जताततै दसैंको रौनक छाएको छ । रेडियो र टेलिभिजनमा मालश्री धुन बजिरहेको छ । तर,म्याग्दीका गाउँघर र शहर बजारमा न मालश्री धुन बजेको छ न त चङ्गा उडाएर मनोरञ्जन लिँदै गरेको देखिएको छ ।

गृहिणीदेखि,बालबालिका, युवायुवती र पाका नागरिकहरु सबै मोवाइलमा व्यस्त देखिन्छन् । कसैले गीत सुनिरहेका,कोही गेम खेली रहेका,कानमा मोवाइल राखेर कुरा गर्दै गरेका र फिल्म हेर्दै र अनलाइन वार्तालाप गर्दै गरेका दृश्यहरु बर्गेल्ती देख्न पाइन्छ । तर,परम्परागत प्रविधि र मनोरञ्जनको शैली भने कतै देखिँदैन ।

मन्दिरमा शंखघण्ट बजेको सुनिदैन । नौमती बाजा बजाउँदै न्वारा लगाएर मंगलकामना गरेको पनि भेटिदैन । बिहानै घर,कोत वा शक्तिपीठहरुमा दुर्गा जगाउँदै मालश्री गाउँदा दशैँ आएको संकेत हुने गरे पनि म्याग्दीमा भने केही समययता मालश्रीका स्वर सुनिन छोडेका छन् ।

पहिले प्रत्येक घरघरमा नवरात्रमा मालश्री गाए पनि हाल यो देख्न र सुन्न नपाएको बेनी नगरपालिका २ का ८८ वर्षिय खड्गबहादुर घिमिरेले बताउनुभयो ।

“घटस्थापनादेखि पूर्णिमासम्म दुर्गा भवानीको भजन गाउँदै निकाल्ने एउटा धुन नै मालश्री हो”, उहाँले भन्नुभयो । आजभोलिजस्तो संगीत सुन्ने सुविधा नभएको त्यो समयमा घरघरमा र टोलटोलमा सुनिने मालश्रीको धुनमा गाइने भजनले नै दशैँको महत्व बढाउने गर्दथ्यो । तर, आजकल रेकर्ड भएर रेडियो टिभी र मोबाइलमा मात्रै मालश्री सुन्न पाइने उहाँको भनाइ छ ।

सूचना प्रविधिको बढ्दो प्रयोग र नयाँ नयाँ मनोरञ्जनका साधनहरुको पर्याप्ततासँगै युवाहरु आधुनिक संस्कृतितर्फ आकिर्षत भएका कारण धुन बजाउन जान्ने मान्छेको कमी, गाउने मान्छेको अभाव र परम्परागत लोक संस्कृतिमाथि आजका युवाको चासो नभएकाले नै मालश्री धुन सुनिन छाडेको मंगला गाउँपाालिका वडा नं २ रणबाङका हरिकृष्ण पौडेलले बताउनुभयो ।

पछिल्लो समयमा मालश्री भाका र धुन रेडियो टिभीमा मात्र सुन्न पाइने गरेको गाउँघरमा सुनिन छोडेको उहाँको भनाइ छ ।केही बूढापाका वा दक्खल भएका व्यक्तिले मात्र मालश्री धुन बजाउन र भजन कीर्तन गर्नसक्ने भएका कारण समय क्रमसँगै मालश्री लोप हुँदै गएको जानकारहरु बताउछन् ।

पछिल्लो समयमा युवाहरू पश्चिमी संस्कृतिमा रमाउन थाले पनि आफ्नो संस्कृति हराउँदै गएको हो। मालश्री धुन युवामाझ गुमनाम हुनुमा सांस्कृतिक विचलन भएको यसका जानकार बताउँछन् ।

नेपाली संस्कृतिभन्दा पश्चिमा संस्कृतिमा रमाउन थालेपछि यसको लोप हुँदै गएको खड्गभवानी कोत पूजा तथा गुठी व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण घिमिरे बताउनुहुन्छ ।

किंवदन्तीअनुसार देवीको गुनगानका लागि यो धुन बजाइने हो । पुरानो मान्यताअनुसार देवीका लागि आवश्यक पर्ने राग मालश्रीको उत्पत्ति भएको हो । मालश्री धुनलाई शास्त्रीय धुन भनिन्छ ।

त्यसैगरी दशैँमा चंगा उडाएर रमाइलो गर्ने पुरानो चलन पनि अहिले लोप भएको छ ।मनोरञ्जन, प्रतिस्पर्धा र धार्मिक विश्वासको रूपमा दशैंमा उडाउने गरिएको चंगा पछिल्लो समय खुला आकाशमा रङ्गमय चंगा उडेको कतै नदेखिएको बेनी बजारका युवा मनोज पुनले बताउनुभयो ।

अहिलेका युवा पुस्ता मोवाइल, ट्याबलेट, ल्यापटपजस्ता सूचना प्रविधिका साधनहरुमार्फत मनोरञ्जन प्राप्त गर्ने होडबाजीमा लागेका कारण चंगा उडाउने चलन लोप भएको जानकारहरु बताउछन् ।

यति मात्र नभएर उनी वरिपरिका स्थानमा अग्ला अग्ला भवन ठडिएका कारणले पनि चंगा संस्कृति लोप हुँदै गएको उनीहरुको भनाइ छ ।

Leave a Reply