बेनी नगरपालिका–९,घतानका ७६ कर्षिय समबहादुर खत्रीको दुवै आँखा एकदशक अगाडी बन्द भयो । दुबै आँखा बन्द भएपनि अपाङ् भाईलाई ओछ्यानमै दिशापिसाव गराउनेदेखि खुवाउने पियाउनेसम्म सबै काम गर्छन्।

श्रीमतिले दोस्रो विवाह गरेपछि भाईसँगै गोठमा बस्दै आएका खत्रीले हातको साहराबाट सबै काम गनुपर्ने बाध्यता छ । दृष्टि बन्द भएपछि छिमेकीलाई समेत देख्न नपाएका खत्रीले राम्रोसँग कान पनि सुन्दैनन्।

सामाजिक क्षेत्रमा क्रियाशील संस्था लायन्स क्लवहरूको संयुक्त आयोजनामा मोतियाविन्दुको निःशुल्क शिविरमा शल्यक्रियापछि खत्रीले अहिले दुवै आँखाले देख्न सक्छन् । छिमेकी क्षेत्रबहादुर चोखालको सहयोगमा शिविरमा आएका खत्रीले आँखा देखेपछि चोखाललाई समात्दै फुरूङ्ग भए । खत्रीजस्तै रघुगंगा गाउँपालिका–२, भगवतीकी ७९ बर्षिया पातली परियारको दुबै आँखा बन्द हुदाँ उनले निकै कष्टपूर्ण तरिकाले जीवन विताइरहेकी थिईन् ।

एकल महिला परियारको आँखा बन्द भएपछि उठ्ने देखी सुत्ने बेला, खाना खाने देखी शौचालयसम्म पुग्न अग्लो पहाडमा यात्रा गरेजस्तै हुन्थ्यो। छिमेकी कल्पना परियारको सहयोगमा आँखा शिविरमा आएकी परियारसँग खाना र बाटो खर्च समेत थिएन्।

होटलमा बस्ने खर्च समेत नभएकी परियारलाई परोपकारी संस्था ओमकुमारी शान्ति कोषले आर्थिक सहयोग गरेपछि यातायात खर्च र खाना खर्चको ब्यवस्थापन भएको थियो।

आँखामा पत्ती लगाएको अवस्थामा निराश देखिएका बृद्धबृद्धाहरू पत्ती खोल्दा वित्तिकै आफन्तलाई समातेर मुसुक्क हाँस्दै चिकित्सक सहित स्वास्थ्यकर्मीलाई धन्यवाद दिएका थिए ।

पाँचबर्ष अगाडी छोरालाई एउटा मृगौला दान दिएकी मंगला गाउँपालिका–१ कुहुँकी ७२ बर्ष गोरी रोकाको देब्रे आँखा बन्द भएको करिब एकदशक पछि शल्क्रक्रिया गरिन् ।मृगौला प्रत्यारोपण गरेका छोरा डकबहादुरले दुबै आँखाको शल्यक्रियाको ब्यवस्था मिलाएको उनले बताईन् ।

लायन्स क्लबहरुको आयोजनामा १२ स्थानमा लायन्स क्लब तथा नेत्रज्योती संघ म्याग्दीले शिविर सञ्चालन गरी १ सय १२ जना मोतियाविन्दुका बिरामीको पहिचान गरेका थिए भने २ हजार २२ जनाले आँखा चेकजाँचको सुविधा लिएका थिए ।

मोतियाविन्दुका बिरामीको हिमालय आँखा अस्पताल घारीपाटन पोखराका आँखा रोग विशेषज्ञ डाक्टर कृष्णा गुरुङ,डा. सुवास नेपालको नेतृत्वमा ८ जनाको टोलीले शल्यक्रिया गरेको शिविरका मूल संयोजक लोकेश पुन मगरले बताए।

विपन्नता र जनचेतनाको अभावका कारण दशक अगाडी बन्द भएको आँखाको समेत उपचार गर्न नपाएर बन्चित भएको अवस्थामा लायन्सले दुर्गम क्षेत्रमा समेत शिविर सञ्चालन गर्न आवश्यक रहेको नेपाल नेत्रज्योती संघ म्याग्दीका अध्यक्ष अमर बानियाँले बताए ।

शिविरमा नेपाल नेत्रज्योती संघ बेनी म्याग्दी, बेनी अस्पताल र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीले समेत शिविरलाई प्राविधिक सहयोग उपलब्ध गराएका थिए ।

आँखा शिविरको आयोजकहरुमा लायन्स क्लब अफ बेनी म्याग्दी, म्याग्दी दोभान, बेनी सिटी, बेनी मल्लाज, म्याग्दी दरबाङ, बेनी पिस सिटी, बेनी महारानी, म्याग्दी मंगला, अन्नपूर्ण म्याग्दी, बेनी लभ्लीहिल र लियो क्लब अफ बेनी म्याग्दी रहेका छन् ।

Leave a Reply