गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले म्याग्दी जिल्लामा सञ्चालन गरिने विकास आयोजनाको प्राथमिकता निर्धारण गर्न प्रस्ताव गर्नुभएको छ ।

बेनी नगरपालिकाको कार्यालयमा जनप्रतिनिधि, निजी क्षेत्र र प्रवासी म्याग्देलीहरुसँगको छलफलका क्रममा मन्त्री जुग्जालीले योजनाको माग, छनौट र कार्यान्वयनमा देखिएको समस्या समाधानका लागि पालिका र जिल्लागत हिसाबले साझा रुपमा योजनाको प्राथमिकता निर्धारण गर्न आवश्यक छ ।

म्याग्दीमा प्रदेश र संघीय सरकारबाट सडक, सडक पुल, भवन, खानेपानी, सिचाई, नदी, पहिरो नियन्त्रण, पर्यटन पूर्वाधार लगायतका साझा योजना बनाएर त्यसलाई छनौट र प्राथमिकता निर्धारणका लागि सहजिकरण गर्न जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापासँग मन्त्री जुग्जालीले प्रस्ताव गर्नुभएको थियो ।

“योजना माग्ने, सिफारिस र छनौटको बिधि बसाल्न सबैले अपनत्व गर्ने गरी प्राथमिकता निर्धारणको अभ्यास म्याग्दीबाट शुरु गरौ,” उहाँले भन्नुभयो “स्थानीय तह, हामी प्रदेश र संघीय तहका जनप्रतिनिधिहरु प्राथमिकता निर्धारण गरेर छानिएको योजना भन्दा बाहिर नजाने घोषणापत्र जारी गरौ र त्यसको इमान्दारीताका साथ कार्यान्वयन गर्न प्रतिवद्ध बनौ ।”

सिमित स्रोतबाट नागरिकको अधिकतम अपेक्षा पुरा गर्नुपर्ने बाध्यताका कारण बजेट बिकेन्द्रित हुने, आवश्यक योजनाले बजेट नपाउने, अनावश्यक योजनामा पहुँचका भरमा बजेट पर्ने समस्या समाधानका लागि वडा र पालिकाका स्तरबाटै कुन योजनालाई प्राथमिकता दिने भनेर साझा धारणा बनाउन आवश्यक रहेको मन्त्री जुग्जालीले बताउनुभयो ।

सबैले अपनत्व गर्ने गरि साझा योजना छनौट गरि प्राथमिकता गर्न सकेमा जसलिने होडबासी गर्नै नपर्ने र जो जिम्मेवारीमा हुन्छ उसैले कार्यान्वयन गर्ने दायित्व हुने मन्त्री जुग्जालीको भनाई छ । जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले साझा योजना छनौट गर्न जिल्ला स्तरमा छिट्टै भेला र छलफल कार्यक्रमको आयोजना गर्ने योजनामा रहेको बताउनुभयो ।

बेनी नगरपालिकाका प्रमुख सुरत केसीले साझा प्राथमिकतामा परेका योजना छनौट गर्न सकेमा माग गर्ने देखि बजेट व्यवस्थापन र कार्यान्वयनमा सहजता हुने, प्रभावकारी र उपलब्धी देखिने बताउनुभयो । संविधानसभा सदस्य गोविन्द पौडेलले शान्ति प्रक्रीया लगत्तै विकास निर्माणमा सहजिकरण गर्न म्याग्दीबाट शुरु भएको अभ्यास जस्तै साझा योजना छनौट गर्ने अभ्यास शुरु गरेर देशभर सन्देश दिनुपर्ने बताउनुभयो ।

Leave a Reply