विजेताको नाम घोषण हुँदा अक्कमकिइन् उनी, मानौ उनलाई विश्वास नै लागेन । जब उद्घोषकले तेस्रोपटक देवी मगरको नाम लिए, तब अर्धबेहोसीमा उनी स्टेजमा पुगिन् । आइतबार साँझ राजधानीमा सम्पन्न ‘मिस नेशनल आइकन–२०१९’को उपाधि हासिल गरेपछि म्याग्दीकी २२ वर्षीया देवी खुसीले यति धेरै फुरुंग भइन्, त्यसको ब्याख्या गर्नै सक्दिनन् उनी । शीर्ष उपाधिसहित २६ लाख पर्ने ‘ड्याटसन कार’ प्राप्त गरेकी देवीले भनिन्, ‘अहिले पनि विश्वास लागिरहेको छैन ।

साँच्चीकै कार जितेकी हुँ ?’ मोडलिङ र अभिनयमा समेत रुचि राख्दै आएकी देवी ब्याचुलर तेस्रो वर्षमा अध्ययनरत छिन् । ब्राइट इन्टरटेनमेन्टले आयोजना गरेको ‘मिस नेशनल आइकन’को यस दोस्रो संस्करणमा फस्ट रनरअप र सेकेण्ड रनरअप क्रमशः मञ्जना राई र समृद्धि कार्की भए । उनीहरुले पनि टिभिएस स्कुटी र नगद ५० हजार पाए । थर्ड रनरअप भएकी मुना राईले २० हजार नगद प्राप्त गरिन् । प्रस्तुत छ ‘मिस नेशनल आइकन’को शीर्ष विजेता देवी मगरसँग एमपी सुब्बाको जम्काभेट :

‘मिस नेशनल आइकन’को शीर्ष उपाधिसहित कार जित्नुभएको छ । कस्तो लागिरहेको छ ?

एकदमै खुसी लागिरहेको छ । मलाई अहिले पनि विश्वास लागिरहेको छैन । विस्तारै विश्वास लाग्ला ।

के कारणले विश्वास लागिरहेको छैन ?

शीर्ष उपाधि अनि कार पुरस्कार वाह । उपाधि जित्छुजस्तो समेत मलाई लागेको थिएन । त्यसैले उद्घोषकले मेरो नाम लिँदा समेत अलमलिएकी थिएँ । म अर्धहोसमा स्टेज पुगेकी थिएँ ।

प्रतियोगितामा जित्छु भनेरै सहभागी भएको हुन्छ नि, होइन र ?

होला, तर मैले जित्नैका लागि प्रतियोगितामा भाग लिएकी होइन । केही कुरा सिक्न पाइन्छ, अनुभव बटुल्ने अवसर प्राप्त हुन्छ भनेर ‘मिस नेशनल आइकन’मा पार्टिसिपेन्ट भएकी हुँ ।

तपाइँमा जित्छु भन्ने आत्मविश्वास थिएन ?

आत्मविश्वास थियो । तर, सबै प्रतियोगी ट्यालेन्ट थिए । त्यसैले मैले नै जित्छु भन्ने लागेको थिएन । अनि पत्रपत्रिकामा न्युज पढेको थिएँ, यस्ता प्रतियोगिताहरुको फेयर हुँदैन । तर, सुनेको र पढेको भन्दा फरक रहेछ । मलाई त एमदमै फेयर लाग्यो ।

कार आफैँ चलाउनुहन्छ कि अरुलाई दिनुहुन्छ ?

म आफैँ चलाउँछु । अहिले लाइसेन्स छैन । अब प्रोसेस गर्छु । यसअघि म सँग कार थिएन, त्यसैले लाइसेन्सको प्रोसेस पनि गरेकी थिएन ।

ड्राइभिङ गर्न आउँछ कि आउँदैन ?

आउँछ । मेरो आफ्नो कार मात्र नभएको हो । बेला–बेला साथीहरुको चलाउने गरेकी छु । अहिलेचाहिँ स्कुटी छ मसँग ।

‘मिस नेशनल आइकन’ उपाधि जितेपछि सेलिब्रेटी भएँजस्तो लागेको छ कि छैन ?

मलाई त लागेको छैन । तर, घरपरिवार र साथीहरुले अब तिमी सेलिब्रेटी भयौ भन्छन् । यसो भन्दा हो जस्तो लाग्छ ।

अबको लक्ष्य र रुचि के हो ?

पहिलो कुरा पढाइ नै हो । त्यसपछि जुन जिम्मेवारी पाएकी छु । त्यसलाई बहन गर्नेछु । महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने मेरो लक्ष्य छ ।

फिल्म र मोडलिङमा इच्छा छ कि छैन ?

छ, राम्रो फिल्मका लागि प्रस्ताव आयो भने अभिनय गर्छु । म्युजिक भिडियोमा पनि काम गर्ने मन छ ।

‘मिस नेशनल आइकन’मा सहभागी भएपछि के सिक्नुभयो ?

धेरै कुरा सिक्ने अवसर पाएँ, जबकि यो प्रतियोगितामा सहभागी हुन अघिसम्म मान्छेहरुको अगाडि बोल्नै सक्दिनथिएँ । मुख्य कुुरा त प्रतियोगिताबाट आत्मविश्वास बढ्यो । अब जुनै ठाउँमा पनि बोल्न सक्ने भएकी छु । Source: drishtinews.com

Leave a Reply