नेकपा एमाले गण्डकी प्रदेशको अध्यक्षमा म्याग्दीका नवराज शर्मा चयन हुनुभएको छ । एमालेको केन्द्रीय कमिटीको बैठकले म्याग्दीका नवराजलाई गण्डकी अध्यक्षमा चयन गरेको हो । शर्माले २०७० को संविधान सभा निर्वाचनमा म्याग्दीबाट प्रत्यक्षतर्फ चुनाव जितेका थिए ।

२०४१ सालमा अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरु गरेका शर्मा २०४२ देखि २०५४ सालसम्म अनेरास्ववियुको जिल्ला अध्यक्ष, धौलागिरी अञ्चल सदस्य र कोषाध्यक्ष रहेका थिए । २०५४ सालमा जिविस म्याग्दी सभापति रहेका शर्मा यसअघि गण्डकी प्रदेश कमिटी सदस्य थिए ।

शर्मा तत्कालिन समयमा भुमिगत राजनीतिमार्फत जिल्लामा संगठन विस्तारमा केन्द्रित हुनुभएको थियो । नेकपा एमाले म्याग्दीमा शालिन ब्यक्तित्वको शर्माले संविधानसभाको सदस्यपछि लामो समयसम्म प्रमुख भूमिकामा नरहेपनि संगठन विस्तार सहितका पार्टीका गतिविधिमा निकै सक्रियतापूर्वक लाग्नुभएको थियो ।

एमालेमा पद भन्दा पनि आफ्नो जिम्मेबारीलाई प्रमुख प्राथमिकता दिने नेता शर्माले प्रदेश अध्यक्षको जिम्मेबारी अनुसार काम गर्ने बताउनुभयो । ‘हामीले काम गदैं जाँदा पार्टीबाट जिम्मेबार पनि आउँछ,‘आफ्नो जिम्मेबारी अनुसार काम गरेपछि सफलता मिल्छ’ शर्माले बेनीअनलाइनलाई भन्नुभयो । उहाँले गण्डकी प्रदेशमा पार्टी बलियो बनाउन लागिपर्ने बताउनुभयो ।

Leave a Reply