हावाहुरीले विद्यालयको छाना उडाउदाँ एक विद्यार्थीको कक्षा कोठामै ज्यान गयो, अन्य विद्यार्थी र शिक्षक घाईते भए । भवनको बाहिरी र भित्री पर्खाल चर्किएर भत्किने अवस्थामा विद्यार्थी विद्यालय आउने छाडे। धाँजा फाटेको कक्षा कोठामा त्रासकाबीच शिक्षकले अध्यापन गराउनुपर्ने बाध्यता ।

झट्ट हेर्दा विद्यालय भवन नभई पशुचौपाया बाँध्ने गोठ जस्तै देखिन्थ्यो । करिब एक दशक अगाडीसम्म म्याग्दीको बेनी नगरपालिका–३,भकिम्लीमा रहेको जयन्ती माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीले त्रासमा पढ्नु र पढाउने पर्ने बाध्यता थियो ।

जिर्ण भवन विस्थापित गर्न समुदायमार्फत सरकारी निकायमा पटक–पटक गरिएको अनुरोध सुनुवाई नभएपछि अन्ततः समुदायकै पहलमा अत्याधुनिक विद्यालय भवन निर्माणसँगै विद्यार्थीहरू भत्किएको भवनमा त्रासका बीच पढ्नुपर्ने बाध्यताबाट मुक्त भएका छन् ।

अति विपन्न भकिम्लीबासीदेखि सम्पन्न अभिभावक जागरुक भएर आफ्ना सन्ततीको पठनपाठन गर्ने विद्यालयको भवन ठडाए ।स्वदेश तथा विदेशमा छरिएका स्थानीयको नेतृत्वमा विशाल विद्यालय भवन पुननिर्माण गरेर जनसहभागीतामुलक विकासको नमुना प्रस्तुत गर्न सफल भए ।

वि.स. २०७२ सालदेखि जयन्ती माविको विद्यालय भवन पुननिर्माण अभियान सुरू गरेका भकिम्लीबासीकै नेतृत्वमा दुई तले २२ वटा कोठा रहेको विद्यालय भवन तयार भएको छ। विद्यालय भवन संगै प्रवेशद्धार, खेलमैदान र प्याराफिट निर्माण सहित विद्यालयलाई घेरावार समेत गरिएको प्रधानाध्यापक भोज जिसीले बताए ।

विद्यालय भवनका लागि सरकारी निकाय धाउँदा बषौंसम्म रित्तै हात फर्किएका स्थानीयबासीले प्रवासीहरूको दरिलो साथ र आर्थिक बोक्ने काँध पाएपछि आफ्नै बलबुतामा विद्यालयको भवन ठडाउने साहस गरेका थिए ।

मावितहको विद्यालय भवन बनाउन धन हुनेले खुलेर सहयोग गरे, मन हुनेले धेरै दिनसम्म भवन पसिना बगाएर श्रमदान गरे र केही नहुनेले विद्यालयको भौतिक पूर्वाधारको अभियानमा आफ्नो एक गास काटेर समेत सहयोग गरेको निर्वतमान प्रअ रामबहादुर पुनले बताए । भवन बनाउने अभियानमा नगद रू ५ सयदेखि १० लाखसम्म व्यक्तिगत सहयोग गरेका छन् ।

विद्यालय भवन पुननिर्माणमा समुदायका मात्रै २१२ जना व्यक्तिगत चन्दादाता छन् । यूके, बेल्जियम,अमेरिका, हङकङ, स्पेन, दुबै, साउदी र जापानमा रहेका भकिम्लीबासीको अगुवाईमा संकलन भएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर पुनले बताए ।

विद्यालय भवन पुननिर्माणमा करिब रू ३ करोड ५० लाख खर्च भएपनि अहिलेसम्म चन्दादाता, सहयोगदाता, संघ संस्था र सरकारी तवरबाट रू ३ करोड २३ लाख ५५ हजार मात्रै सहयोग जुटेको विद्यालयले जनाएको छ । कुल लागतको आधा भन्दा बढी रकम समुदाय र देश विदेशमा रहेका भकिम्लीबासीकै नेतृत्व र अगुवाईमा जुटईएको छ ।

तत्कालिन समयमा भकिम्लीको रानीपधेरामा अवस्थित यस विद्यालयलाई स्वर्गीय नारायण देवी रोकाले १ रोपनी जग्गा विद्यालयलाई उपलब्ध गराएपछि हालको स्थानमा स्थानान्तरण गरिएको थियो ।

वि.स. २०२८ सालमा प्राविबाट निमावि तहमा स्तरउन्नती भएको यो विद्यालयमा वि.स. २०५१ सालमा महायज्ञ सञ्चालन गरेर विद्यालयलाई माध्यमिक तहमा स्तरबृद्धि गरिएको थियो ।

लामो समयसम्म नीजि स्रोतबाट मावि सञ्चालन गरेको यस विद्यालयमा समुदायले शिक्षकको तलब सुविधा र विद्यालयको भौतिक पूर्वाधारमा स्थापनाकालदेखि नै अतुलनिय योगदान गर्दै आएका छन् । कक्षा १० सम्म पठनपाठन हुने यस विद्यालयमा अहिले १७६ जना बालबालिकाहरु अध्ययनरत छन् ।

Leave a Reply