म्याग्दीको मंगला गाउँपालिका-४ बरंजामा अवस्थित ऐतिहाँसिक पर्यटकीय स्थल गाम्फा धुरी पूर्वाधारको पखाईमा रहेको छ। समुन्द्री सतहदेखि ३ हजार ९ मिटरको उचाईमा रहेको उक्त स्थानमा पयर्टक लक्षित पूर्वाधार नहुँदा प्रकृतिको अनुपम उपहार हुँदाहुँदै पनि ओझेलमा परेको छ ।

वरिपरि घना जंगलको विचमा रहेको अग्लो पहाडको टुप्पो, गाम्फा धुरी अनुपम प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । म्याग्दीको मंगला ४ र बाग्लुङ जिल्लाको ताराखोला गाउँपालिका–३ को सिमानामा अवस्थित गाम्फाधुरी स्वर्गद्वारीबाट आउनुभएका १००८ स्वामी परमानन्द महाराजले तपस्या गरेको ऐतिहासिकस्थल हो ।उक्त स्थानबाट पूर्वी रुकुमको चुरेन हिमालदेखि गुर्जा, धवलागिरी, मानापाथी, निलगिरी, अन्नपूर्ण, माछापुच्छे्र हुँदै गार्खामा रहेका मनास्लु हिमाल सम्मका दर्जनौ हिमश्रृङ्खलाहरु आँखै अगाडी देख्न सकिन्छ ।

म्याग्दी, बाग्लुङ, पर्वत र कास्की जिल्लाका समेत अधिकांश ग्रामिण वस्ती देख्न सकिने गाम्फाधुरीमा स्वामी परमानन्दले तपस्या गर्नेक्रममा बनाएको कुटी, साधना स्थल र हवनकुण्डको भग्नावशेष देख्न सकिन्छ ।

ढुङ्गा खोपेर पानी सङ्कलन गर्न बनाइएको संरचना उस्तै छ । तपोभूमि क्षेत्रका ऐतिहासिक संरचनाको दृश्यावलोकन र प्राकृतिक सुन्दरताले मोहित बनाइदिन्छ । सूर्योदय र सूर्यास्तको सुन्दर दृश्यावलोकनले जोकोही पनि आकर्षित हुन्छन् ।

यस क्षेत्रको जङ्गलमा विभिन्न प्रजातिका लालिगुँरास, वनस्पति, विभिन्न चराचुरुङ्गी र जनावर पाइन्छन् ।
मङ्गला –४, वडा कार्यालयले गाम्फाधुरीमा पूर्वाधार निर्माण, आध्यात्मिक र धार्मिक क्षेत्रको विकास गर्न, ऐतिहासिक तपोभूमिको संरक्षण र प्रवर्धनका लागि पहल थालेको छ ।

वडा अध्यक्ष लालबहादुर रोका मगरले ऐतिहासिक तपोभूमिको संरक्षण, पूर्वाधार निर्माण र प्रवर्धन गरी पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न वडाले पहल थालेको बताए ।

उनले भने, ‘‘गाम्फाधुरी प्राकृतिक सुन्दरताको उपहार मात्र नभई १००८ स्वामी परमानन्दज्युले तपस्या गरेर ज्ञान प्राप्त गरेको ऐतिहासिकस्थल पनि हो । यहाँ भग्नावशेषको रूपमा परिणत भएका संरचनाको संरक्षण, पूर्वाधार निर्माण र प्रवर्धन गर्न सकेमा ठुलो सङ्ख्यामा तपस्वी, भक्तजन र पर्यटक भित्र्याउन सकिन्छ।’’

वि.सं. २०१७ सालदेखि २०२७ सम्म गाम्फाधुरी बस्नुभएका स्वामी परमानन्दबाट स्थानीय छविप्रसाद शाहनन्द लामिछाने र खड्कप्रसाद रोकाले पनि शिक्षा प्राप्त गरेको इतिहास रहेको वडा अध्यक्ष रोकाले बताए । यसैगरी स्वामी परमानन्दले २०१८ सालमा सोही वडाको दुर्दिमा शिवालय मन्दिर स्थापना गरेका थिए । तपोभूमि क्षेत्रमा मन्दिर, स्वामी परमानन्द सहित उहाँका चेलाहरू छविप्रसाद र खड्कप्रसादको मूर्ति बनाउने वडा अध्यक्ष रोकाले बताए ।

‘‘गाम्फाधुरीलाई धार्मिक र पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सडक निर्माण, खानेपानी, पदमार्ग निर्माण, तपोभूमिमा पूर्वाधार निर्माण र प्रवर्धनका लागि गाउँपालिका, प्रदेश र संघ सरकारका सम्बन्धित कार्यालयसमक्ष बजेटको व्यवस्था गरिदिन माग गरिसकेको छु’’ उनले भने ।

पर्यटनको क्षेत्रमा गाम्फाधुरीको प्रचुर सम्भावना रहेकाले यसको प्रचार–प्रसार सहित पूर्वाधार निर्माण गर्ने आवश्यक रहेको वडा सदस्य होममाया पुन बुढाथोकीले बताइन् ।

गाउँपालिकाका सब–इन्जिनियर धनबहादुर बोहराले तपोभूमि क्षेत्रको संरक्षण, गाम्फाधुरीसम्म पूर्वाधार निर्माण, सडक र पदमार्ग निर्माणका लागि ठुलो बजेट आवश्यक पर्ने उनको भनाई छ ।

गाम्फाधुरीमा पूर्वाधार निर्माणका लागि प्रदेश तथा संघ सरकार संग बजेटको माग गर्नलाई हाल वडा कार्यालयले स्टिेमेट तयार गर्न लागेको बोहराले बताए ।

पालिकाभित्रका ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरुको विकास गरि पर्यटन प्रवर्धन गर्न पालिका योजनाबद्ध ढंगले अघि बढेको मंगला गाउँपालिकाका अध्यक्ष सत प्रसाद रोकाले बताए ।

बेनीबाट तातोपानी हुँदै मंगला ४ बुकेनीमा सवारी साधनमार्फत १ घण्टाको यात्रा र बुकेनीबाट करिब साढे ३ घण्टाको पैदलयात्रामार्फत गाम्फाधुरी पुग्न सकिन्छ । त्यस्तै मंगला ३ को झाँक्रीपानी भएर पनि उक्त स्थानमा पुग्न सकिन्छ । सोही धुरीको नामबाट मङ्गला –४, मा युवा क्लबको नामकरण समेत गरिएको छ ।

 

Leave a Reply