म्याग्दीमा पाँच बर्षपछि आयोजना गरिएको नापतौल दर्ता र नवीकरणमा साढे २ सयभन्दा बढी ब्यवसायी लाभान्वित भएका छन् । म्याग्दी उद्योग वाणिज्य संघको समन्वयमा नापतौल तथा गुणस्तर विभागको पोखरास्थित कार्यालयले सदरमुकाम बेनी र गलेश्वर बजारमा आयोजित नाप तौल परीक्षण शिविरमा नयाँ २२ जना र पूराना २ सय ५० ब्यवसायीले नविकरण गरिएको हो । शिविर आइतबारदेखि मंगलबारसम्म सञ्चालन गरिएको थियो ।

शिविरमा मिटर, लिटर र ढक तराजुजस्ता यन्त्र मापदण्डअनुसार भए÷नभएको चेकजाँच गर्दै कम तौल भएका यन्त्र मिलाउने, दर्ता र नवीकरण नभएकाको नवीकरण गर्ने र यसअघि नै प्रयोगमा ल्याइए पनि दर्ता नभएका यन्त्र नयाँ दर्ता गरिएको म्याग्दी उद्योग वाणिज्य संघ म्याग्दीका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो ।

‘हरेक दुई बर्षमा शिविर बस्नुपर्नेमा कोरोनाका कारण रोकिएको थियो, शिविरमा ल्याइएका अधिकास यन्त्रहरु ठिक अवस्थामा देखियो’ अध्यक्ष श्रेष्ठले भन्नुभयो।  नेपाल सरकारको नियमाअनुसार नापतौलका यन्त्र प्रयोग गर्ने सबै व्यवसायीले अनिवार्य रुपमा नापतौलका यन्त्रहरु चेक गर्नुपर्ने भएकाले आगामी दिनमा नियमित हुने संघका महासचिव नारायण जिसीले बताउनुभयो ।

शिविरमा गुणस्तर तथा नापतौल कार्यालय पोखराबाट आउनुभएका युवराज अधिकारी सहितको टोलीले सेवाग्राही र ब्यवसायीको इमान्दारिताका लागि समेत नापतौल दर्ता र नवीकरण कार्य समयमै गर्नुपर्ने बताउनुभएको थियो । म्याग्दी उद्योग वाणिज्य संघले अनुगमन तथा यन्त्र उपकरणहरुका बारेमा ब्यवसायीलाई कुनै समस्या भएमा वा बिग्रिएमा समेत अन्य समयमा समेत सहजीकरण गर्ने गरेको छ।

 

Leave a Reply