

१६ महिना देखि ५ वर्ष उमेर समूहका २१८२  जना बालबालिकाहरुले तोकिएको सबै प्रकारका खोपहरु लगाएकाले पूर्णखोप सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य कार्यालय म्याग्दीका भुवन ठकुराठीले जानकारी दिनुभयो । उहाँले खोप पाउनुपर्ने हरेक बालबालिकाको नैसर्गिक अधिकार भएकोले हरेक बालबालिकाले पूर्ण खोप पाउनुमा स्वास्थ्यकर्मी  मात्रै नभई हरेक क्षेत्र, विद्यालय, आमा समूह, जनप्रतिनिधिको पनि   उत्तिकै महत्वपुर्ण भूमिका रहेको बताउनुभयो ।

कार्यक्रममा नगरपालिकाका निमित्त प्रशासकिय अधिकृत हेमचन्द्र पौडेलले कार्यक्रम घोषणा गर्न सजिलो तर सम्पन्न गर्न र त्यसलाई टिकाइ राख्न गाह्रो हुने भएकोले कार्यक्रमको दिगोपनामा जोडिनुपर्नेमा जोड दिनुभयो ।

नगर पालिकाका  सामाजिक समितिका संयोजक चक्र केसीले प्राविधिक कुरामा अलमलिंदा धेरै जसो स्वास्थ्य सम्बेदनशिलताका कुराहरु छुट्न गएको भएतापनि अवका दिनमा त्यसलाई थप ब्यबस्थित पारिदै लगिने बताउनुभयो ।कार्यक्रममा बेनी नगरपालिकाका जन स्वास्थ्य शाखाअधिकृत चन्दन सुबेदीले नगरपालिकामा संचालन भएको खोप अभियानको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

कार्यक्रममा प्रतिबद्दता ब्यानर पढेर प्रतिबद्दता समेत  गरिएको थियो । पूर्ण खोप सुनिश्चितता पालिका घोषणा कार्यक्रम बेनी नगर पालिकाका प्रमुख सुरत केसीको अध्यक्षता, जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाको प्रमुख आतिथ्यता,  नगरपालिकाका स्वास्थ्य शाखा  उप-प्रमुख लिला गौतमको संचालन र स्वागत सोमनाथ उपाध्यायले गर्नुभएको थियो ।

चालु आर्थिक वर्ष २०८०/०८१ मा पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने बेनी नगरपालिका जिल्लाको तेश्रो स्थानीय तह बनेको छ । यसअघि रघुगंगा गाउँपालिका र धौलागिरि गाउँ पालिकालाई  घोषणा गरिएको थियो ।

Leave a Reply