म्याग्दीमा सञ्चालित न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। पर्वत बेनीस्थित ज्ञान गौरी रिसोर्टमा मंगलबार सहकारीका एकाई प्रतिनिधिको उपस्थितमा भएको वार्षिक साधारणसभाको उद्घाटन सहकारी रजिष्ट्रार कार्यालय पोखराका रजिष्ट्रार भेषराज रिजालले गरे ।

म्याग्दीको पूरानो सहकारी रुपमा चिनिएको न्यू धौलागिरीमा ७ हजार १२३ जना शेयर सदस्यको आठ करोड ३९ लाख ८८ हजार पाँचसय रुपैयाँ शेयर पुँजी रहेको छ ।

निक्षेपतर्फ ५५ करोड ८ लाख १ हजार ९०५ रुपैयाँ र कर्जा लगानी ६० करोड ८९ लाख ३९ हजार १८९ रुपैयाँ रहेको सहकारीको जगेडासहित अन्यकोषमा चार करोड ४ लाख २ हजार २३१ रुपैया रहेको सहकारी साधारणसभामा जानकारी गराएको छ। गत आर्थिक बर्ष सहकारीले ७७ करोड १६ लाख ४९ हजार ३५९ रुपैयाँको कारोबार गरेको थियो । साधारणसभाको अवसरमा उत्कृष्ट शाखा बनाउन सफल पर्वतको जलजला–३ मल्लाज सेवा केन्द्रका संयोजक हेमन्त थापालाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो ।

कर्मचारीहरुतर्फ अनी घर्तिमगर, शर्मिला पौडेल, नरबहादुर थापा, तुलन बुढा, डिप्सन भण्डारीलाई दोसल्ला ओढाएर नगद र प्रमाणपत्रले सम्मान गरिएको थियो । सहकारीले म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययन गर्ने सोमप्रसाद सापकोटालाई नगद १५ हजार रुपैयाँको छात्रवृत्ति प्रदान गरेको थियो । सहकारीको सहयोगमा सापकोटाले स्नातक तह अध्ययन पूरा गरेका थिए।

साधारणसभामा सहकारी रजिष्ट्रार कार्यालय पोखराका रजिष्ट्रार भेषराज रिजालले सहकारीले बचत फिर्ता गर्न नसकेको उजुरी दिनदिनै बढ्दै गएको भएपनि राम्रा सहकारीलाई कुनै समस्या नभएको बताए। घरजग्गामा भन्दा सहकारीले उद्यमशिलता र उत्पादनमूलक क्षेत्रमा बचत लगानी गर्न आग्रह गरे । सहकारीको ऐन नियम, मूल्यमान्यता र सिद्धान्तलाई पालना गरेर संचालन भएका सहकारीलाई समस्या नभएको बताउदै जनस्तरबाट बचत भएको रकमलाई सुरक्षित हुनेगरि नाफा आउने क्षेत्रमा लगानी गर्न आग्रह गरेका थिए ।

केही सहकारीका संचालक समितिको लापरबाहीले राम्रा सहकारीलाई चुनौती थपिएको छ, राम्रा सहकारीका सेयर सदस्य र संचालकले सहकारीलाई मजबुद बनाउन बोनस कम खाएर संस्थालाई बलियो बनाउन आग्रह गरेका थिए । त्यस्तै कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य विमला गौचनले सहकारी ऐन नियमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न संचालक समिति, कर्मचारी र शेयरसदस्यले ध्यान दिन आग्रह गरिन् ।

उनले केही सहकारीको गल्तीले राम्रा सहकारीलाई चुनौती दिएको बताईन् । त्यस्तै बेनी नगरपालिकाका नगरप्रमुख सुरत केसीले सहकारीले क्षेत्र अधिकार बाहिर पुगेर ऋण लगानी गर्दा बचतकर्ताको बचत फिर्ता गर्न नसकेको देखिएको बताए । अध्यक्ष र प्रवन्धकको गल्तीले बचत फिर्ता गर्न नसकेको सहकारीको जिम्मेवारी कार्यसमिति सबैले भोग्नुपर्ने बताए । ‘नगरमा ५१ सहकारीमध्यै १० सहकारीलाई हटाएर ४१ सहकारी कायम छन् । यी सहकारीमध्ये केही सहकारीले बचत फिर्ता गर्न नसकेको उजुरी बचतकर्तामार्फत आएका छन् ।

लेखापरिक्षकको गल्तीले बचतकर्ताको बचत जोखिममा परेको छ।’–मेयर केसीले भने । सहकारीको नाममा रहेको अचल सम्पतीलाई बेचेर सहकारीले चल पुँजी बनाएर अघि बढ्न संचालक समिति, शेयर सदस्य र कर्मचारीलाई प्रमुख केसीले आग्रह गरे ।

सहकारी रजिष्ट्रार कार्यालय पोखराका अधिकृत सुर्यप्रसाद आचार्यले सहकारी संचालकले बचतको रकम मिटर ब्याजमा लगानी गर्ने, बचतलाई ठुला घरजग्गामा लगानी गर्दा सहकारी जोखिममा परेकोे उल्लेख गरे । सहकारी संस्थालाई बलियो बनाउन सञ्चालक समिति, शेयर सदस्य र कर्मचारी सबै लाग्नुपर्ने भन्दै यसमा शेयर सदस्यहरुले विशेष ध्यान दिनुपर्ने बताए।

कार्यक्रममा सहकारीका निवर्तमान अध्यक्ष लिलाबहादुर बानियाँ, उत्कृष्ट सेवा केन्द्रको तर्फदेखि जलजला गाउँपालिका–३, मल्लाज पर्वत सेवाकेन्द्रका उपसमिति संयोजक हेमन्त थापा, पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष हरिकृष्ण गौतम शेयरसदस्यहरु लक्ष्मी सुवेदी पौडेल र टिकानाथ शर्मा लगायतले मन्तव्य राखेका थिए ।

सहकारी संस्थाका अध्यक्ष अमृतलाल श्रेष्ठको अध्यक्षता र उपाध्यक्ष रामजीप्रसाद सुवेदी स्वागत, संचालक समितिका सदस्य हेमन्त थापाको संचालनमा सम्पन्न कार्यक्रम ७ वटा शाखाका उपसमिति, कर्मचारी लगायतको उपस्थित रहेको थियो ।मूख्य कार्यालय बेनी रहेको यस सहकारीले मल्लाज, पोखरेबगर, तातोपानी, बाबियाँचौर, दरबाङ र मुनामा सेवाकेन्द विस्तार गरेर सेवा दिदै आएको छ ।

Leave a Reply