नेपाली कांग्रेस म्याग्दीले महासमिति सदस्य छनोट गरेको छ । आइतबार पार्टी कार्यालयमा सभापति खमबहादुर गर्बुजाको सभापतित्वमा आयोजित भेलाबाट सर्वसम्मतिले १२ जना महाधिवेशन प्रतिनिधि छनोट गरेको हो ।

महाधिवेशन प्रतिनिधिमा सभापति खमबहादुर गर्बुजा, पूर्व सभापति रेशमबहादुर बानियाँ, सहसभापति नेत्रबहादुर महत, चित्रबहादुर केसी, याम हर्मेलभिम रोका,बलभद्र ढकाल, दिपु श्रेष्ठ, धनबहादुर छन्त्याल, मनकुमारी विक, ओमकुमारी फगामी थापा र देबी बुढा रहेको पार्टी सचिव भरतबहादुर रकालले बताए ।

महासमितिका सदस्यमा आकांक्षीले पार्टीको एकता र सहकार्यलाई थप उचाईमा पुर्याउन सहमतिबाटै टुंगो लगाउन सहमति जनाएका थिए ।

नेपाली कांग्रेसले महासमिति सदस्य छनोट गर्न बाँकी रहेका जिल्लालाई कात्तिक २४ का लागि डेडलाइन दिएको थियो । प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा दुई महिलासहित प्रत्यक्ष ७ जना, महिला, दलित, आदिवासी जनजाति, खस आर्य र पिछडिएका क्षेत्रबाट जनसङ्ख्याको बनोटको आधारमा छनौट गरिएको नेपाली कांग्रेस म्याग्दीले जनाएको छ ।

कांग्रेसको विधानमा महाधिवेशन भएको वर्षमा बाहेक प्रत्येक वर्ष महासमिति बैठक बोलाउनुपर्ने व्यवस्था छ । महासमितिमा समसामयिक राजनीतिक विषयमा विचार निर्माण गर्नुको साथै विधान र नियमावलीका विषयमा छलफल हुने कांग्रेसमा अभ्यास छ ।

Leave a Reply