कृषिमा आधुनिकीकरण र युवा जनशक्ति विदेश पलायनका कारण ग्रामीण क्षेत्रमा खेतबारी जोत्न र दाइँ गर्नका लागि गोरु पाल्ने चलन हट्दै गएको छ । त्यसको ठाउँमा दाइँ लगाउन पनि हाते ट्र्याक्टरको प्रयोग बढ्न थालेको छ ।

म्याग्दीका ग्रामीण क्षेत्रमा पछिल्लो समय परम्परादेखि नै चल्दै आएको गोरुको सहायताले दाइँ लगाउने प्रचलन लोप हुने अवस्थामा पुगेको छ । गाउँघरमा गाईगोरु पाल्नेहरु घटेसँगै प्रविधिको प्रयोग बढ्दै गएको बेनी नगरपालिका–२ खबराका अगुवा किसान चन्द्रबहादुर कार्कीको भनाइ छ ।

दाइँ गर्नका लागि डम्मरा र चुत्रेनीसम्म पुगग्दा पनि गोरु नपाइएपछि ट्र्याक्टर प्रयोग गरिएको बेनी नगरपालिका–२ बगरफाँटका किसान तोपबहादुर जिसीले बताए । जिसी मात्रै होइन म्याग्दीका धेरै किसानले खेतबारी जोत्नदेखि लिएर धान पराल गर्न र अन्य कृषि कार्यमा समेत अहिले कृषि औजारको प्रयोग गर्न थालेका छन् ।

बगरफाँटका किसान टेकबहादुर कार्कीले भने, “गोरु पाल्नै छोडे, धान झाँटेपछि दाइँ पराल गर्नै प¥यो, एक घण्टाको आठ सय तिरेर ट्र्याक्टर प्रयोग गरी दाइँ गरेँ ।”

गाउँघरमा पहुँचवालाहरुले सरकारी अनुदानमा ल्याएका कृषि उपकरणहरुको वास्तविक किसानसँग महँगो शुल्क लिएर काम गरिदिने गरेका किसान खड्गबहादुर थापाले गुनासो गरे । हाते ट्र्याक्टर प्रयोग गरी एक घण्टा जोतेको वा दाइँ गरेको ट्र्याक्टर मालिकले आठ सय लिने गरेको उनले सुनाए । पछिल्ला चार वर्षयता म्याग्दीमा पनि धान स्याहार्न हाते ट्र्याक्टर, ट्र्याक्टर र थे्रेसरको प्रयोग बढेको बगरफाँटका अर्का कृषक क्षेत्रबहादुर केसीले बताए ।

गोरु नै पाइन छोडेपछि अहिले दाइँ लगाउने प्रचलन पनि हराउँदै गएको ८८ वर्षीय बेदप्रसाद उपाध्यायले बताए । “पराल र धान स्याहार्न खलो वरिपरि मान्छे हुन्थे, मियो वरिपरि पाँच/सातवटा गोरु घुमाएर रातभर दाइँ गरिन्थ्यो, अहिले ती सबै कुरा सम्झना मात्रै भए”, उनले भने ।

पहिले हरेक घरमा कृषि कामको सहायताका लागि गाईगोरु पाल्ने चलन थियो तर अहिले उक्त चलन हराउँदै गएको मङ्गला–५ छिसबाङका किसान प्रेमबहादुर पुनले बताए । म्याग्दी पहाडी क्षेत्र भएकाले खेतबारीका फोहोटाहरुमा पनि प्रयोग गर्न सकिने हाते ट्र्याक्टर किसानले प्रयोग गर्ने गरेका कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । कृषि प्राविधिक जगत बानियाँले गाउँ छिटो र सजिलोका लागि जोत्नका लागि ट्र्याक्टर, सडकको पहुँच नपुगेको स्थानमा हाते ट्र्याक्टरको प्रयोग बढेको बताए । रासस

Leave a Reply