नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी म्याग्दीको आयोजनामा आज (आइतबार) ४५औं पुष्पलाल स्मृति दिवस मनाइएको छ । एमाले म्याग्दीद्वारा विविध कार्यक्रमको आयोजना गरी नेपाल कम्युनिष्ट पार्टीका तत्कालीन संस्थापक महासचिव स्वर्गीय पुष्पलाल श्रेष्ठको स्मृति दिवस मनाइएको हो ।
एमाले म्याग्दीको हाँडेभीरस्थित पार्टी कार्यालय शहिद स्मृति प्रतिष्ठानमा आयोजित ४५औं पुष्पलाल स्मृति दिवसको कार्यक्रममा स्वर्गीय पुष्पलालको तस्विरमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरिएको थियो । पुष्पलालको तस्विरमा पुष्पगुच्छा अर्पण गर्दै नेकपा एमाले केन्द्रीय सदस्य एवं म्याग्दी जिल्ला इन्चार्ज गोविन्द नेपालीले देश अहिले पुष्पलालले अगाडि सारेको नीतिअनुसार अघि बढिरहेको विचार व्यक्त गर्नुभयो ।
केन्द्रीय सदस्य नेपालीले तत्कालीन समयमा स्व. पुष्पलालको अगुवाइमा नेपाल कम्युनिष्ट पार्टी स्थापना गरे पनि अहिले कम्युनिष्टहरु विभिन्न समूहमा विभाजित भएको बताउँदै कम्युनिष्ट आन्दोलनको मूल प्रवाह नेकपा एमाले भएको बताउनुभयो। उहाँले पुष्पलालले स्थापना गरेको कम्युनिष्ट पार्टीमा आबद्ध हुन पाउनु गर्वको विषय भएको उल्लेख गर्दै आम नेता, कार्यकर्ताहरु एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले अहिले गठबन्धनबाट एमालेमाथि प्रहार हुने गरेको भन्दै गठबन्धन सरकारको गलत क्रियाकलापको भण्डाफोर गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटी सचिवालय सदस्यद्वय हरिकृष्ण श्रेष्ठ र खुमबहादुर बानियाँले अहिलेका सबै कम्युनिष्ट पार्टीहरु पुष्पलालले अगाडि सारेको नीति, सिद्धान्त र विचारलाई अनुसरण गर्दै एक हुनुपर्ने आवश्यकता रहेको औंल्याउनुभयो । नेताद्वयले नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाह नेकपा एमाले नै भएको भन्ने निर्वाचनबाटै पुष्टि भएकाले एमालेमा लाग्नुको विकल्प नभएकोमा जोड दिनुभएको थियो ।
स्व. पुष्पलालको ४५औं स्मृति दिवसको अवसर पारेर एमाले म्याग्दीले नेपाल बाल सङ्गठनद्वारा सञ्चालित म्याग्दी बालगृहमा दैनिक उपभोग्य खाद्यान्न सामग्रीहरु हस्तान्तरण गरेको जनाएको छ । कार्यक्रम नेकपा एमाले म्याग्दीका अध्यक्ष देवेन्द्रबहादुर कटुवालको अध्यक्षता र स्वागत एवं सचिव सुरत केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।
२००६ सालमा भारतको कोलकतामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्दा पुष्पलालले सम्मुन्नत राष्ट्र निर्माण गर्ने र नेपाली जनताको वास्तविक मुक्तिको कार्यभार पूरा गर्ने लक्ष्य राख्नुभएको थियो । १९८१ साल असारमा रामेछापको भङ्गेरीमा जन्मिनुभएका पुष्पलाल वैचारिक रूपले सशक्त र आम नेपालीका लागि एक प्रेरणादायी नेताको रूपमा परिचित हुनुहुन्छ । पुष्पलालले जनताको पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ २००६ वैशाख १० गते भारतको कोलकाताको श्यामबजारमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएको थियो ।
पुष्पलाल, नरबहादुर कर्माचार्य, निरन्जनगोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठको सक्रियतामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । पुष्पलालको २०३५ साल साउन ७ गते भारतको गोविन्दवल्लभ पन्त अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

Leave a Reply