नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलन आगामी असोज महिनाको ४ र ५ गते म्याग्दीको सदरमुकाम बेनीमा हुदैछ । जेसीजमा आवद्ध यूवाहरुको नेतृत्व विकास तथा क्षमता अभिवृद्धी सहित सामाजिक कार्यमा सक्रिय रहेको म्याग्दी जेसीजले सम्मेलनलाई एतिहाँसिक बनाउने तयारी गरेको छ । देशैभरीबाट करिब ६ सय प्रतिनिधि आउने सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ ।

‘नेतृत्व र ब्यक्तित्व बिकासमा केन्द्रित जेसीजले सम्मेलनमा आउनेहरुलाई म्याग्दी जिल्लाको ऐतिहासिक, धार्मिक सम्पदाहरुको प्रचार प्रसार, जिल्लाको पर्यटन प्रवद्र्धनका साथै यहाँको साँस्कृतिक, भेषभुषा आदिको प्रवद्र्धनका लागि सम्मेलनले फाईदा पुग्ने बताइएको छ । सम्मेलनमा सहभागि हुन आउने पाहुनाहरुका लागि बस्ने होटल र घुम्ने स्थानहरुका बारेमा समेत आवश्यक तयारी समेत गरिएको सम्मेलन निर्देशक सुविन श्रेष्ठले बताए । यसै सन्र्दभमा सम्मेलन निर्देशक श्रेष्ठसँग हरिकृष्ण गौतमले गरेको कुराकानी

रजत जयन्तीको अवसरमा म्याग्दी जेसीजेले आयोजना गर्न लागेको ‘ख’ सम्मेलनको तयारी कस्तो छ ?
एउटै परिवार,एउटै समूह र एउटै लक्ष्य भन्ने नेपाल जेसीजको यो बर्षको मुल नारालाई आत्मा साथ गर्दै जिल्लाको मौलिक कला संस्कृती,स्थानीय उत्पादन,धार्मिक एवं पर्यटकीय क्षेत्रलाई यो क्षेत्र “ख” सम्मेलनसंग जोड्दै सम्पूर्ण जेसीज मित्रहरुलाई बन्धुत्वको भावनामा बाध्दै नेपाल जेसीजको क्षेत्र “ख” सम्मेलन उपलब्धिमुलक बनाउने हाम्रो प्रयास रहेको छ।

यो संस्था आज २५ औं बर्षमा आईपुग्दा हामीलाई दोस्रो पटक क्षेत्रीय सम्मेलनको आतिथ्यता गर्ने अवसरमा प्राप्त भयो।संस्था स्थापना कालदेखि जिल्लावासी दाजुभाई दिदी बहिनीहरु,जनप्रतिनिधिहरु,सामाजिक संघ संस्थाहरु,बैक बित्तिय संस्थाहरु,उद्योगी व्यवसायी,शैक्षिक संस्थाहरु,पत्रकार साथीहरु,स्थानीय सरकार सबै–सबैको सहयोगले यो संस्था आजको दिनसम्म आईपुगेको हो।यो सम्मेलनको आतिथ्यता म्याग्दी जेसीजको मात्र नभई समग्र म्याग्दी जिल्ला र म्याग्देलीहरुको रहेको जानकारी गराउदछु।सबैको हौसला,सदभाव र सहयोगमा यो सम्मेलन भव्यताका साथ सम्पन्न गर्ने हाम्रो प्रयास रहेको छ।

नेपाल जेसीजको ‘ख’ सम्मेलन म्याग्दीमै गर्नुको उद्देश्य के कस्ता छन् ?
म्याग्दी जिल्लाको समृद्धि पर्यटनसंग जोडीएको छ।जति आन्तरीक र बाह्य पर्यटकहरु यो जिल्लामा भित्राउन सक्छौ।त्यतिनै म्याग्दीले जनताको जिवन स्तर उकास्न,स्वरोजगार बनाउन साथै आर्थिक उपार्जनमा टेवा पुग्नेछ। सम्मेलनमा सहभागी हुन नेपाल भरीका शाखाहरुबाट आउने सक्रिय जेसीज यूवाहरु मार्फत यो जिल्लाको धार्मिक,ऐतिहासिक,पर्यटकीय,स्थानीय उत्पादनहरुको प्रचार–प्रसारका साथै र भोलीका दिनमा पर्यटन प्रबर्दनमा सहयोग पुग्ने उदेश्यले हामीले यो सम्मेलन म्याग्दीमा गर्ने जमर्को गरेका हौं।

जेसीज व्यक्तित्व र नेतृत्व क्षमताको विकास गर्ने संस्था रहेकोले यो सम्मेलनको माध्यम बाट म्याग्दी जेसीजका सदस्यहरुको क्षमता अभिबृद्धि संगै केन्द्रीय नेतृत्वमा क्षमतावान जेसीज सदस्यलाई पुर्याउनु पनि हाम्रो अर्को उदेश्य हो।म स्मरण गर्न चाहान्छु,सन्–२००७ मा हामीले यस्तै क्षत्रिय सम्मेलन भव्यताका साथ सम्पन्न गरेका थियौ।त्यसको चर्चा आजको दिनसम्म पनि हुने गर्छ। साथै हामी मोफसलमा रहेको म्याग्दी जेसीजले हाम्रा पूर्व अध्यक्ष जेसी धनन्जयकुमार श्रेष्ठलाई राष्ट्रिय अध्यक्षको रुपमा प्राप्त गर्न सक्यौं।म्याग्दी जेसीजका सक्रिय र उर्जाशील साथीहरुलाई केन्द्रिय नेतृत्वको अवसर दिलाउन पनि यो सम्मेलन म्याग्दीमा गर्ने जमर्को गरेका हौं।

म्याग्दीको पर्यटन प्रर्वधनमा सम्मेलनको भूमिका के हुन्छ ?
१८–४० बर्ष सम्मका सक्रिय यूवाहरु सहभागी हुने सम्मेलन मार्फत जिल्लाको पर्यटन प्रर्वदनमा टेवा पुगोस भनेरनै हामीले यो सम्मेलनको आतिथ्यता गरेका हौं।झण्डै ६०० भन्दा बढी जेसीजका प्रतिनिधिहरु यो सम्मेलनमा सहभागी हुन आउदै हुनुहुन्छ । ५ वटा गाँउपालिका र एक नगरपालिका रहेको हाम्रो जिल्लामा प्रत्येक पालिकाको आ–आफ्नै बिशेषताहरु रहेका छन्।

हामीले यही सम्मेलनको अवसर पारी प्रकाशन गरीएको ब्रोसर र “विम्व”स्मारीकामा पनि सबै पालिकाहरुको छोटो परिचय सहित पालिकाको धार्मिक ,ऐतिहासिक र पर्यटकीय क्षेत्रमा पुग्न लाग्ने दुरीको समय उल्लेख गरेका छौं ।सम्मेलनमा भाग लिन आउनु भएका जेसीजका प्रतिनिधि साथीहरुलाई जिल्लाका केही धार्मिक र पर्यटकीय क्षेत्रको अवलोकन गराउने हाम्रो कार्यक्रम रहेको छ।साथै जिल्लाको विविध संभावनाहरुको बिषयमा जिल्लाका बौद्धिक र बिषय बिज्ञहरुको स्मारीकामा राखिएको लेख मार्फत पनि जिल्लाको पहिचान दिने प्रयास गरेका छौं।

दुई दिनसम्म हुने सम्मेलनमा मुख्य के कस्ता कार्यक्रमहरु तय गर्नुभएको छ ?
हामीले यो सम्मेलनलाई म्याग्दीको मौलिक कला संस्कृती,स्थानीय उत्पादन,धार्मिक र पर्यटकीय क्षेत्रसंग जोडेका छौं।हाम्रा पाहुना जेसीज प्रतिनिधिहरु अशोज ३ गते साँझसम्म बेनी आईपुग्नु हुन्छ।अशोज ४ गते बिहान ८.००–९.३० बजे सम्म जेसीज पाहुनाहरुको स्वागत र सम्मानमा बजार परिक्रमा सहित हामीले साँस्कृती विनिमय कार्यक्रम राखेका छौं।यसमा हामीलाई बिभिन्न जातिय,धार्मिक,सामाजिक संघ संस्था र बिद्यालयहरुले सहयोग गर्नु हुनेछ।

बिहान १० देखि १ बजे सम्म सम्मेलनको उदघाटन कार्यक्रम रहने छ,यसमा विविध विधामा योगदान पुर्याएका व्यक्तिहरुलाई सम्मान कार्यक्रम पनि राखिएको छ भने जिल्लाको मौलिकता झल्कने खालको साँस्कृतीक कार्यक्रमहरुको प्रस्तुती पनि रहकोछ।त्यस पश्चात सम्मेलनको महत्वपूर्ण कार्यक्रम एउटै परिवार,एउटै समूह र एउटै लक्ष्य भन्ने नेपाल जेसीजको यो बर्षको नारामा “प्रकरण गोष्ठी” हुनेछ।यसमा राष्ट्रिय स्तरका व्यक्तिहरु वक्ताको रुपमा आउनु हुनेछ।

त्यस पश्चात जेसीज सदस्यहरु बिच बक्तृत्वकला प्रतियोगिता हुनेछ भने सोही दिन तालिम लिन ईच्छुक जेसीज सदस्यहरु,जुनियर जेसीजहरु र म्याग्दी जिल्लाका बिभिन्न संघ संस्था र यूवाहरुलाई नेपाल भाषा मंका खल,ओपिआई चर्च र बेनी नगरपालिकाको हलमा नेपालका ख्यातीप्राप्त प्रशिक्षकहरुबाट प्रशिक्षण दिने कार्यक्रमहरु पनि हुनेछ साथै नेपाल जेसीजको क्षेत्र” ख” सम्मेलनको विविध प्रस्तावहरु सहित साधारण सभाको पनि शुरुवाट हुनेछ।

असोज ५ गते बिहान ६.०० बजे देखि १२.०० बजे सम्म धार्मिक एवं पर्यटकीय क्षेत्रहरुमा अतिथि पाहुनाहरुलाई भ्रमण गराउने।त्यस पश्चात मोना अष्ट्रेलियाको आयोजनामा जिल्ला समन्वय समितिको सभा हलमा हुने “फोटो प्रर्दशनी” को अवलोकन गराउने कार्यक्रम हुनेछ भने त्यस पश्चात साधारण सभा हुदै म्याग्दी घोषणा पत्र जारी गर्दै सम्मेलनको समापन कार्यक्रम तर्फ लाग्नेछ।
सम्मेलनमा आउने अतिथिहरूलाई कसरी ब्यवस्थापन गदैं हुनुहुन्छ ?
यो सम्मेलनलाई सम्पन्न गर्न हामी सम्पूर्ण पूर्व अध्यक्षहरु र जेसीज सदस्यहरुको रहेको २० वटा उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँट गरेका थियौं।सोही अनुसारनै सबै साथीहरु आ–आफ्नो जिम्मेवारीमा लाग्नु भएको छ।
सम्मेलनमा आउनु हुने जेसीज साथीहरुलाई बेनी बजार,गलेश्वर र सिगां तातोपानी कुण्ड र पर्वत बेनी का होटेलहरुमा आवासको व्यवस्थापन गरेका छौं भने अशोज ४ र ५ गते का धेरै जसो कार्यक्रमहरु खुल्ला मंचमा व्यवस्थापन गरेका छौ।साथै खानपानको व्यवस्था पनि खुल्ला मंचमानै गरेका छौं।

हामीले जेसीज पाहुना सदस्यहरुलाई स्थानीय उत्पादन संग जोड्दै अल्लोको किट व्याग,मायोको चिनोको रुपमा संसार भरीका नदीहरु मध्ये एक मात्र कालिगण्डकी नदीमा पाईने पवित्र शालिग्राम,टिम्मुरको छोप म्याग्दीको चिनोको रुपमा दिने व्यवस्था गरेका छौं भने खानाका परिकारमा पनि म्याग्दीमा उत्पादीत स्थानीय परिकारहरुनै पस्कने जमर्को गरेका छौं।साथै ४ गते साँझ जिल्लाका ख्यातीप्राप्त कलाकारको प्रस्तुती र म्याग्दीका कलाकारहरुद्धारा गाईएका मौलिक गितहरुमा साँस्कृती कार्यक्रमहरुबाट मनोरन्जन दिलाउने प्रयास गरेका छौं।

सम्मेलनको खर्च कसरी ब्यवस्थापन गर्नुभएको छ ?
खर्च व्यवस्थापन चुनौतीपूर्ण नै रहेको छ।आर्थिक मन्दिका कारण सोचे जस्तो सहयोग संकलन गर्न सकेका छैनौ।सहभागी प्रतिनिधिको रजिष्ट्रेशन शुल्कले आधा खर्च धान्न पनि गार्हो छ। हामीले सबैसंग सहयोगको हात फिजाईरहेकै छौं।स्थानीय सरकार बेनी नगरपालिकाले हौसला र सहयोग प्रदान गर्नु भएको छ।साथै सम्पूर्ण ५ वटै गाँउपालिकाले हामीलाई सहयोगको प्रतिबद्धता व्यक्त गर्नु भएको छ भने गण्डकी प्रदेश सरकारकामा पनि प्रस्ताव–पत्र पेश गरेका छौं। सहयोग प्राप्त हुनेमा हामी आशावादी छौं। साथै बैक बित्तिय संस्था,उद्योगी व्यवसायी,संघ संस्था,म्याग्दीवासी दाजुभाई दिदी बहिनीहरुबाट पनि सहयोगको अपेक्षा राखेका छौं।सबैबाट धेरै थोरै सहयोग हुनेमा हामी आशावादी छौं।

जेसीजमा लाग्ने किशोरकिशोरीहरूले संस्थामा आवद्ध भएपछि के–कस्ता अवसरहरु पाउँछन् ?
एक व्यक्ति,एक चोटी,एक कार्यकाल एक बर्ष भन्दा बढी समय अध्यक्ष हुन नपाईने अन्तराष्ट्रीय संस्था जेसीजको शाखा म्याग्दी जेसीज पनि हो। बिभिन्न खालका तालिम र समाज गरिने बिभिन्न खालका कार्यक्रमहरु मार्फत व्यक्तित्व र नेतृत्व क्षमताको विकास,व्यवस्थापन प्रक्रिया सिक्न,उत्तरदायी र सक्रिय व्यक्तित्व बन्न,आत्माविश्वास र कार्यक्षमता बढाउनत साथै राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा जेसीज सदस्यहरुसंग बन्धुत्व भावना साटासाट गर्न साथै नेतृत्व गर्ने अवसर प्रदान गर्दछ।

तपाई म्याग्दी जेसीजको पूर्व अध्यक्ष समेत हुनुहुन्छ, सामाजिक क्षेत्रमा म्याग्दी जेसीजको योगदान के कस्ता छ ?
म्याग्दी जेसीजको सन् –१९९९ मा स्थापना संगै संस्थापक सदस्य हुने अवसर मिल्यो।समयक्रमसंगै सन् –२००९ को लागि शाखा अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुने अवसर पनि सबैको सहयोगमा प्राप्त भयो।स्थापना कालदेखि आजको दिनसम्म सबैको सहयोगमा संस्थाले समाजमा सकारात्मक प्रभाव छर्ने गरी कार्यहरु गर्दै आईरहेका छ।तालिम,खेलकुद,साहित्य,गित संगितका साथैम्याग्दी जिल्लाको पर्यटन,धार्मिक र ऐतिहासिक क्षेत्रहरुको प्रचार–प्रसारमा म्याग्दी जेसीजको योगदान रहेको छ।साथै दैवी प्रकोप र महामारीको बेलामा पनि संस्था मार्फत सहयोग संकलन गरी संबन्धित ठाँउमा पुर्याउने गर्दै आईरहेको छ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
धार्मिक,साँस्कृतिक,ऐतिहासिक एवं उच्च पर्यटकीय संभावना बोकेको म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारमा नेपाल जेसीजको क्षेत्र “ख” सम्मेलन दोस्रो पटक आतिथ्यता गर्ने अवसर प्राप्त गरेकोमा गौरबको अनुभूति गर्दै सम्मेलनमा पाल्नु भएका सम्पूर्ण जेसीज मित्रहरुलाई स्वागत गर्न पाउदा हामी हर्षित र उत्साहित भएका छौं।

सन् २००७ मा पहिलो पटक भव्यताका साथ गरिएको ऐतिहासिक क्षेत्र “ख” सम्मेलनलाई सम्झदै,विगतको अनुभवलाई संगाल्दै उत्कृष्ट सम्मेलन बनाउने हाम्रो प्रयास रहिरहेको छ।सम्मेलन गर्नु मात्रै ठूलो कुरा होईन,सम्मेलनले लिएका उदेश्य अनुरुप उपलब्धिमुलक हुनु आवश्यक छ।हामी सबैको सकारात्मक प्रयासले सम्मेलनको उदेश्य प्राप्तीमा हामी सफल हुनेछौं। सम्मेलनलाई सफल बनाउन म्याग्दी जेसीज र नेपाल जेसीजलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्ने हातहरु सबैमा धन्यबाद व्यक्त गर्दछु।

 

 

 

Leave a Reply