नेकपा एमाले गण्डकी प्रदेश कमिटीको प्रथम अधिवेशनबाट अध्यक्षमा म्याग्दीका नवराज शर्मा निर्वाचित भएका छन् । अध्यक्षका अर्का प्रत्यासी लमजुङका मायानाथ अधिकारीलाई पराजित गर्दै शर्मा अध्यक्षमा निर्वाचित भएका हुन् । शर्माले ५ सय ३१ र अधिकारीले ३ सय ६५ मत प्राप्त गरेका छन् ।

अधिवेशनबाट सदस्यमा हरिकृष्ण श्रेष्ठ, खुमबहादुर बानियाँ, मुना बानियाँ, पुस्कर विक, किरण सापकोटा, खरमायाँ विटालु, हरिमायाँ पुन सिर्जना केसी निर्वाचित भएका छन् । प्रदेश अध्यक्षमा निर्वाचित भएसँगै शर्मा नेकपा एमालेको पोलिटब्यूरो सदस्य समेत भएका छन् ।

नेकपा एमालेको विधानमा प्रदेश अध्यक्षमा चयन भएपछि पोलिटब्यूरो सदस्य हुने प्रावधान छ। शर्मा प्रदेश अध्यक्षसँगै अव केन्द्रिय राजनीतिमा समेत प्रवेश गरेका छन् । प्रदेश अध्यक्ष शर्मा भावी दिनमा मुख्यमन्त्री, संघीय सांसद वा जनताको प्रतिनिधित्व गर्ने गरी मैदानमा उत्रिन समेत सहज बाटो खोलिदिएको छ ।

२०२६ सालमा हाल मालिका गाउँपालिका–७, विम (तत्कालीन विम गाविस)मा जन्मिएका शर्मा १३ वर्षको उमेरदेखि नै विद्यार्थी सङ्गठनमा आबद्ध भई राजनीतिमा होमिएका थिए ।

उनी पहिलोपटक २०४१ सालमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)मा आबद्ध भएका थिए । शर्मा २०४२ सालमा अनेरास्ववियुको राष्ट्रिय सम्मेलनमा म्याग्दीबाट प्रतिनिधित्व गर्दै सहभागी भएका शर्मा २०४२ देखि २०५४ सम्म अनेरास्ववियुको जिल्ला अध्यक्ष, धौलागिरी अञ्चल सदस्य र कोषाध्यक्षसम्मको पदीय जिम्मेवारीमा रहेर काम गरेका थिए ।

यसैगरी २०४४ सालमा तत्कालीन मालेको पार्टी सदस्य बनेका उनी २०४५ सालमा पार्टीको पूर्ण सदस्यता प्राप्त गरे भने २०४५ सालमा नेकपा माले जिल्ला सङ्गठन कमिटी म्याग्दीको सदस्य बनेका थिए ।

पञ्चायत विरुद्धको भूमिगत अवस्थामा विद्यार्थी राजनीतिबाट निखारिएर आएका शर्मा २०५४ सालमा जिल्ला विकास समिति म्याग्दीको सभापतिमा निर्वाचित भएका थिए । धौलागिरी अञ्चलको म्याग्दी, मुस्ताङ र बागलुङ जिल्लामा पूर्णकालीन कार्यकर्ताको रुपमा लामो समय सक्रियतापूर्वक पार्टीले दिएको जिम्मेवारी पुरा गरेका शर्माले पार्टीमा अञ्चलको संरचना रहेको तत्कालीन अवस्थामा शर्माले धौलागिरि अञ्चल समन्वय कमिटीको सचिव भएर काम गरेका थिए ।

शर्मालाई २०४५ सालमा २ पटक म्याग्दीमा प्रहरीले गिरफ्तार गरेको थियो भने २०६२÷०६३ को जनआन्दोलनको क्रममा बागलुङबाट पक्राउ गरेकोमा बन्दी प्रत्यक्षीकरणको रिटमार्फत २८ दिनपछि अदालतको आदेशमा रिहा भएका थिए। २०७० सालमा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा म्याग्दी जिल्लाबाट प्रतिनिधिसभा सदस्य पदमा शर्मा निर्वाचित भएका थिए। उनले अहिलेसम्म भएका सबैखाले निर्वाचनमा जित हासिल गरेका छन् ।

 

Leave a Reply