म्याग्दीको बेनी नगरपालिका-३,भकिम्ली भुकभुकेकी प्रेममायाँ पुनले उत्पादन गरेको आलु घरमै थन्किएको छ। खेतबारीबाट आलु भित्राउने चटारोमा रहेकी प्रेममायाँ जस्तै पूर्णमायाँ जिसी, सरिता केसीले समेत बजार पु¥याउन सकेकी छैनन् । स्वादिलो आलु उत्पादन हुने क्षेत्रको रूपमा प्रख्यात  भुकभुके,ठोट्नेरी,मुसुङका किसानले उत्पादन गरेको अर्गानिक आलुले सहज बजार नपाउँदा समस्या भएको वडा सदस्य रत्न जिसीले बताए ।

‘अधिकांश किसानले उत्पादन गरेको आलु घरमै थन्किएको छ,‘केही कमाउने आशाले उत्पादन गरिएको आलुले बजार नपाएपछि कृषक निकै चिन्तित छन्’ वडा सदस्य जिसीले भने ।उनले बजार अभावलेले अहिले भुकभुके तथा आसपासका क्षेत्रका किसानकोयो सिजनमै उत्पादन भएको करिब ४ क्वीन्टल आलु घरमै रहेको बताए ।

समुन्द्रिसतहदेखि करिब २२ सय मिटर उचाईमा आलु खेती गरिरहेका स्थानीयले सडक सञ्जालको सहज पहुँच भएको अवस्थामा उत्पादित आलुले बजार पाउन नसकेपछि बजार ब्यवस्थापनका लागि सरोकारवाला निकायलाई समेत अनुरोध गरेका छन् ।

‘महिलालाई घरखर्च चलाउन सहज हुन्छ भनेर आलु खेती गर्ने धेरै छन्,‘स्वादिलो भएपनि ग्राहकसम्म पु¥याउन समस्या भइरहेको छ’ अगुवा कृषक पूर्णमायाँ जिसीले भनिन् । उनले अधिकांस किसानले अन्य अन्नबाली छोडेर व्यावसायिक आलुखेती गरिरहेका छन्। बेनी नगरपालिकाले आलु पकेट क्षेत्र घोषणा गरी बिउ तथा अन्य प्राविधिक सहयोग गरेपनि आलु बोकेर बिक्रीका लागि सदरमुकाम आउने अधिकांश किसानले उचित मुल्य पाउन सकेका छैनन् । भकिम्लीमा रातो, सेतो, निलो र गुलाफी आलुको उत्पादन हुने गरेको छ ।

सदरमुकाम बेनीबाट करिब १ घण्टामा सवारीसाधनमा पुगिने भकिम्लीमा उत्पादन हुने आलु विषादीरहित छ। यहाँको आलु नियमित प्रयोग गर्ने उपभोक्ताले आलु स्वादिलो र छिटो पाक्ने बताउँछन् । बेनी नगरपालिकामा सबैभन्दा धेरै आलु उत्पादन हुने क्षेत्रको रुपमा भकिम्ली पर्छ । म्याग्दीको बेनी नगरपालिका सहित ६ वटै स्थानीय तहमा आलुको उत्पादन हुन्छ ।

Leave a Reply