‘गर्वका साथ सेवा, सम्मानका साथ सुरक्षा’ भन्ने नारासहित ६८औं प्रहरी दिवस म्याग्दीमा पनि मनाइएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीको आयोजनामा एक समारोहबीच विविध कार्यक्रमसहित ६८औं प्रहरी दिवस मनाइएको हो ।

दिवसको अवसर पारेर जिल्ला प्रहरी कार्यालय म्याग्दीले आयोजना गरेको विभिन्न खेलकुद प्रतियोगिताका विजेता र उपविजेतालाई नगद तथा प्रमाणपत्रले पुरस्कृत गरिएको थियो ।

व्याडमिन्टन प्रतियोगितातर्फ शरण कुँबर र खड्गबहादुर घर्ती प्रथम, दिवान शाही र हरि थापा द्वितीय हुनुभएको छ । यसैगरी टेबलटेनिसतर्फ अन्जन आले र धिरज गुरुङ प्रथम तथा खड्गबहादुर घर्ती र समिर क्षत्री द्वितीय हुनुभएको थियो ।

त्यस्तै घैँटो फुटाउने प्रतियोगिता ममता भट्टराईले जित्नुभएको छ । रस्साकस्सी अर्थात् लठो तान्ने प्रतियोगितामा होमबहादुर नेपाली, बसन्त रानामगर, दिपक खड्का, राजिन कार्की र हरिबहादुर बोहोरा प्रथम भई पुरस्कार जित्नुभएको छ ।

प्रहरी दिवसको अवसर पारेर आयोजित निबन्धलेखन प्रतियोगितामा सहभागी विद्यालयहरुमध्ये न्यू वेष्ट पोइन्ट आवासीय मावि बेनीका अनुषा रोका प्रथम, बेनी सामुदायिक मावि बेनीका सजिना शर्मा द्वितीय र जामुनाखर्क मावि अर्थुङ्गेका प्रशान्त रिजाल तृतीय भई क्रमशः दुईहजार, १५ सय र एकहजार रुपैयाँसहित प्रमाणपत्र पाएका छन् ।

नगद पुरस्कार पाउने प्रहरीहरुमा मिनबहादुर थापा, राजेशप्रसाद शाह, राजन राना, विजयकुमार पौडेल, अम्मरबहादुर क्षत्री, जगत आचार्य, जमुना कुँबर र अमृत अधिकारी रहनुभएको छ ।

उहाँहरुलाई कार्यक्रमका प्रमुख अतिथि म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, कोष तथा लेखा नियन्त्रक कार्यालय प्रमुख रामभक्त रानाभाट, बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेल लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

सोही कार्यक्रमको अवसरमा जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट सम्पादित गतिविधि तथा कार्यक्रमहरुको फोटो प्रदर्शनी समेत गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रजिअ पौडेलले प्रहरीको मुख्य प्राथमिकता समाजमा शान्तिसुरक्षा तथा अमनचयन कायम गराउने, अपराध नियन्त्रण गर्ने रहेको बताउनुभयो ।

उहाँले प्रहरी एक्लैले मात्र केही गर्न नसक्ने भएकाले आम नागरिक र समुदायबाट पनि सहयोग गर्नुपर्ने बताउँदै दिवसको अवसरमा आगामी दिनमा अझ उत्प्रेरित भएर काम गर्ने प्रतिबद्धतासहित सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल र नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले आम नागरिकहरुले राज्यको उपस्थिति बलियो र सुरक्षाको प्रत्याभूति हुने गरी प्रहरीले आफ्नो कर्तव्य निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply