म्याग्दीको धवलागिरी गाउँपालिका-२, लुलाङबाट मरेनीदेखि जलजला धन्समाने भन्ने ठाउँमा जंगली च्याउ टिप्न साथीहरूसँग पुगेको थिए । जंगलभित्र पुगेपछि हामीले च्याउ खोज्दै जाँदा एउटा रुखमा एउटा गोलो टाउको, लामो पुच्छर, मझौला आकार र आखा गाढा आकर्षक भएको अनौठो जनावार देखे । जंगलभित्र साथी विश्वास थापा, पृजन घर्तीलाई समेत जनावरका बारेमा जानकारी दिदैं साथमा रहेको मोवाइल हत्तपत्त निकाले र तस्वीर, भिडियो लिए ।

मैले मोवाइल निकालेर भिडियो खिच्न थालेपछि मात्रै थाहा भयो रेडपाण्डा भन्ने । झट्ट हेर्दा घरपालुवा बिरालो जस्तै देखिने रहेछ । करिब २४ मिटर आसपासबाट मैले सुन्दर जनावार रेडपाण्डा (हाब्रे )तस्बिर लिए । यो भदौ १६ गते अपराह्नको कुरा हो ।मैले भिडियो लिउन्जेल रेडपाण्डा रुखमा झनै रमाउन थाल्यो ।करिब २ मिनेटको भिडियो खिच्दा रेडपाण्डाको गतिविधि देखेर दंग परे ।

हामीले रेडपाण्डा बसेको नजिकै गएर नियाल्दा पनि भागेन । निकै लामो समय सम्म रेडपाण्डाले एकोहोरो रमाइरहेको थियो।सामान्यतया अन्य जँगली जीव, जनावर मानिसको आवाज सुनेपनि भाग्छन्, तर रेडपाण्डा अति लजालु जस्तै लाग्यो । मान्छेले आक्रमण नभई जोगाउँछन् भन्ने महसुस रेडपाण्डालाई हुने रहेछ । मैले पहिलोपटक रेडपाण्डालाई धित मारुन्जेल हेरे र नयाँ अनुभव लिन पाए ।

लजालु हुने भएकाले सिकारीलाई मार्न सजिलो हुन्छ जस्तो लाग्यो तर रेडपाण्डाले मान्छेलाई मायाँ गर्ने, लजाउने, नजिकै आउन खोजे जस्तो समेत मलाई महसुस भयो । अन्तिममा एक रुखबाट अर्कोमा उफ्रन र जमिनमा छिटो दौडियो । अनि हामी पनि फर्कियौं । अब धवलागिरी गाउँपालिकाले रेडपाण्डालाई प्रचारप्रसार र संरक्षणको कार्यक्रममार्फत जोड्नुपर्छ । रेडपाण्डा पाइने क्षेत्रमा नियमित अनुगमन समेत गर्नुपर्छ ।

सिकारीको आवतजावत, जंगलमा भेडा गोठालाले जथाभावी कुकुर छाडा छोड्दा रेडपाण्डाको जोखिममा पर्ने देखेको छु । बन क्षेत्रमा घाँसको लोभमा आगो लगाउँदा समेत रेडपाण्डा सहित अन्य बन्यजस्तुलाई असर गरेको छ। म्याग्दीमा पाइने रेडपाण्डाको भिडियो पहिलोपटक मैले सार्वजनिक गर्न पाउँदा निकै उत्साहित भएको छु ।

मलाई धेरैले चासो दिदैं फोन गर्नुहुन्छ । मेरो अनु्रोध रेडपाण्डालाई जोगाउन आवश्यक आहारा, पानीको स्रोत, घना जँगल र पर्याप्त निगालो हुँदा रेडपाण्डाको लागि अनुकुल बनाउनुपर्छ । गाउँपालिकाले रेडपाण्डालाई जोगाउने कार्यक्रमहरू सार्वजनिक गरेमा धेरै राम्रो हुन्छ । समुदायस्तरबाट सक्ने सबै सहयोग गर्नुपर्छ । विश्वबाटै लोभ हुन लागेको रेडपाण्डालाई म्याग्दीमा जोगाउन सबैको साथ आवश्यक छ ।
सुवास थापासँग गरिएको कुराकानी

Leave a Reply