पश्चिम म्याग्दीको मंगला गाउँपालिकाको म्याग्दी नदी माथि दुई वडा जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि ७ सय घरधुरीका झण्डै ५ हजार जनसंख्या लाभान्वित भएका छन् । मंगला वडा नं २, सहश्रधारा र वडा नं ५ अर्मनको कुर्सिम्ला जोड्ने २ सय मिटर लामो नवनिर्मित झोलुङ्गे पुल निर्माण भएपछि करिब एक घण्टाको दुरी १५ मिनेटमा छोटिएको छ ।

संघीय सरकारको कुल ७३ लाख ४३ हजारको लागतमा जेके जीवन अपर तामाकोशी निर्माण कम्पनीले निर्माण गरेको झोलुङ्गे पुलले दुई वडाबासीलाई दैनिक आवतजावतमा सहज भएको स्थानीय यूवा श्रीराम पौडेलले बताए। ‘झोलुङ्गे पुलले दैनिक घुराउरो यात्रा छोटिएको छ, दुई वडाका बासिन्दालाई निकै सहज भएको छ’ पौडेलले भने ।

बेनी–दरबाङ सडकखण्डको सहश्रधाराबाट अर्मनको पाँखु, हिलाबाङ, सिर्कुम, टिकाबाङ, धाराका साथै मालिका गाउँपालिका–६, दुखुबेसीसम्मका बासिन्दालाई आवतजावतमा सहज बनाएको छ । झोलुङ्गे पुल नहुदाँ सहश्रधारा, दुखुबेसी, नयाँ बजार क्षेत्रबाट सारदा माविमा छिस्वाङमा अध्ययनरत विद्यार्थीलाई जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यताको अन्त्य भएको स्थानीयको भनाई छ ।

नवनिर्मित झोलुङ्गे पुलको उद्घाटनसँगै सार्वजनिक लेखापरीक्षण लगायतका काम बाँकी भएपनि सर्वसाधारणले प्रयोग गर्न थालेको अर्मनका वडा अध्यक्ष भुपेन्द्रबहादुर क्षत्री खत्रीले बताए । म्याग्दी र हिलाबाङ खोलाको चपेटामा परेको कुर्सिम्लाबाट मोटरसाइकलमा समेत आवतजावत गर्न मिल्ने गरी पुल आसपासमा सडक पुर्याउने योजना समेत रहेको छ । यसैबीच झोलुङ्गे पुलका लागि जग्गा उपलब्ध गराउने स्थान्ीय चन्दादातालाई अनौपचारिक सम्मान तथा ठेकेदार प्रतिनिधिलाई स्थानीयले सम्मान गरेका थिए ।

 

 

Leave a Reply