म्याग्दी जोड्ने बेनी–दरबाङ सडकखण्ड मंगलबार बिहानैदेखि अवरुद्ध भएको छ । गएरातिको भिषण वर्षाले पश्चिम म्याग्दी जोड्ने एक मात्रै सडकखण्ड विभिन्न स्थानमा पहिरो खसेर अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । सडकखण्ड अन्तरगत बेनी नगरपालिका–४, तातोपानी र मंगला गाउँपालिका–२ जोड्ने फाँपरखेतमा बाढीले सडक बगाएको छ । लगाातारको बर्षाले सडकखण्डमा हिलो जमेको छ भने साना सवारीसाधन समेत आवतजावत गर्न समस्या भइरहेको तातोपानीका स्थानीय यूवा कुमार केसीले बताउनुभयो ।‘सानो ठुलो पहिरोले समस्या भइरहेको छ,‘बर्षाका कारण मर्मतमा समस्या छ’ केसीले भन्नुभयो ।

पश्चिम म्याग्दीको लाइफलाइन मानिएको सडकखण्डबाट मङ्गला, मालिका र धवलागिरी गाउँपालिकामा र बागलुङ जिल्ला आवतजावत गर्ने दुखुखोलाको मोटरेबल पुल जोखिममा परेको छ । मोटरबेल पुल जोखिममा परेपछि ठूला सवारीसाधनलाई रोक लगाइएको छ। पुल भासिने त्रासले दुबै गाउँपालिकाले पुलमा ठूलो सवारीसाधन नचलाउन र भिडभाड नगर्न समेत अनुरोध गरेको छ। सडक माथिबाट खसेको लेदो, ढुङ्गामाटो र गेगरसहितको पहिरोले सडक पुरिएपछि पश्चिम म्याग्दीको ग्रामिण सडक अस्तब्यस्त छ । सडक खुलाउने प्रयास भैरहे पनि सडकमा लेदो बगिरहेकाले समस्या भएको प्रहरीले जनाएको छ ।

Leave a Reply