म्याग्दीमा आठ महिनाको अवधिमा ६ वटा नयाँ सडक पुल निर्माण सकिएको छ। थप एकवटा मोटरेबल पुल निर्माण कार्य अन्तिम चरणमा छ। ग्रामीण बस्ती जोड्ने सडकमा पुल निर्माण भएपछि यातायातका साधन आवतजावत सहज भएको छ। संघीय सरकारमार्फत चार र प्रदेश सरकारमार्फत तीनवटा पुल निर्माण भएका हुन्।

यस वर्ष दुईवटा मोटरेबल पुल निर्माण सुरु गरेको गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले थप दुईवटा पुलको ठेक्का लगाउने तयारी गरेको छ। सहरी विकास मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विकास कार्यालय कास्कीमार्फत अन्नपूर्ण गाउँपालिका ५ र ६ को सिमाना घारखोलामा २५ मिटर लामो मोटर चल्ने पुल निर्माण भएको छ।

पोखरेबगरदेखि नेपाने हुँदै पाउद्वार जोड्ने सडकअन्तर्गत घारखोलामा २५ मिटर लामो मोटरेबल पुल निर्माणका लागि फेवा-बिएम जेभी पोखरासँग विसं २०७६ माघ १७ गते मूल्य अभिवृद्धि करसहित दुई करोड ८१ लाख ७८ हजार ६ सय ४६ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।

सडक विभागको पुल महाशाखाले राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर, बेनी-जोमसोम-कोरला सडकअन्तर्गत रघुगंगा गाउँपालिका १ बेगखोलामा ७० मिटर लामो डबल स्पाम पुल निर्माण गरेको छ। बिओकेआई÷हिमालयन जेभीले भ्याटसहित आठ करोड ३० लाख ६८ लाख चार सय ७३ रुपैयाँमा विसं २०७८ असार २९ गते सम्झौता गरेको यो पुल लक्ष्यभन्दा ६ महिनाअघि नै सम्पन्न भएको छ।

सडक डिभिजन कार्यालय बाग्लुङले बेनी नगरपालिका ४ फापरखेत र मंगला गाउँपालिका ३ बरञ्जाको पखेर जोड्ने एक सय १७ मिटर र मंगला गाउँपालिका २ माटेबगर र वडा नं ५ पोक जोड्ने ८० मिटर लामो दुईवटा मोटरेबल पुल बनाएको छ।

म्याग्दी नदीमाथि बनेका दुईवटै पुल निर्माणका लागि विसं २०७५ पुसमा लुम्बिनी-प्राकृतिक जेभी र सडक डिभिजन कार्यालय बागलुङबीच २२ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। पुल बनेपछि जिल्लाको मुख्य बेनी-दरवाङ सडक हुँदै ठूलो भूगोल र बस्ती भएका बरञ्जा र अर्मन सीधा सडक सञ्जालमा जोडिएका मंगला गाउँपालिकाका ३ का वडाध्यक्ष याम रोकाले बताए।

पूर्वाधार विकास कार्यालयमार्फत मालिका गाउँपालिका वडा नं १ र ६ को सिमानास्थित छ्यारछ्यारेको म्याग्दी नदीमा ४० मिटर लामो स्टिल ट्रस्ट प्रविधिको मोटरेबल पुल निर्माण भएको छ। सो पुल निर्माणका लागि प्रदीप जुम्ली जेभीसँग २०७७ साल साउन ४ गते चार करोड ४५ लाख ८१ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो

मालिका र धवलागिरि गाउँपालिकाको सिमाना अर्गलास्थित मराङ खोलामा २५ मिटर लामो पक्की मोटरेबल पुल निर्माण भएको छ। पुल निर्माणका लागि विसं २०७६ फागुन २९ गते फेवा सावित्री जेभी पोखराले दुई करोड ७२ लाख ९४ हजार पाँच सय ६९ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो।  मालिका गाउँपालिका ७ र धवलागिरि गाउँपालिका ७ भारवाङघाट स्थित म्याग्दी नदीमा ४० मिटर लामो मोटरेबल पुल निर्माण अन्तिम चरणमा छ। पुल निर्माणका लागि २०७६ असारमा देव एन्ड सायर बिएन जेभीले ६ करोड २४ लाख रुपैयाँमा ठेक्का लिएको थियो

मालिका गाउँपालिका वडा नं ३ र ४ को सिमानामा पर्ने अदिभारास्थित रितुङ खोलामा २५ मिटर लामो मोटरेबल पुल निर्माण सुरु भएको छ। असोज अन्तिम साता चार करोड १० लाख ८३ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको बिएम कोन्डा जेभीले पुलको फाउन्डेसन खन्न सुरु गरेको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख विष्णु पौडेलले बताए।

उनका अनुसार मंगला गाउँपालिका ३ र बेनी नगरपालिका ४ को सिमाना अर्चेखोलामा २५ मिटर लामो मोटरेबल पुल बनाउन असोज अन्तिम साता तीन करोड ४१ लाख १६ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको प्रमाण सारस जेभी कार्यस्थलमा परिचालन हुने तयारीमा छ।

धवलागिरि गाउँपालिका २ को दरखोला र मालिका गाउँपालिका ७ शिवरात्रि खोलामा पनि मोटरेबल पुल निर्माणको तयारी भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ। गण्डकी प्रदेशका भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले निर्माणाधीन पुल सम्पन्न गराउने र नयाँ पुल निर्माणसम्बन्धी योजना भित्र्याउन पहल गरिएको बताए। –रासस

Leave a Reply