म्याग्दीको मंगला गाउँपालिका-१ पूर्णगाउँस्थित राष्ट्रिय जनजागृति माविमा माध्यामिक तहको गणित शिक्षक रिक्त भएको तीन महिना भयो । प्रधानध्यापक टेक राम्जालीले आफ्नो सामाजिक सञ्जालमा गणित विषयका शिक्षकको खोजीमा १० औं पटकसम्म विज्ञापन गर्दा समेत शिक्षक नपाएको गुनासो गरे । सामाजिक सञ्जाल र पत्रिकामा गरी ९ पटकसम्म विज्ञापन गर्दा समेत शिक्षक नपाएपछि प्रअ राम्जालीले अब विज्ञापनको बाटो बन्द गर्ने घोषणा गरे ।

विगत दुई शैक्षिक सत्रमा विज्ञान, अंग्रेजी र गणित विषयका शिक्षकको अभावको नमिठो अनुभब झेलेका प्रअ राम्जालीले विषयगत शिक्षक पाउनु फलामको चिउरा चपाएजस्तै भएको बताए । ‘विषयगत शिक्षकको अभाव हुँदा पठनपाठनमा समस्या भएको छ, एसइईको नतिजामा समेत झड्का लागेको छ’प्रअ राम्जालीले भने ।उनले विषयगत शिक्षकको अभावले आधारभुतदेखि मावितहसम्मविद्यार्थीको सिकाइ उपलब्धिसमेत कमजोर बन्दै गएको बताए ।

यसबर्षको एसइईमा विद्यालयबाट सहभागी भएका विद्यार्थी १ दशमलव ५५ देखि २ दशमलव ८० जिपिए लिएर उत्तीर्ण भएका छन् । सम्रग जिल्लाभरको औसत जिपिएमा ७४ विद्यालयमा ३७ औं र पालिकास्तरमा दोस्रो भएको विद्यालयले भौतिक पूर्वाधारमा फड्को मारेपनि विषयगत शिक्षकको अभावले शैक्षिक योजना अनुसारको प्रगति प्राप्त गर्न सकेको छैन्।

म्याग्दीको बेनी नगरपालिका सहित ५ वटै गाउँपालिकामा गणित, अंग्रेजी तथा विज्ञान विषयका शिक्षकको अभावले शैक्षिक गतिविधि अस्तब्यस्त भएको छ । बेनी नगरपालिकाको शहरी क्षेत्रका विद्यालयमा समेत विषयगत शिक्षकको अभाव देखिएको छ भने ग्रामिण क्षेत्रका विद्यालयले शिक्षक पाउनै मुस्किल छ ।

‘सबै पालिकाभित्रका सामुदायिक विद्यालयमा यो समस्या छ,‘नयाँ शैक्षिक जनशक्ती तयार नहुने र पूरानाले मात्रै ठेग्न सक्ने अवस्था छैन’ शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापाले भने। उनले यसपटकको एसइई परीक्षामा प्रगति राम्रो नहुनुको पछाडिको मुख्य कारण भनेको विषयगत शिक्षक अभाव नै रहेको बताए । पछिल्लो पाँचबर्ष यता एसइई नतिजा खस्किदै गएको छ ।

एउटै विद्यालयले १० पटकसम्म शिक्षकको खोजीमा सूचना निकाल्नुपर्ने अवस्था देखिएको भन्दै स्थानीय तहले विषयगत शिक्षकको संख्या बढाउने कार्यक्रमहरू प्रोत्साहन गर्नुपर्ने बताए ।

‘अगामी बर्ष नतिजामा सुधार ल्याउन विषयगत शिक्षकको अभाव हटाउनुपर्छ, विषयगत नतिजा विश्लेषणमा मुख्य विषयमै विद्यार्थीको अवस्था नाजुक छ’ प्रमुख थापाले भने । सामुदायिक विद्यालयका विद्यार्थीको शिक्षण सिकाइ र गुणस्तर अभिवृद्धिमा स्थानीय सरकारले पर्याप्त ध्यान नदिँदा नतिजा कमजोर देखिएको छ ।

शिक्षा आयोगबाट सिफारिस भएका शिक्षकले समेत ग्रामिण क्षेत्रमा विद्यार्थीको संख्या कम हुने भएको भन्दै पहुँच देखाएर सहर केन्द्रित गर्ने कार्यमा सथानीय पालिकाहरू नै सहयोगी बन्दा झनै समस्या देखिएको प्रअहरूको गुनासो छ । केहीबर्ष अगाडी म्याग्दी बहुमुखी क्याम्पसले विषयगत शिक्षकको अभावलाई समाधान गर्न नियमित गरेको विभिन्न कार्यक्रमहरुलाई म्याग्दीका स्थानीय तहले नै बेवास्था गरेका थिए ।

म्याग्दी बहुमुखी क्याम्पसलाई स्थानीय तहले प्रोत्साहन गर्न सकेमा अभाव पूरा गर्न सकिने सहायक क्याम्पस प्रमुख श्रीधर सुबेदीले बताए । उनले जिल्लामा आवश्यक पर्ने शैक्षिक जनशक्ती तयार गर्न सकिने भएपनि सम्बन्धित निकायबाट आवश्यक सहयोग नहुदाँ विगतका कार्यशाला गोष्ठी सहितका गतिविधिहरू नतिजामुखी नभएको बताए ।

Leave a Reply