मोनाको अगुवाईमा निर्मित बेनी–लभ्लीहिल पदमार्गको प्रचार–प्रसारका लागिखुला मिनी म्याराथुन प्रतियोगिता हुने भएको छ। म्याग्दी प्रवासी नेपाली संघ(मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिले पाँचौ महाधिवेशनको अवसरमा पदमार्गमार्फत बेनी र लभ्लीहिलको पर्यटन प्रर्वधनका लागि आगामी असोज २६ गते विहान लभ्लीहिल मिनी म्याराथुन प्रतियोगिता गर्ने भएको हो ।

बेनी नगरपालिका-२,ज्यामरुककोटस्थित खबरामा रहेको लभ्लीहिल भ्रमण गर्न सदरमुकाम बेनीबजारदेखि पर्यटकीय क्षेत्र लभ्लीहिल पुग्न पक्की पदमार्ग निर्माणको मुख्य लगानीकर्ता समेत रहेको मोनाले बेनीको हाँडेभिरदेखि लभ्लीहिल हुदै खबराबाट बेनीसम्मको मिनी म्याराथुन प्रतियोगिता तय गरिसकेको मोना आइसीका उपाध्यक्ष एवम् प्रतियोगिताका जंगबहादुर पुनले बताए ।

‘म्याराथुनमा प्रयोग गरिने रुटको मर्मतका लागि समेत सम्बन्धित निकायलाई अनुरोध गरेका छौ,‘रुटमा आवश्यक स्वास्थ्यकर्मी सहितको स्वंयमसेवक राख्ने स्थानहरू समेत मार्किङ गरिने छ’ संयोजक पुनले भने ।

उनका अनुसार पदमार्गस्थलमा रहेका बिश्रामस्थलमा स्वास्थ्यकर्मी, स्वयंमसेवक सहित प्रतियोगीहरूले प्रयोग गर्ने रुटमा आवश्यकता अनुसार स्वयंमसेवक परिचालन गरिने बताए । त्यस्तै म्याराथुन अवधिभर मोवाइल टोलीको रुपमा स्वास्थ्यकर्मी र अन्य जनशक्ती समेत राखिने छ ।

‘लभ्लीहिललाई फन्को लगाउँदै बेनीमा आएर सकिन्छ, प्रतियोगि सबै म्याग्दीको नागरिक हुनुपर्छ’ मोनाको खेलकुद मुल संयोजक समेत रहेका पुनले भने । उनका अनुसार सहभागीले म्याग्दीमा जन्मिएको परिचयपत्र सहित नाम दर्ता गर्नुपर्ने बताए ।

बेनी नगरपालिकाको कार्यालय, म्याग्दी प्रवासी नेपाली संघ (मोना) र म्याग्दी उद्योग वाणिज्य संघको साझेदारीमा निर्माण भएको पदमार्गबाट लभ्लीहिलमा पुगेर लभ्लीहिल–बाङ्गेरा सडकखण्ड हुदै पदमार्गको प्रवेशद्धारामा आएर टुंगिने छ ।

प्रतियोगितामा १८ बर्षदेखि ४५ बर्ष उमेरकाले सहभागि हुन पाउनेछन् । प्रथम हुनेलाई नगद २० हजार, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ ।द्धितीयलाई नगद १५ हजार, तृतीय हुनेलाई १० हजार रुपैयाँ साथ मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

पदमार्ग ५१८ मिटर लम्बाई र १.८ मिटर चौडाइको दायाँबाया दुवैतर्फ रेलिङ जडान गरिएपनि केहीस्थानमा भत्किएकाले मर्मतसम्भार नभए प्रतियोगी दुर्घटनामा पर्न जोखिम रहेको छ ।

मोनाको महाधिवेशन मुल आयोजक समितिका संयोजक ददिवल खड्काले २६ को उद्घाटनलाई म्याग्दी जिल्लाको पहिचान चिनाउने गरी बेनीबजार परिक्रममा गरिने बताए । २६, २७ र २८ गते सम्म हुने महाधिवेशनमा विश्वभर रहेका करिब ५ सयभन्दा धेरै प्रतिनिधिहरु आउने भएका छन् । मोनाले अहिलेसम्म २८ देशमा राष्ट्रिय कार्यकारी समितिको शाखा विस्तार गरिसकेको छ ।

Leave a Reply