म्याग्दीको सदरमुकाम बेनीमा आज (शुक्रवार) शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । बेनी नगरपालिकाको आयोजनामा नेपालीहरुको महान् पर्व विजयादशमी, शुभ–दिपावली, नेपाल सम्वत्, छठपर्व र ल्होसारको अवसर पारेर सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य, दिर्घायुको कामनासहित शुभकामना आदानप्रदान गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै संविधान सभा सदस्य गोविन्द पौडेलले देश नयाँ युगमा प्रवेश गरेको हुँदा अब समाजवादी आन्दोलन गर्नुपर्ने बताउनुभयो । उहाँले युगको परिवर्तन गर्ने आन्दोलनको क्रममा भावनात्मक रुपमा एकता कायम गरेर विकेन्द्रीत मनोविज्ञानलाई केन्द्रीत गरेर अगाडि बढ्नुपर्ने बताउँदै आन्दोलनबाट प्राप्त उपलब्धि र परिवर्तनको संस्थागत रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।

सोही कार्यक्रममा अर्का संविधान सभा सदस्य रेशमबहादुर बानियाँले नेपाली चाडपर्वको शुभकामना व्यक्त गर्दै नगरपालिका क्षेत्रको समग्र विकास निर्माण गर्नका लागि सरोकारवाला निकाय सबैसँग समीक्षा र समन्वय गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । गण्डकी प्रदेश सभा सदस्य हरि भण्डारीले शुभकामनासँगै जिल्लामा हुने विकास निर्माणमा आवश्यक समन्वय र सहकार्य गर्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा, बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछाने, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल र गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा म्याग्दीका अध्यक्ष दिपक पौडेलले चाडपर्वको शुभकामना दिँदै हुने खानेभन्दा पनि हुँदा खानेहरुको पक्षमा काम गर्नुपर्ने बताउनुभएको थियो ।

बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले नगरको वार्षिक नीति, कार्यक्रम र बजेट तर्जुमा गर्ने क्रममा पूर्व जनप्रतिनिधि र सरोकारवाला निकाय सबैसँग आवश्यक समन्वय गरेर काम गरिएको बताउनुभयो ।

कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधिहरु, कर्मचारी, पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम नगर प्रमुख केसीको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलको स्वागत र प्रशासकीय अधिकृत युवराज थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply