म्याग्दीको सदरमुकाम बेनीमा कालीगण्डकी नदीको कटान नियन्त्रणका लागि ‘काउन्टर फोर्ट’ प्रविधिको पर्खाल निर्माण भएको छ ।

रुपाताल संरक्षण परियोजनामार्फत बेनी नगरपालिका–७ मा रहेको म्याग्दी जेसिजको भवनबाट वडा नं ८ स्थित म्याग्दी उद्योग वाणिज्य संघको भवन पछाडिसम्म कालीगण्डकी नदी किनारमा नयाँ प्रविधिको पक्की पर्खाल निर्माण भएको हो । सो योजना निर्माणका लागि नौ करोड ५६ लाख रुपैयाँमा विसं २०७८ पुसमा रौताह–बिएनबी जेभीले ठेक्का सम्झौता गरेको थियो ।

कालीगण्डकीको कटानबाट उच्च जोखिम रहेको सो क्षेत्रमा एक सय ४० मिटर लम्बाइ भएको काउन्टर फोर्ट (नयाँ प्रविधिको हेभी पर्खाल) र ३० मिटर ग्राभेटी प्रविधिको पर्खाल निर्माण गर्ने काम सकिएको रौताह–बिएनबी जेभीका प्रतिनिधि राजकुमार श्रेष्ठले बताए । उनका अनुुसार नदी किनारमा १४ मिटर फराकिलो जग ढलान गरी ३२, १६ र १२ एमएमको गोलाइ भएका रडहरू प्रयोग गरी दुई मिटरमाथिबाट ५० सेन्टिमिटर बाक्लो र आठ मिटर अग्लो पक्की पर्खाल निर्माण गरिएको छ । पर्खाल निर्माणका लागि कालीगण्डकी नदीलाई डाइभर्सन गरिएको थियो ।

यो ठेक्कामार्फत यसअघि कालीपुल बसपार्कमा ८० मिटर लामो, आठ मिटर अग्लो ग्राभिटी र मङ्गलाघाटस्थित म्याग्दी नदी किनारमा ४६ मिटर लामो कम्पोजिट प्रविधिको पर्खाल निर्माण भएको थियो । विसं २०८१ वैशाखसम्म ठेक्का सम्झौताको म्याद भए पनि २०८० चैतमै निर्माण सकिएको रौताह–बिएनबीका प्रतिनिधि श्रेष्ठले बताए ।

परियोजनामार्फत करिब रु ४८ करोड लागतमा सञ्चालित सातमध्ये चारवटा योजना सम्पन्न भएका र थप तीनवटा सम्पन्न हुने चरणमा छन् । परियोजनाका प्रमुख कालीबहादुर शाहीले ९० प्रतिशतभन्दा बढी भौतिक प्रगति भएका योजनाको ठेक्का टुङ्ग्याउने प्रक्रिया अघि बढाएको बताए ।

बेनी नगरपालिका–२ भसभसेस्थित म्याग्दी र कालीगण्डकीको दोभानमा ७५ मिटर लम्बाइ भएको कम्पोजिट पर्खाल निर्माण गर्न रु दुई करोड ३० लाखमा ठेक्का लिएको हिमालयन कन्ट्रक्सनले दुई वर्षको काम चार महिनामै सकेको थियो ।

पर्वतको जलजला गाउँपालिका–३ वारीबेनीमा रहेको कालीगण्डकी आमा समूहको भवन पछाडि ८४ मिटर लामो र आठ मिटर अग्लो पर्खाल बनाउन रु तीन करोड ५० लाखमा ठेक्का सम्झौता गरेको डाभा कन्ट्रक्सनले सुरु गरेको चार महिनामै ९० प्रतिशत निर्माण सकेको परियोजनाका इन्जिनियर कृष्ण विश्वकर्माले बताए ।

जलजला गाउँपालिका–२ र ३ नं वडामा पर्ने बगरफाँटस्थित कालीगण्डकी किनारमा ९० मिटर लामो कम्पोजिट पर्खाल निर्माण गर्न तीन करोड २० लाखमा माछापुच्छ्रे निर्माण सेवाले ठेक्का लिएको योजनाको ९५ प्रतिशत भौतिक प्रगति भएको छ ।

जलजला–२ राममन्दिर संरक्षणका लागि कालीगण्डकी नदी किनारमा एक सय ३८ मिटर लामो कम्पोजिट प्रविधिको पर्खाल निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । यो योजना निर्माणका लागि माछापुच्छ्रे निर्माण सेवाले रु चार करोड ३२ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

बेनी नगरपालिका–७ मङ्गलाघाटस्थित म्याग्दी नदी किनारमा दुई सय ६२ मिटर कम्पोजिट पर्खाल बनाउन १२ करोड ३७ लाख रुपैयाँमा ठेक्का लिएको सुप्रिम कन्ट्रक्सनका सञ्चालक सुुरेश खड्काले बर्खाअघि नै निर्माण सकिने बताए ।

बेनी नगरपालिका–९ गलेश्वरस्थित राहुघाट र कालीगण्डकी नदी किनारमा एक सय १० मिटर कम्पोजिट पर्खाल निर्माण गर्न भाग्यलक्ष्मी कन्ट्रक्सनले दुई करोड २५ लाख रुपैयाँमा ठेक्का लिएको थियो। राहुघाट नदी किनारमा पर्खाल निर्माण भइसकेको र कालीगण्डकी किनारमा दुई–तीन दिनमा सकिने निर्माण कम्पनीका प्रतिनिधिले जनाएका छन् ।

सबै योजना निर्धारित समयभित्रै काम सकिएका र सम्पन्न हुने चरणमा रहे पनि भुक्तानी नपाउँदा समस्या भएको निर्माण कम्पनीका सञ्चालकले गुनासो गरेका छन् । चालु आवमा नौ करोड रुपैयाँ विनियोजन भएको बजेट भुक्तानी भइसकेको र थप रु नौ करोड बजेट रकमान्तरणका लागि संघीय अर्थ मन्त्रालयमा कागजात पेस गरेको परियोजनाका प्रमुख शाहीले बताए ।

म्याग्दी र कालीगण्डकी नदीको दोभानमा रहेको बेनीबजारलाई सरकारले नदी कटानका हिसाबले जोखिमयुक्त जिल्ला सदरमुकामको सूचीमा राखेको छ । परियोजनाले बेनी बजार र आसपासका बस्तीमा कटान नियन्त्रणका लागि गत वर्ष एक अर्ब १९ करोड रुपैयाँको विस्तृत परियोजना प्रतिवेदन तयार पारेर स्वीकृत गराएको थियो ।

बेनी नगरपालिका–४ सिङ्गा तातोपानी बजार संरक्षणका लागि परियोजनामार्फत काम गर्न आगामी आवमा बजेट प्रस्ताव गरिएको छ । बेनी नगरपालिकाका प्रमुख सुुरत केसीले परियोजनामार्फत कालीगण्डकी र म्याग्दी नदी किनारमा कटान नियन्त्रणका लागि स्वीकृत डिपिआरअनुसार थप बजेट व्यवस्थापन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, अर्थ मन्त्रालयमा पहल गरिएको बताए ।

Leave a Reply