२०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा खस्केको छ । गत वर्षको तुलनामा माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई)को परीक्षामा माथिल्लो ग्रेड ल्याउने विद्यार्थीको संख्या घट्दो र तल्लो ग्रेड (स्तरीकृत अंक) ल्याउने विद्यार्थीको संख्या घट्दो क्रममा रहेको पाएको हो ।

मोवाइल र सामाजिक सञ्जालको लतले पठन संस्कृतिको ह्रास

कोरानाकालमा आन्तरिक मुल्याङ्कनबाट सार्वजनिक गरिएको बाहेक चारबर्षे नतिजा विश्लेषणमा जिपिए प्राप्त गर्ने विद्यार्थीको संख्या प्रत्येक बर्ष घट्दो क्रममा रहेको देखिन्छ । शिक्षा विकास तथा समन्वय इकाइले माध्यमिक शिक्षा परिक्षा २०७९ को म्याग्दी जिल्लाको तजिजाको तुलनात्मक अध्ययन गरी सार्वजनिक गरिएको प्रतिवेदनमा शैक्षिक सत्र २०७४ मा कुल परीक्षामा सहभागी भएका विद्यार्थीहरू मध्ये २.१० प्रतिशत विद्यार्थीले ३.६–४.० जिपिए प्राप्त गरेकोमा शैक्षिक सत्र २०७९ मा १.११ प्रतिशत विद्यार्थीहरूले मात्रै उक्त जिपिए प्राप्त गरेको अवस्था छ ।

२०७४ सालमा परीक्षा बोर्डले एसइई सञ्चालन गरेको परीक्षाको नतिजा र २०७९ सालमा बोर्डले सञ्चालन गरेको परीक्षाको नतिजा तुलनात्मक रूपमा अध्ययन गर्दा समग्रमा विद्यार्थीको सिकाइ स्तर खस्केको प्रस्ट भएको छ । चारबर्षको नतिजा विश्लेषणमा हरेक बर्ष एसइईमा सहभागी हुने विद्यार्थी संख्या समेत घट्दै गएको देखिन्छ ।

२०७९ सालमा ३ दशमलव २१ देखि ३ दशमलव ६० सम्म ७१ जना उत्तीर्ण भएका छन् । गत वर्ष ९० जना विद्यार्थी यो जिपिए ल्याएको देखिन्छ । जीपीए २ दशमलव ८० देखि ३ दशमलव २० सम्म ल्याउनेमा यसपटक १७३ विद्यार्थी छन् । गत वर्ष ४२३ विद्यार्थी थिए । यस्तै, जीपीए २ दशमलव ४१ देखि २ दशमलव ८ सम्म यस वर्ष ३ सय ८१ विद्यार्थी उत्तीर्ण भएका छन् । गत वर्ष यो श्रेणीमा ५८१ उत्तीर्ण भएका थिए ।

जीपीए २ दशमलव १ देखि २ दशमलव ४० सम्म प्राप्त गर्ने यस वर्ष ५७९ विद्यार्थी छन् । गत वर्ष ६५२ जना विद्यार्थी थिए । जीपीए ० दशमलव ७ देखि १ दशमलव २ सम्मको नतिजामा समेत गतबर्षको भन्दा यसबर्षको कमजोर छ ।

इकाईका प्रमुख दलबहादुर थापाले म्याग्दीको नतिजाको ब्यापक समिक्षा आवश्यक रहेको बताए । ‘उच्च ग्रेडमा विद्यार्थी घट्दै गएको र कम ग्रेडमा उत्तीर्ण विद्यार्थी बढ्दै गएको देखिएको छ, सामुदायिक विद्यालयले केही सुधार गरेपनि सम्रग जिल्लाको नतिजा कमजोर देखिएको छ‘ प्रमुख थापाले भने।

उनले नतिजाको समिक्षा र भावी योजना बनाउन ढिलाइ गर्न नहुने बताए । गणित, अंग्रेजी र विज्ञान जस्ता विषयमा शिक्षकको अभावले समेत विद्यार्थीको नतिजा कमजोर भएको उनले बताए ।

शिक्षक सेवा आयोगबाट सिफारिस भई आएका नयाँ शिक्षकहरूलाई विद्यालयमा टिकाउने वातावरण विद्यालय व्यवस्थापन समितिले निर्माण गर्न नसक्ने र नियमित अनुगमन, सुपरिवेक्षण र शिक्षक पेशागत सहयोगमा समेत कमी हुदाँ नतिजामा असर गरेको उनले बताए । यसबर्ष सामुदायिक तथा संस्थागत विद्यालयमा कमजोर सिकाइ स्तर भएका विद्यार्थीको संख्या तुलनात्मक रूपमा बढ्दै गएको देखिएको छ ।

‘२०७६ र २०७७ सालमा विद्यालयको आन्तरिका मूल्यांकनलाई बोर्डले प्रमाणीकरण गरी एसइई नतिजा प्रकाशन गरेको र आधारभुत तहका विद्यार्थी सामाजिक सञ्जालको लत, पढाईप्रतिको रुची कम लगायतका कारणले समेत नतिजा खस्किएको उनले बताए ।

मंगला गाउँपालिका–१ कुहुँस्थित दिपशिखा माविका प्रधानाध्यापक डा. नन्दबहादुर खत्रीले विद्यार्थीको पठन संस्कृतिमा कमी आउनु, बालबालिकाको सिकाइ प्रभावकारी नभएको, मोवाईल र सामाजिक सञ्जालको सहज पहुँच, अभिभावकको निगरानी कम, कमजोर विद्यार्थीलाई अतिरिक्त कक्षामा बेवास्ता लगायत विभिन्न कारण नतिजा कमजोर आउने गरेको बताए।

‘पाठ्यक्रममा विद्यार्थीको चासो कम छ, विद्युतीय उपकरणले ध्यान तानेको छ, घरमाअध्ययन पूरा हुदैन विद्यार्थीले प्रशस्त अभ्यास गर्न चासो दिदैनन्’ डा. खत्रीले भने । जिल्लाको औसत स्तरीकृत अंक गत बर्षको तुलनामा घट्नुको प्रमुख कारण नै विद्यार्थीको पढाईप्रतिको चासो कम भएको बताए ।

गत बर्ष २ दशमलब ३१ रहेकोमा यस बर्ष २ दशमलब २५ मात्रै रहेको छ । कोभिड–१९ का कारण भौतिक माध्यमबाट पढाइ हुन नसक्दा र विद्यार्थीले पर्याप्त तयारी गर्न नपाउनुमात्रै नतिजा कमजोर रहेको विश्लेषण गर्न नमिल्ने डा. खत्रीको दावी छ। अहिले नियमित पठनपाठनले मात्रै नतिजामा सुधारको सम्भावना नरहेकाले विद्यार्थीलाई अतिरिक्त गतिविधिबाट अलग तथा विषयगत शिक्षहरुको नियमित निगरानी सहित अभिभावको समेत निरन्तर चासो भएमा नतिजामा सुधार आउने बताए ।

म्याग्दीमा अंग्रेजी, गणित र विज्ञान विषयमा शिक्षकको अभावले समेत नतिजा सुधारमा अवरोध गरेको विद्यालयका प्रधानाध्यापकहरूको तर्क छ । विद्यार्थीले कक्षाकोठामा नियमित उपस्थित हुने अवस्थामा जटिल विषयमा शिक्षकको अभावले शिक्षक शिक्षिकासँग भौतिक रूपमा नै परामर्श गर्न नपाएकाले अंग्रेजी, गणित र विज्ञान विषयमा नतिजा कमजोर देखिएको छ । म्याग्दीमा यसबर्ष एसईइईमा सहभागि एक हजार ९०७ जना विद्यार्थी सहभागी थिए ।

म्याग्दीको औषत जिपिए यस्तो छ
राष्ट्रिय परीक्षा बोर्डले विहिबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा २०७९ ( एसइई ) को नतिजामा औसत जिपिएको आधारमा म्याग्दीमा लिटल गार्डेन एकेडेमि र गलेश्वर आदर्श आवासिय मावि संस्थागतर्फ अगाडी देखिएका छन् । विद्यालयबाट परिक्षामा सहभागी भएर उर्तिण भएका विद्यार्थीहरुको औसत जिपिएका आधारमा लिटल गार्डेन र गलेश्वर आदर्शले समग्रमा ३ दशमलब २१ जिपिए ल्याएर प्रथम भएका हुन् ।

त्यसैगरि सामुदायिक तर्फ बेनी सामुदायिक मावि प्रथम र ज्ञानोदय मावि दोस्रो हुन सफल भएका छन् । औसत नतिजामा बेनी सामुदायिकले २ दशमलब ८६ जिपिए र ज्ञानोदय माविले २ दशमलब ७७ जिपिए ल्याउन सफल भएका छन् । त्यस्तै निजी तर्फ बेनी आवासीय मावि र न्यू वेष्ट प्वाइन्ट आवासीय मावि ३ दशमलब ३ प्राप्त गदैं दोस्रो भएका छन् । यस बर्षको एसइई नतिजामा बेनी स्थित प्रकाश माविका समिर सुवेदीले ४ जिपिए ल्याएर जिल्लामा सर्वोत्कृष्ट जिपिए ल्याउने विद्यार्थी घोषित भएका थिए ।

औषत जिपिए ल्याउने १९ सामुदायिक विद्यालय
सामुदायिक विद्यालयहरुका विद्यार्थीहरुको शिक्षण सिकाई र पालिकाबाट उपयुक्त प्रोत्साहन शिक्षण क्रियाकलाप साथै तालिम कार्यान्वयन जस्ता महत्वपूर्ण कार्यमा ध्यान नदिदाँ म्याग्दी जिल्लाको अवस्था पनि गणित र विज्ञान जस्ता विषयहरुमा न्यून उपलब्धी भएको पाइन्छ ।

म्याग्दी जिल्लाको औसत जि.पि.ए. २.२५ रहेकोमा सो औसत अंक भन्दा माथि जिपिए ल्याउने सामुदायिक विद्यालयहरु तर्फ १९ वटा विद्यालयहरु मात्र सक्षम देखिए भने अर्कातर्फ अब्बल जिपिए. सहित ६ जना विद्यार्थीहरु ३.६५ देखि ४ जिपिए ल्याउने बेनी सामुदायिक मा.वि. बेनीको २.८६ जिपिए जिल्लाकै उत्कृष्ट र अब्बल देखिन्छ ।त्यसै गरी जिल्लाको औसत जिपिए प्राप्त गर्ने माविहरुमा ज्ञानोदय मावि. मौवाफाँट, आदर्श मा.वि. रिम, मुक्तिमार्ग मावि. घार, कालिका मावि. तिप्ल्याङ, दिपशिख मा.वि. कुहु, जामुनाखर्क मावि. अर्थुङ्गे, जडभरत शालिग्राम मावि. गलेश्वर, महेन्द्र मावि. झिँ, ज्ञानप्रकाश मावि. दाना, जयन्ती मावि. भकिम्ली, सरस्वती मावि. तातोपानी, जनता मावि. दग्नाम, अमर मावि. पाखापानी, दिपक मावि. पात्लेखेत, हेम मावि. शिबाङ, शिख मावि. शिख, सर्वोदय मावि., भुरुङतातोपानी, मुक्तिधाम मावि. राखु र कैलाश मावि. दोवा रहेका छन् ।

समग्र जिल्लाको नतिजालाई विश्लेषण गर्ने हो भने अझैपनि सामुदायिक विद्यालयहरुको गुणस्तरमा सुधार ल्याउन पालिका स्तरबाट ठोस कदमहरु अगाडी बढाई न्यूनतम बजेतहरुको व्यवस्थापन गरी गुणस्तरमा टेवा दिने अभियान सञ्चालन गर्नुपर्ने तत्कारो आवश्यक देखिन्छ ।

बेनी सामुदायिक माविले यसपटक पनि औषत जिपिएमा पहिलो भएकाले पुरस्कारलाई निरन्तरता दिने भएको छ । यसबर्ष समेत गतबर्षको नतिजा अनुसार बेनी सामुदायिकले नगद ५ लाख प्रोत्साहन प्राप्त गरेको थियो । म्याग्दीमा राम्रो व्यवस्थापन भएका केही सामुदायिक विद्यालयको नतिजा भने निजीको भन्दा पनि अब्बल देखिएको छ ।

Leave a Reply