अहिले लोकप्रिय सामाजिक सञ्जाल टिकटक विभिन्न सूचना र मनोरञ्जन दिने माध्यम बनेको छ। तर, कहिलेकाहीँ यसबाट आउने मिथ्या सूचनाले कतिपय ठगिने गरेका छन् भने आम सर्वसाधारणमा भ्रम पनि फैलाइरहेको छ।

यस्तै भ्रमजालमा रामेछापका एक ३० वर्षे युवा परेका छन्। एकदिन उनले फेला पारेको एक मिनेटको ‘अष्ट्रेलिया पुर्‍याउने’ भिडियोले हेरेपछि क्रमशः त्यसले उनलाई घर न घाटको बनाएको छ।

अष्ट्रेलिया पुर्‍याउने भन्दै टिकटक प्रोफाइका भित्ताभरि अपलोड गरिएका थु्रपै भिडियो हेरेपछि उनको चासो पनि त्यतातर्फ बढेको थियो। भिडियो हेरिसकेपछि उनलाई पनि अष्ट्रेलिया जाने रहर पलायो।

‘अब जोसुकै अष्ट्रेलिया पुग्न सकिन्छ। अष्ट्रेलिया जाने सोच बनाउनु भएको छ भने यो मोबाइल नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ,’ उक्त भिडियोमा भनिएको थियो। भिडियो हेरेपछि आफू अष्ट्रेलिया पुग्ने सपना पनि देख्दै गए।

पारिवारिक सम्बन्धमा बाँधिएका ती युवक गाउँमा खेती किसानीमा व्यस्त थिए। खेती किसानीबाट उनको सानो परिवारमा खुसी छाएको थियो। बेरोजगारसँगै देशको आर्थिक अवस्था कमजोर भए पनि उनीलाई बिदेसिन वाध्यता थिएन। तर, त्यो टिकटकमा आएको भिडियोले उनलाई बिदेसिने रहर जगायो।

‘अष्ट्रेलिया पुर्‍याउने टिकटक भिडियोको स्टेटसमा रहेको मोबाइल नम्बरमा फोन गरें,’ उनले भने, ‘कुराकानी गर्दा सामाजिक सञ्जालमार्फत अष्ट्रेलिया पुर्‍याउने खबरले खुसी पनि भएँ। २० लाखमा नै अष्ट्रेलिया पुर्‍याउने सूचना पाएँ। विस्तारै एजेन्टसँग कुरा हुँदै गयो।’

उनी अगाडी बढे, ‘परिवारसँग कुराकानी गरी अष्ट्रेलियाको लािग एजेन्टमार्फत ‘आजात भिसामा’ दुबई पुगियो। एजेन्टले भनेकै समयमा मोटो रकम बुझाउँदै थिएँ। एउटै कोठामा तिन महिनासम्म बन्धक भए। एक न एक दिन अष्ट्रेलिया पुग्ने सपनाले मलाई धैर्य दिँदै थियो।’

दुबईमा बन्धक उनको धैर्यले काम गरेन। अष्ट्रेलिया पुग्ने सपना उनको चक्नाचुर भयो। उनको राहदानी र साथमा भएको मोबाइल फोन एजेन्टले खोसिदिएको थियो।

‘काम हुँदैछ चिन्ता गर्नु पर्दैन। पैसाको बन्दोबस्त नेपालमा गर्दै गर्नु। अष्ट्रेलिया पुगिन्छ,’ दुबईमा बन्द कोठमा एजेन्ट कहिलेकाहीँ आउने गरेको क्षणलाई युवकले स्मरण गर्दै भने। स्वदेशमा परिवारसँगै हासीखुसी रहेका युवकले अष्ट्रेलिया पुग्ने सपनाले २० लाख एकाएक सकेका थिए। उनको त्यो बन्द कोठामा उज्यालोको किरण कहिले आएन। युवकको हातमा राहदानी फिर्ता गर्दै २० लाख रकम लिएर ती एजेन्ट सम्र्पकविहीन भए।

‘आज आउला छैन, भोलि छैन। एजेन्ट आउने आशामा धेरै दिन भित्यो तर, एजेन्ट आएन। दुबइमा रहेको नेपाली राहदानीसम्म पुगेर नेपलाबाट पैसा झिकाएर स्वदेश फर्किए,’ युवकले भने।

टिकटकमा आएको मिथ्या भिडियोले आज उनलाई घर न घाट बनाएको छ। ‘दिनभरि खेतबारीमा काम गरेर साँझमा परिवारसँग रमाउँदै टिकटक हेर्ने गरेको थिएँ। त्यो टिकटक भिडियोले आफू लगायत घरपरिवारलाई सडकमा ल्यायो। आज परिवारको विचल्ली भएको छ,’ उनीले भावुक हुँदै भने। हाल मानव बेचबिखन अनुसन्धान ब्युरोमा उनले उजुरी गरेका छन्।

सामाजिक सञ्जालमार्फत वैदेशिक रोजगारीमा उनी जस्तै सयौं नेपाली आज ठगिनु परेको छ। बैदेसिक रोजगारीमा ठगी गर्ने उद्देश्यसहितको माध्यम सामाजिक सञ्जाललाई पनि बनाएको देखिन्छ।

सामाजिक सञ्जालमार्फत अत्याधिक मात्रामा वैदेशिक रोजगारीका लागि नेपालीहरू ठगिने क्रम बढ्दो रहेको ब्युरोका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर बिष्टले बताए।

उनका अनुसार सामाजिक सञ्जालबाट विभिन्न प्रलोभन देखाई जोकोहीलाई पनि सहजै रूपले ठग्न सकिने धन्दा बढेको एक एजेन्ट तथा म्यानपावरले बनाएका छन्। अहिलेको समयमा सहरदेखि दुरदराजमा रहेका प्रत्येक नेपालीसँग हाते मोबाई हुने गरेको छ। त्यसैले धेरै व्यक्ति आफ्नै हातैमा भएको मोबाईमार्फत ठगीने गरेका छन्।

सामाजिक सञ्जालमार्फत विदेशको प्रलोभन देखाएर विभिन्न देशमा पुर्‍याई नेपालीहरूलाई बन्दक बनाउँनु मानव बेचबिखनको एक स्वरूप हो। ‘वैदेशिक रोजगारीलाई सुरक्षित बनाउँन उच्चतहका निति निमार्ण गर्ने व्यक्तिहरू अति नै सम्वेदनसिल हुनुपर्छ,’ उनले भने, ‘स्थानिय निकायहरूमा सरकारले तोकेको मापदण्ड मिलाएर बिदेसिनु पर्ने व्यापक जनचेतना फैलाउनुपर्छ।’

सामाजिक सञ्जाल टिकटकमार्फत अष्ट्रेलिया पुर्‍याउने भनेर मानव बेचबिखनमा नयाँ प्रवृत्तिमा उजुरी आएको ब्यूरोले जानकारी दिएको छ। हालसम्म मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी दुई सय ६५ वटा उजुरी परेको उक्त तथ्यांक ब्युरोको मात्र छ। Nagariknews.com

Leave a Reply