गर्विलो इतिहास र प्राकृतिक सुन्दरताले सुसज्जित म्याग्दी पर्यटकीय जिल्लाको रुपमा परिचित छ । यहाँका प्राकृतिक दृश्यहरुले सन् १९४७ भन्दा अघिदेखि नै भारतमा शासन गरेका अंग्रेजहरुलाई लोभ्याएको र खोजीगर्दै जाँदा धवलागिरि हिमाल पत्ता लागेको इतिहासकारहरुको भनाइ छ ।

सन् १९४७ पूर्व भारतमा अंग्रेजहरुले शासन गर्दा भारतको उत्तरप्रदेशमा पर्ने गोरखपुरबाट उत्तरतर्फ हेर्दा देखिएको ‘सेतो पहाड’ (जसले उनीहरुलाई लोभ्याएको थियो र पछि खोजी गरेर पत्ता लगाएका थिए) धवलागिरि देखि सुनको खानी रहेको अनुमान गरिएको ‘सुन छहरा’ म्याग्दीमा रहेका छन् ।

म्याग्दी जिल्लाको उत्तरी भू–भागमा धवलागिरी हिम श्रृङ्खला रहेको छ । यो हिम श्रृङ्खला सेतो भएको हुनाले यसलाई धवलागिरी भनिएको हो भन्ने भनाइ छ । धवलको अर्थ ‘सेतो’ र गिरीको अर्थ ‘पहाड’ भन्ने हुन्छ । यो हिम श्रृङ्खला बिहानीको झुल्के घाममा चाँदी झैं टल्कने भएकोले यसलाई ‘सेतो पहाड’ अर्थात् ‘धवलागिरी’ भनिएको इतिहाँसविद् कर्णबहादुर बानियाँको भनाइ छ ।

बानियाँका अनुसार अङ्ग्रेजहरूले भारतको गोरखपुरबाट उत्तरमा रहेको ‘सेतो पहाड’ देखेपछि यसको खोजी गरेका थिए । त्यसपछि सन् १८०० मईमा ब्रिटिस इण्डियन सर्वेयर टोलीले यो हिम श्रृङ्खलाको बारेमा केही कुरा सार्वजनिक गरेको थियो ।

म्याग्दीका इतिहाँसविद् एवम् भूगोलका ज्ञाता बानियाँका अनुसार म्याग्दीमा मनमोहक वा अनौठा मानिने प्राकृतिक दृश्य वा संस्कृति उपलब्ध छन् । ती ठाउँहरुको समुचित प्रयोग र व्यवस्थापन गर्न सक्ने हो भने म्याग्दी पर्यटकीय आकर्षण र अनुसन्धान केन्द्रको प्रमुख स्थल हुनसक्ने बानियाँको भनाइरहेको छ ।

“म्याग्दी हिमाल,ताल,छहरा र पहराले सजिएको छ । यिनै सौन्दर्यले युक्त भएको हुँदा यहाँको संस्कृति पनि श्रृङ्गारिक र मौलिक छ” म्याग्दीका साहित्यकार तथा इतिहासका जानकार कृष्णबहादुर वानियाँले भन्नुभयो ।

वानियाँका अनुसार प्राकृतिक सुन्दरता र भौगोलिक विविधताले सम्पन्न म्याग्दी जिल्लामा स्वदेशी तथा विदेशी पर्यटकहरुलाई मोहनी लगाउने प्रशस्त सम्पदाहरु हुँदाहुँदै पनि समुचित प्रयोग,प्रचारप्रसार र व्यवस्थापनको अभावमा त्यस्ता सम्पदाहरु अझै पनि ओझेलमा परेका छन् ।

त्यसका साथै यहाँ दर्जनौं हिमश्रृङ्खलाहरु,छहरा,ताल,गल्छी,झरनाहरु रहेका छन् । पर्यटकलाई मख्ख पारेर धेरै दिनसम्म एकै ठाउँमा बसिरहुँ जस्तो वातावरण बनाउन आवश्यक पर्ने मनोरम प्राकृतिक दृश्यहरु म्याग्दीमा विद्यमान छन् ।

म्याग्दी जिल्लाको उत्तरी क्षेत्रमा संसारको सबैभन्दा गहिरो गल्छी रहेको छ जसलाई अन्धगल्छी भनिन्छ । यो जिल्लाको अन्नपूर्ण गाउँपालिकामा पर्ने दाना गाउँको पुछारमा काली गण्डकीले बनाएको विश्वकै सबैभन्दा गहिरो गल्छी हो ।

गल्छीको उत्तर–पश्चिममा धवलागिरी हिमाल (८,१६७ मी.) र पूर्वमा अन्नपूर्ण हिमाल (८,०९१ मी.) छन् । यी दुई हिमश्रृङ्खला बीचको दूरी करीब ३५ मिटर मात्र छ । दाना करीब १,२०० मीटरको उचाइमा अवस्थित छ ।

धवलागिरीको टाकुरादेखि दानासम्मको उचाइमा करीब छ हजार ,नौ सय,६७ मिटरको अन्तर छ । धवलागिरीको चुचुरादेखि दानासम्मको त्यही उचाइको फरकलाई जमिनदेखि जमिनसम्मको उचाइको अन्तर मानिएको छ । जसका कारण यो गल्छीलाई संसारकै सर्वाधिक गहिरो गल्छी मानिएको हो ।

काली गण्डकी र ठूली भेरीको बीचमा बसेको र म्याग्दीको भूगोललाई समेटेको धौलागिरि हिमश्रृङ्खलामा एउटा आठ हजार मिटर भन्दा अग्लो चुचुरो छ भने १३ वटा सातहजार मीटर भन्दा अग्ला र ४९ वटा छ हजार मीटर भन्दा अग्ला चुचुरा रहेका भूगोलका जानकारहरुले बताएका छन् ।

भूगोलविद् श्याम अधिकारीका अनुसार यसमा मुकुट, डोल्पा र गुर्जा नामका तीन उपश्रृङ्खला छन् । यसको पूर्वमा काली गण्डकी, पश्चिममा भेरी नदी, उत्तरमा वारबुङ खोला र दक्षिणमा जिरवाङ खोला छन् ।

त्यसैगरी भूगोल तथा इतिहासका जानकार कर्ण बानियाँका अनुसार सन् १८५८ मा विश्वको सबैभन्दा अग्लो चुचुरो सगरमाथा (माउण्ट एभरेष्ट) हो भन्ने कुरा पत्ता नलागुञ्जेल धवलागिरी हिमाललाई नै संसारको सर्वोच्च टाकुरा मानिन्थ्यो । तर अहिले धवलागिरी पहिलो विश्वको सातौं अग्लो चुचुरोको रूपमा रहेको छ जुन ८,१६७ मिटर अग्लो छ । धवलागिरी दोस्रो ७,७५१, धवलागिरी तेस्रो ७,७१५, धवलागिरी चौथो ७,६६१, धवलागिरी पाँचौं ७,६१८ र धवलागिरी छैटौं ७,२६८ मिटर अग्ला छन् । यस जिल्लाको उत्तर–पश्चिमी क्षेत्रमा रहेको अर्को हिमश्रृङखला गुर्जा हिमाल हो ।

यो हिमश्रृङखलाको सबैभन्दा अग्लो चुचुरो ७,१९३ मिटर अग्लो छ जसलाई गुर्जा हिमाल भनिन्छ । यस जिल्लाको उत्तर–पश्चिमी क्षेत्रमा रहेका अन्य हिम चुचुराहरूमा चुरेन (मुख्य) ७,३८५, चुरेन (पूर्व) ७,३७१, चुरेन (पश्चिम) ७,३७१, पुथा ७,२४६, फाल्स जंसन ७,१५०, जंसन ७,१०८, हवेली ६,१८२ र हिमचुली ५,९११ मिटर अग्ला छन् ।

धवलागिरीे हिमाल आरोहणको प्रयास सन् १९५० देखि नै शुरु भएको भएतापनि सर्वप्रथम सन् १९६० मा स्वीस, अष्ट्रियन र नेपाली पर्वतारोहण दलको संयुक्त टोलीले यो हिमाल आरोहण गरेको थियो । यस जिल्लाको उत्तर–पूर्वी क्षेत्रमा रहेको अर्को हिमश्रृङखला अन्नपूर्ण हो ।

यो हिमश्रृङखलाको सबैभन्दा अग्लो चुचुरो अन्नपूर्ण पहिलो (८०९१ मि.) हो । नारच्याङमा निलगिरी नामक अर्को हिमाल पनि पर्दछ । म्याग्दीमा रहेका हिम श्रृङ्खलाका विभिन्न चुचुराहरू आरोहण गर्ने क्रम निरन्तर चलिरहेको छ । धवलागिरी हिम श्रृङ्खलाका पाँचवटा चुचुराको दक्षिण–पश्चिमतिर मोहडा रहेको छ । यी हिमालहरूले यो जिल्लाको पर्यटन विकासमा राम्रो टेवा दिएका छन् ।

 

Leave a Reply