म्याग्दीको बेनी नगरपालिका–५,पुलाचौरस्थित पौलस्त्य पुलहाश्रम क्षेत्रमा नवनिर्मित हेलिप्याड स्थानीय तहलाई हस्तान्तरण भएको छ । नेपाली सेनाको दक्ष जनशक्ति तथा प्राविधिक सहयोगमा बनाइएको हेलिप्याड एक समारोहबीच उद्घाटन गरी बेनी नगरपालिका र वडा कार्यालयलाई हस्तान्तरण गरिएको हो ।

नेपाली सेना पश्चिम पृतना हेडक्वाटरको ‘एक आर्थिक वर्ष, एक युनिट, जोडी हेलिप्याड निर्माण’ कार्ययोजना अन्तर्गत नागरिकमैत्री हेलिप्याड बनाइएको नेपाली सेनाले जनाएको छ । हेलिप्याड निर्माणकार्यमा बेनी नगरपालिका र वडा कार्यालय पुलाचौरले आर्थिक व्यवस्थापन गरेका थिएभने नेपाली सेनाको शत्रुभञ्जन गुल्म अर्थुङ्गे व्यारेक म्याग्दीबाट दक्ष जनशक्तिसहित प्राविधिक सहयोग भएको थियो ।

नवनिर्मित हेलिप्याडको पश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी दिपककुमार बानियाँ र म्याग्दीको बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले संयुक्त रुपमा उद्घाटन गरे ।

हेलिप्याडको उद्घाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दै पृतनापति बानियाँले समुदायस्तरमा हुने विपद् व्यवस्थापनमा खोज, उद्धार, राहतलगायत कार्यमा आवश्यक सहयोग पु¥याउन हेलिप्याड बनाइएको बताए । उनले गण्डकी प्रदेशका १० वटा जिल्लामा जोडी हेलिप्याड बनाउने कार्यक्रमअनुसार म्याग्दीमा हेलिप्याड निर्माण गरी हस्तान्तरण गरिएको जानकारी दिएका छन् ।

कार्यक्रममा नगर प्रमुख केसीले नवनिर्मित हेलिप्याडले पुलाचौरसहित पात्लेखेत र कुहुँका स्थानीयवासी लाभान्वित हुन सक्ने बताउँदै स्थानीय र वडाले हेलिप्याडको संरक्षण गर्नुपर्ने बताए ।

उनले नेपाली सेनाले बनाउने जोडीमध्ये अर्को हेलिप्याड बेनी नगरपालिकाभित्र निर्माण गरिदिन आग्रह गर्दै त्यसका लागि आवश्यक सहयोग गर्ने पनि बताएका छन् ।

शत्रुभञ्जन गुल्म अर्थुङ्गे व्यारेकका गुल्मपति प्रकाश घिसिङले स्वागत गरेको कार्यक्रममा म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, प्रहरी नायव उपरीक्षक मदन कुँबर, पुलाचौरका वडा अध्यक्ष गोविन्द बानियाँको उपस्थिति रहेको थियो ।

समुन्द्री सतहदेखि १७ सय १० मिटरको उचाइमा निर्माण गरिएको हेलिप्याडको डायमिटर (लम्बाइ र चौडाई) ४० फिट रहेको छ ।

हेलिप्याडमा साना, मझौला र एमआई सेभेन्टिन हेलिकप्टर सजिलै अवतरण गर्न सक्ने नेपाली सेना बताउँछ। नवनिर्मित हेलिप्याडबाट पुलहाश्रमको भ्रमण तथा दर्शन गर्न आउने पर्यटकहरुलाई समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Leave a Reply