मित्रता भनेको त्यसो मिठो सम्बन्ध हो, त्यसैले भनिएको होला साथी एउटा अनमोल उपहार हो । अझै दुख र सुखंंमा साथ दिने साथीको सम्झना बुढेशकालमा पनि हुन्छ ।

म्याग्दीको सदरमुकाम बेनीमा आयोजित आँखा शिविरमा यस्तै एउटा दृश्य देखियो । पश्चिम म्याग्दीबाट आएका दुई बृद्धले अघिल्लो दिनसम्म सँगै लाइनमा बसेर सेवा लिदा समेत चिन्न नसकेको अवस्थामा रहेपनि सोमबार भने ९ बर्षपछि एक्कासी भेट भएपछि निकै खुसी देखिए । मालिका गापा–७, बिम नौरूङका ७१ बर्षिय ओमप्रसाद दर्जी र धवलागिरी गापा–६ मराङका ७९ बर्षिया नरबहादुर क्षेत्री मिल्ने साथी हुन् ।

किशोर अवस्था देखि दर्जी र क्षेत्री बीच चिनचान भएको थियो । दर्जीको मामाघर मराङमा नियमित जाँदा क्षेत्रीसँग भेट् हुन्थ्यो । किशोर, यूवामा नियमित भेटघाट हुने गरेपनि उमेले डाँडो काट्न थालेपछि भेटघाट पातलियो । गएको असार महिनामा पहिरोले विस्थापित भएका दर्जीको खवर सुनेर दुखी भएका खत्रीले भेट्न आउन सम्भव थिएन् ।

बुढ्यौली शरीर, दुबै आँखा नदेख्ने समस्याले भेट्ने चाहना अधुरै थियो।लायन्स क्लवको आयोजनामा गाउँपालिकामा सञ्चालित निःशुल्क शिविरमा दुबैजनामा मोतियाविन्दुको समस्या देखिएपछि थप उपचारका लागि बेनी आएका दर्जी र खत्री शल्यक्रिया अगाडी आसपासमै भएपनि एकले अर्कोलाई चिन्न सकेका थिएनन् ।

उपचारपछि दर्जीले खत्रीलाई पहिचान गरे । कोरोना भाइरसको जोखिमले मास्क लगाएका खत्री सुरूमा अलमलमा परे।  बिमको ओमे भन्दा वित्तिकै नरबहादुरले आफ्नो पुराना दिन सम्झिए। उनीहरू बिच भइरहेको कुराकानी आसपासमा बसेकाले समेत ध्यानपूर्वक सुनिरहेका थिए ।

‘हामी ९ बर्षपछि भेट भयो, आँखा खुलेपछि चिन्न सजिलो भयो’ बृद्ध दर्जीले भने । निकै उत्साहित हुदैं कुराकानी गरेका बृद्धद्धय दर्जी र क्षेत्रीले नजिकै रहेका आयोजकलाई समेत आफ्नो पुरानो सम्बन्धका बारेमा जानकारी गराएका थिए ।

‘आँखा शिविरले संसार देख्ने अवसरसँगै पूरानो साथीलाई पनि भेट्ने अवसर मिलाइदियो’ दर्जीले भने । दृष्टि बन्द भएपछि आफन्त छिमेकीलाई समेत देख्न नपाएका क्षेत्रीले पुरानो साथीलाई भेट्न पाउँदा पुराना दिनको सम्झना आएको बताए ।

सामाजिक क्षेत्रमा क्रियाशील संस्था लायन्स क्लवहरूको संयुक्त आयोजनामा  १२ स्थानमा लायन्स क्लब तथा नेत्रज्योती संघ म्याग्दीले शिविर सञ्चालन गरी १ सय १२ जना मोतियाविन्दुका बिरामीको पहिचान गरेका थिए भने २ हजार २२ जनाले आँखा चेकजाँचको सुविधा लिएका थिए ।

मोतियाविन्दुका बिरामीको हिमालय आँखा अस्पताल घारीपाटन पोखराका आँखा रोग विशेषज्ञ डाक्टर कृष्णा गुरुङ,डा. सुवास नेपालको नेतृत्वमा ८ जनाको टोलीले शल्यक्रिया गरेको शिविरका मूल संयोजक लोकेश पुन मगरले बताए।

Leave a Reply