म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा माटो परिक्षण शिविर संचालन सुरु भएको छ । वडाभित्रको माटोको अवस्थामा सुधार ल्याई कृषि उपजको उत्पादकत्वमा वृद्धि गर्नमा सघाउने उदेश्यले आयोजित शिविरको पहिलो दिन आइतबार ३७९ नमुना परीक्षण गरिएको वडा अध्यक्ष यामबहादुर कार्कीले जानकारी दिए ।

सोमबार पनि निःशुल्क माटो परिक्षण संचालन गरिने वडा अध्यक्ष कार्कीको भनाई छ । ‘जुनसकै ठाउँमा कृषि व्यवसाय थाल्नु अगाडि त्यस ठाउँको माटोमा बिरुवाका लागि आवश्यक पोषकतत्वको मात्रा थाहा पाउन जरुरी रहेछ,’ अध्यक्ष कार्कीले भने ।

माटो परिक्षणले आफ्नो जग्गाको अवस्था र बाली अनुसार प्रयोग गर्नु पर्ने विभिन्न पोषक तथा सुक्ष्म तत्वको बारेमा थाहा पाइने प्रयोग गरि उत्पादनमा सहयोग पुग्ने भएकोले माटो परीक्षण शिविरको सदुपयोग गर्न समेत वडा अध्यक्ष कार्कीले अनुरोध गरे । माटोमा रहेको उर्बराशक्तीलाई थप बिग्रन नदिनका लागि सुधारका काम गर्न पनि परीक्षण उपयोगी हुने प्राविधिक टोलीले जनाएको छ ।

माटो परीक्षण पश्चात किसानलाई माटोको रिर्पोट दिने र जग्गाको अवस्था बारेमा जानकारी, परार्मश सहित माटो सुधारको लागि गर्न सकिने प्रविधिको बारेमा जानकारी दिने वडा कार्यालयले जनाएको छ ।

कृषि क्षेत्रमा सक्रिय रहेका किसानलाई माटो सुहाउँदो उत्पादनका बारेमा आवश्यक जानकारी नहुदाँ सम्भावना र उत्पादन अधिक हुने क्षेत्रमा समेत निर्वाहमुखी कृषि खेती भइरहेकाले माटो अनुसारको उत्पादनका लागि अनुदान सहितका प्रोत्साहनका कार्यक्रम हरु समेत गरिने बेनी नगरपालिकाले जनाएको छ ।

Leave a Reply