म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणधिन अवस्थामा रहेका जलविद्युत आयोजनाले प्रयोग गर्ने सडक मर्मत र स्तरोन्नती नहुदाँ स्थानीयले ज्यान जोखिममा राखेर यात्रा गर्न बाध्य छन् ।

पटक–पटक जलविद्युत आयोजनाको प्रभावित क्षेत्रका बासिन्दाको मागलाई दग्नाम, चिमखोला र कुइँनेमंगलेमा निर्माणधिन अवस्थामा रहेका जलविद्युत आयोजना र गाउँपालिकाले बेवास्ता गर्दा दैनिक सर्वसाधारणले सास्तीपूर्ण यात्रा गर्नुपरेको छ ।

गाउँपालिकाको केन्द्र मौवाफाँट, दग्नाम, दरमिजा, चिमखोला र कुईनेमँगलेको लाइफलाइन मानिने यो सडकको तत्काल स्तरोन्नतिका लागि गाउँपालिका, प्रदेश र संघीय सांसद् जलविद्युत आयोजनाले ध्यान नदिएको भन्दै सडक नै अवरोध गर्दा समेत जलविद्युत आयोजनाले अटेरी गरेको छ ।

गाउँपालिकामा निर्माणाधीन पाँचवटा जलविद्युत आयोजनाले प्रयोग गर्ने पहुँच मार्ग मर्मत र स्तरोन्नतिमा उदासिनता देखाउँदा दुर्घटनाको जोखिम, धूलो र हिलोको समस्या र जोखिमपूर्ण यात्रा गर्नुपरेको ८ का वडासदस्य अगेन्द्र छन्त्यालले बताए । आयोजनाले सडकखण्डमा ग्रडिङ मिलाउने, जोखिमपूर्ण स्थानमा मर्मत लगायतका सहमति अनुसार काम भएको छैन् ।

हिउँदमा धुलो र बर्खायामा सवारीसाधन नचल्ने समस्या रहेको पत्रकार गोपाल छन्त्यालले बताए । मौवाफाँट, दग्नाम, दरमिजा, चिमखोला र कुईनेमँगलेको लाइफलाइन मानिने यो सडकको स्तरोन्नतिका लागि तत्काल गाउँपालिका, प्रदेश र संघीय सांसद्को विशेष पहलको आवश्यकता रहेको छन्त्यालको भनाई छ।

यता गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले विगतमा गरिएको सहमति अनुसार आयोजनाले पिप्ले, मौवाफाँटदेखि कुइनेमंगलेसम्मको प्रतिबद्धता अनुसारको काम गर्ने ताकेता गरिएको छ । उनले हालै भएको सहमति अनुसार काम गर्ने जलविद्युत आयोजनालाई दवाव दिएको समेत बताए ।

विगतमा समेत जलविद्युत आयोजना प्रभावित क्षेत्रका बासिन्दासँग लिखित सहमति गरेपनि कुनैपनि काम नगरेपछि बेलाबेलामा स्थानीयले जलविद्युतका सवारीसाधनहरु अवरोध गर्ने गरेका छन् ।

रहुघाट जलविद्युतले कालिगण्डकीमा रहेको दाहसंस्कारस्थलमै असर गर्ने गरी फोहोर फाल्नेदेखि सडक मर्मत तथा घुलाम्मे सडकबाट स्थानीयलाई परेको सास्तीलाई समाधान गर्न अटेर गर्ने गरेको छ । जलविद्युत आयोजनाले स्थानीयस्तरमा खानेपानीको मुहान, घर नै चर्किने र अन्य आयआर्जनमा पुर्याएको क्षती अधिक भएपनि विकासमा अवरोध नगर्ने स्थानीयलाई पेलेरै जलविद्युत कम्पनी अगाडी बढ्न खोजेको देखिन्छ ।

रघुगंगामा संंसारको सातौ (८,१६७ मिटर) अग्लो धवलागिरी हिमालको फेदीमा मुहान रहेको राहुघाट र सहायक नदीहरूमा १६७.३ मेगावाट क्षमताका ५ वटा जलविद्युत आयोजना निर्माणाधीन छन्। रघुगंगा नदीमा ४० मेगावाट क्षमताको राहुघाट, २२.५ मेगावाट क्षमताको ठूलोखोला, ४८ मेगावाट क्षमताको अपर राहुघाट, ३७.५ मेगावाट क्षमताको मङ्गले राहुघाट र २१.३ मेगावाटको ठूलोखोला जलविद्युत् आयोजना निर्माणाधीन छन्।

मानिस हिँड्न समेत डर लाग्ने अक्करे पहाड ‘अजिङ्गर भिर’ मा करिब पाँचबर्ष पहिल्य गाउँपालिका र तुँदी पावर कम्पनीसंगै प्रदेश र संघिय सरकारको समेत सहकार्यले पहुँचमार्ग खोलिएको थियो । दैनिक रुपमा जिप, बोलेरो, ट्याक्टर, मोटरसाइकल आवत जावत गर्ने यस सडकमा जलविद्यूत आयोजनाका सामानहरु लिएर ठुलाठुला ट्रकहरु हिड्न थालेपछि सागुरो सडक जिर्ण बनेको छ। सडक समयमै स्तरोन्नती भएमा सहज यात्रा र स्थानीय उत्पादनलाई बजार पु¥याउन सहज हुने देखिन्छ ।

Leave a Reply