पश्चिम म्याग्दीको मंगला गाउँपालिका-१, कुहुँमा पारिवारिक मूल्यमान्यता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। फेमिली पिस एशोसियसन नेपाल र मिलन म्याग्दीको संयुक्त आयोजना, मंगला गाउँपालिका तथा वडानम्बर १ कुहुँको समन्वय र व्यवस्थापनमा अभिमुखीकरण गरिएको हो ।

‘समृद्ध, सुखी, शक्तिशाली र शान्तिपूर्ण राष्ट्रको आधार, आदर्श परिवार’ भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिएको थियो । फेमिली पिस एशोसियसन नेपालले समाजमा रहेका बिकृति र विसङ्गतिको विरुद्धमा सेवामूलक, चेतनामूलक, शिक्षामूलक र नेतृत्व विकासका विभिन्न कार्यक्रमहरु नेपालभर सञ्चालन गर्दै आइरहेको संस्थाले जानकारी दिएको छ।

कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका उपप्रमुख डिलकुमारी खत्रीले पछिल्लो समय समुदायस्तरमा पारिवारिक बिखण्डनहरु देखापर्न थालेकाले यसलाई न्यूनीकरण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रहरी, प्रशासन, वडा, पालिकाहरुमा विभिन्न खालका अपराधजन्य गतिविधिहरु दैनिकजसो आउने गरेको बताउँदै सरोकारवाला निकाय सबै मिलेर अपराध र आपराधिक क्रियाकलापहरु घटाउनेतर्फ लाग्नुपर्ने बताउनुभयो । सबैले परिवारलाई सुखी, शान्त र समुन्नत बनाउनुपर्ने उहाँको भनाइ छ ।

मंगला गाउँपालिकाका सामाजिक विकास शाखा प्रमुख एवं सूचना अधिकारी राजेन्द्र आचार्यले समुदायस्तरमा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नको लागि वडा र पालिकाको तर्फबाट आवश्यक नीति, कार्यक्रम र बजेट बनाएर समाधानको पहल गरिने बताउनुभयो । उहाँले चरम गरिबी, अशिक्षा र बेरोजगारीको कारणले गर्दा पारिवारिक मूल्यमान्यतामा समस्या देखिने गरेको भन्दै समुदायमा पारिवारिक मूल्यमान्यता कायम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको थियो ।

कार्यक्रममा फेमिली पिस एशोसियसन नेपालका उपाध्यक्ष ध्रुवप्रसाद लामिछानेले पारिवारिक मूल्यमान्तासम्बन्धी विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँले समाजमा देखिएका बिकृति, विसङ्गतिहरु जस्तैः भ्रष्टाचार, अनाचार, दुराचार, अन्याय, हत्या, हिंसा, पारिवारिक विखण्डन, पारपाचुके, झै–झगडा, कलह, लागूपदार्थ तथा नशा सेवन, गरिबी, भोकमरी, अशिक्षा जस्ता विषयहरुमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

यी र यस्ता जटिल समस्याहरुको समाधान घर परिवार, टोल र छिमेकबाट गर्न सकिने भएको हुँदा सबैले सु–संस्कार भएको भगवान्केन्द्रीत परिवारबाट गर्न सकिने उपाध्यक्ष लामिछानेको भनाइ छ ।

कार्यक्रममा फेमिली पिस एशोसियन नेपालका सदस्य गोमा पराजुली र फिल्ड संयोजक भूपेन्द्र भण्डारीले परिवारको मूल्यमान्यता र महत्वबारे मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम कुहुँका वडा अध्यक्ष एकजित रोकाको अध्यक्षता, मिलन म्याग्दीका अध्यक्ष दिलमाया बिटालुको स्वागत र निवर्तमान सहसचिव प्रताप बानियाँको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply