बेनी नगरपालिका–५ की एक२५ वर्षीया युवती बलात्कृत भएकी छन् । ३ जना युवाहरुले सुतिरहेकै बेला उनीमाथि बलात्कार गरेका हुन् । पीडितले न्यायको लागि प्रहरी गुहारेकी छन् तर हालसम्म अपराधी पक्राउ परेका छैनन् । अपराधी पक्राउ नपर्दा बलात्कारजस्तो जघन्य अपराधलाई ढाकछोप गर्ने वा प्रलोभनमा पारेर मिलाउने प्रपञ्च भइरहेको आशंका गरिएको छ । यद्यपि,प्रहरीले बलात्कारी कुनै पनि हालतमा उम्कन नसक्ने बताएको छ ।

नेपाली समाजमा पछिल्लो समयमा बलात्कारका घटनाहरु बढ्दा छन् । ९ महिनाकी शिशुदेखि उमेरले डाँडो काटेकाहरुमाथि पनि बलात्कार भएका छन् । प्रहरीका अनुसार १० देखि १६ वर्ष उमेर समूहका बालिकाहरुमाथि सबैभन्दा बढी बलात्कार र यौन उत्पीडतनका घटनाहरु घटित हुने गरेका छन् । बलात्कार र यौन उत्पीडनका घटनामा बढोत्तरी भएपनि सामाजिक बहिष्करणको डरले धेरैजसो यस्ता घटना बाहिर आएकै छैनन् ।

नेपालको सामाजिक परिवेशका कारण बलात्कारी खुलेआम हिँड्दा बलात्कृतले लज्जित हुनुपर्ने र सामाजिक अपमानको भारी बोक्नुपर्ने अवस्था छ । बलात्कारको घटनामा पीडित सदैव खतरामा रहने,सामाजिक प्रतिष्ठा गुम्ने र पारिवारिक जीवन नै बिखण्डन हुने सम्भावना अधिक हुँदा सबै घटनाहरु बाहिर आउन सकेका छ्रैनन् ।

बलात्कार जघन्य अपराध हो ।यस्तो अपराधमा संलग्नलाई कानूनी दायरामा नआउँदा र अपराधीले उन्मुक्ति पाउँदा आपराधिक मनोवृत्तिका व्यक्तिहरुमा आत्मवल बढ्न पुग्छ ।नेपालको कानूनले १८ वर्षभन्दा कम उमेरका बालिकामाथि मञ्जुरीमै यौन सम्पर्क गरिए पनि बलात्कार मानेको छ भने बलात्कारको घटना ६ महिनासम्म दर्ता गर्नसक्ने व्यवस्था गरिएको छ ।

नेपालको देवानी तथा फौजदारी संहिताले बलात्कारपछिको हत्यामा जन्मकैद, कसुर हेरेर २५ वर्षसम्मको कैद एवं पतिले पत्नीलाई करणी गरेमा पनि ५ वर्षसम्मको कैदको व्यवस्था गरेको छ । कानूनले जेजस्तो व्यवस्था गरेपनि बलात्कारका घटनामा कमी आएको छैन ।

बलात्कारका घटना रोक्नको लागि कारवाहीको दायरा बढाउनुका साथै जनचेतनान अभिवृद्धि गर्नुपर्ने देखिएको छ । बलात्कृतहरुलाई सामाजिक अपमान नगर्ने र बलात्कारीलाई सामाजिक बहिष्कार गर्ने हो भने यस्ता घटनामा कमी ल्याउन सकिन्छ । अर्कोतर्फ, अहिले घटित बलात्कारका घटनामा यौनमात्रै जोडिएको छैन ।यौन सन्तुष्टिकै लागि बलात्कार गरिएको तर्क मान्ने हो भने त्यसमा उमेर कारक हुनुपर्ने हो तर त्यस्तो देखिँदैन ।

आपराधिक मानशिकता भएका तथा कुण्ठाले भरिएका व्यक्तिहरु मौका पाउनासाथ अपराधमा उत्रनु पनि बलात्कारको कारक हो । धेरैजसो बलात्कारका घटनामा आफन्तहरुकै संलग्नता रहेको पाइएको छ । अतः बलात्कारका घटना रोक्नको लागि पछिल्लो समय पारिवारिक सम्बन्धमा आएको परिवर्तनको पनि अध्ययन हुनुपर्छ । कानूनी र सामाजिक बन्देजहरु पालना गर्नेतर्फ जोड दिनुपर्छ । मुख्य कुरा, अपराधीले यो वा त्यो बहानामा उन्मुक्ति पाउने परिपाटीमा सुधार गरिनुपर्छ । गण्डकी प्रदेशको सर्वाधिक लोकप्रिय पत्रिका ढोरपाटन दैनिकको सोमबारको सम्पादकीय

Leave a Reply