दुई दशकको लामो खाडीमुलुक बहराइनको बसाई बिट मारेर नेपाल फर्किएका म्याग्दीको मंगला गाउँपालिका–१, कुहुँका रनबहादुर खत्री पशुपालनको स्याहारसुसार, तरकारी र फलफुल खेतीको गोडमेलमा व्यस्त छन् । उमेरले ५० बर्ष नाघेपछि बैदेशिक रोजगारीबाट २०७२ सालमा फर्किएका खत्री ५९ आंैं वसन्तमा प्रवेश गरेपनि विहानैदेखि राती अबेरसम्म व्यावसायिक पशुपालन र कृषि खेतीमा कम्मर कसेर लागेका छन् ।

बैदेशिक रोजगारीलाई बुढेशकालले छोएको महसुस गरी घर फर्किएका खत्री अहिले गाउँका नमुना कृषक हुन् । व्यावसायिक बाख्रापालन, फलफुल र तरकारी खेतीमा उनको सक्रियता देखेर गाउँले नै दंग छन् ।

उन्नतजातका २६ बाख्रा, घरभन्दा तल मजुवा भन्ने ठाउँमा ६ रोपनी जमिनमा ३ सयभन्दा बढी सुन्तला खेती, २ रोपनीमा केराखेती, किबी,, मौरीपालन, एभोगाडो हाइटेक प्रविधिको टनेलभित्र तरकारी खेती गरेका खत्रीले उत्पादनदेखि बजारीकरणसम्म खटिन्छन् ।विदेशमा रहँदा उनले तीनवर्ष श्रमिक भएर काम गरे भने बाँकी १७ वर्षसम्म सवारीचालकको रुपमा काम गरेका थिए ।

कृषक खत्रीले झारजङ्गलले भरिएको, उत्तिस पलाएको, खेतीपाती गर्ने जमिन बाँझो देख्न नसकेपछि कृषि खेती सुरु गरेको बताए ।‘विदेशको अनुभवले होईन्, आफ्नो जमिनको मायाँ लागेर कृषि र पशुपालनमा सक्रिए भए,‘अहिले घरको आगनदेखि खेतबारीसम्म मैले गरेको मेहनतको फल देखिदैछ’ खत्रीले भने ।खाली जग्गामा घाँसखेती गरेर व्यावसायिक बाख्रापालन गरेको उनले बताए।‘

मैले जिल्लाभित्रका नमुना कृषकले गरेको बाख्रापालन समेत हेर्न गए,‘इन्टरनेटबाट समेत खोजेर अध्ययन गरे’ खत्रीले भने ।बुढेशकालमा आराम गर्नुभन्दै सुझाव दिनेहरू अहिले कृषि र बाखा्र फार्मको अवलोकन गर्न आउने गरेको खत्रीको भनाई छ ।पाँचलाख रुपैयाँ लगानी गरेका खत्रीले अहिले सिजनमा ८ लाखभन्दा बढी आम्दानी गर्ने गरेको बताए । कृषक खत्रीको खोरमा स्थानीय खरी जातका बाख्रा र बोयर जातको बोका रहेका छन् ।

उनले खेतीपातीका लागि बाख्राको मल (जुतो) पनि बेच्छन्। उनले धान फल्ने खेतमा सुन्तला रोपेका छन् । ‘बुढेशकालको मेहनत मिठो लागेको छ‘ खत्रीले भने । उनले आफ्नो जमिन बाहेक ५ रोपनीभन्दा बढी जग्गा भाडामा लिएर समेत विभिन्न जातका घाँस र डालेघाँस लगाएका छन् । कृषक खत्रीले बजारमा माग हुने थरीथरीका कृषिजन्य बस्तुलाई प्राथमिकता दिएकाले बिक्री गर्न बजारको समस्या नभएको बताए ।उत्पादित बाख्रा, फलफुल तथा तरकारी खेती घरबाटै बिक्री हुँदै आइरहेको छ ।

उनले लगाएको फलफुल खेतीले राम्रो उत्पादन दिन सके र अझै मौसम अनुकुल भएमा सबै व्यवसायबाट वर्षमा कुल १५÷१६ लाख रुपैयाँ आम्दानी गर्ने योजना रहेको सुनाए । विदेशमा ड्राईभर काम गरेर स्वदेश फर्किएपछि कसरी कृषि पेशामा लाग्ने मन आयो भन्ने प्रश्नमा उनले भने ‘आफ्नो बाबुबाजेले गरेको परम्परागत कृषि खेतीलाई केही परिवर्तन गरेर आधुनिक बनाउन खोजेको हुँ ।’ ‘देशको परिवर्तन गर्नका लागि कृषि खेतीलाई प्रोत्साहन गर्नुपर्ने र विदेशिने युवालाई स्वदेशमै रोक्नुपर्छ’ उनले भने ।

पशुपालन र तरकारी खेती व्यवसायलाई थप व्यावसायिक बनाउन मंगला गाउँपालिका,कृषि ज्ञान केन्द्र, डिभिजन बन कार्यालय लगायतका सरकारी निकायबाट अनुदान तथा प्रविधि सहयोगले सहज भएको बताए। व्यावसायिक कृषि र पशुपालन गरेका कृषकलाई आवश्यक प्रविधि, औजार र सिप तथा बजारीकरणको ग्यारेन्टी भए कृषि र पशुपालनमा आर्कषित गर्न सकिने खत्रीको भनाई छ ।

यता मंगला गाउँपालिकाका प्रबक्ता एवम् कुहुँका वडा अध्यक्ष एकजित रोकाले समाज परिवर्तन गर्नका लागि पहिला आफै परिवर्तन हुनुपर्छ भन्ने सन्देश खत्रीले दिएको बताए । ‘उहाँ समाजको एक सफल उदाहरण हो, बुढेशकालमा कृषि र पशुपालनमा लोभलाग्दो प्रगतीको सिको गर्न आवश्यक छ’ वडा अध्यक्ष रोकाले भने ।

उनले परम्परागत खेती प्रणालीलाई परिवर्तन गरी आधुनिक बनाउन खोजेका कृषकलाई वडा तथा गाउँपालिकाबाट समेत अनुदान सहितको सहयोग गर्ने गरेको बताए । ब्यवसायिक किसानलाई सहज हुने गरी सिचाई, अनुदान सहितका प्रोत्साहनका कार्यले समेत थप सहज भएको वडा अध्यक्ष रोकाको भनाई छ ।

Leave a Reply