१९ औँ जेसीज कप फुटबल प्रतियोगिताको फाइनलको ‘प्रि–म्याच कन्फ्रेन्स’ मा न्यू वेष्ट प्वाइन्ट आवासीय माविका प्रशिक्षक दिपेन राईलाई बुद्ध एकेडेमीका प्रशिक्षक सोनाम लामाले हार्दिकतापूर्ण सम्मान गरेका थिए। आइतबार विहान सदरमुकाम बेनीको खुल्लामञ्चमा आयोजित ‘प्रि–म्याच कन्फ्रेन्स’मा प्रशिक्षक राई र लामा बीच मुस्कान साटासाटको रोचक दृश्य देखिएको थियो । आफ्नै उत्पादन लामाको प्रशिक्षणमा रहेको बुद्ध एकेडेमीसँग फाइनलमा भिड्ने अवसर पाएकोमा प्रशिक्षक राई मख्ख देखिन्थे ।

बुद्धका प्रशिक्षक लामाले न्यू वेष्ट प्वाइन्टबाटै खेल खेलेर विद्यालयलाई जेसिज कपको विजेता बनाएको भन्दै गर्व गर्न लायक प्रदर्शनको शुभकामना समेत दिए। विगतमा जेसिज कपको ‘प्रि–म्याच कन्फ्रेन्स’ भन्दा यसपटक आयोजकले समेत दुबै टिमका प्रशिक्षक र क्याप्टेनको प्रस्तुती फरक महसुस गरेका थिए ।

जेसीज कपको दुई दशक लामो इतिहासमा न्यू वेष्ट प्वाइन्टबाट प्रशिक्षकको रूपमा देखिएका राई सदावार प्रशिक्षकको रुपमा आफ्नो पहिचान बनाएका छन्। सन् २००१ देखि सुरू भएको जेसीज कप यता हरेक बर्ष राईकै प्रशिक्षणमा न्यू वेष्टको टोली मैदानमा उत्रिने गरेको छ । खेलाडी मैत्री प्रशिक्षकको रूपमा समेत चिनिने राईले ४ पटकसम्म जेसीज कपको उपाधी जिताउन सफल भएका छन् ।

जेसीज कपको इतिहासमा धेरै पटक उपविजेता बनेको विद्यालयलाई उपाधीको खडेरी टोड्न मात्रै सफल भएका छैनन् प्रतियोगिताको मुख्य शिल्डलाई पच गरी १९ औँ संस्करणमा समेत कब्जा जमाएका छन् ।जेसीज कपमा ११ पटक उपविजेता भई अभागीको बिल्लालाई उनले निरन्तर तोड्न सफल मात्रै भएका छैनन् अन्य विद्यालयका खेलाडीको समेत नजरमा परेका छन् ।

जेसीज कपको तिर्का मेट्न सफल राईले हरेक प्रतियोगितामा मैदानमा उत्रिएका खेलाडीलाई रित्तो हात फर्किन नदिने गरी निरन्तर प्रशिक्षण, प्रयाप्त सुविधा सहित खेलकुद गतिविधिलाई समेत प्राथमिकता दिने गरी कार्यतालिका बनाउँछन् । सन् २००१ मा देखेको सपना पुरा गर्न १८ बर्ष पर्खिनु पर्यो त्यस यता पनि उपाधीमा आफ्नै समुह हाबी भएपछि प्रशिक्षक राई निकै उत्साहित छन् ।

‘जेसीज कप नै खेलेका विद्यार्थीहरु अहिले प्रशिक्षक भएर मैदानमा देखिदाँ निकै उत्साहित छु,‘जेसीज कपले मलाई पनि धेरै बाटो देखाएको छ’ प्रशिक्षक राईले भने । उनले जिल्लामा फुटबल खेलाडी उत्पादनमा म्याग्दी जेसीजको भूमिका सबैभन्दा बढी रहेको बताए । उनले विद्यालयमा फुटबल बाहेक राष्ट्रपति रनिङ शिल्ड सहित विभिन्न प्रतियोगितामा एथलेटिक्स लगायतका अन्य खेल विधामा समेत प्रशिक्षणको भूमिका निभाउने गरेका छन् ।

जिल्लामा न्यू वेष्ट प्वाइन्ट खेलकुदमा अगाडी हुनुमा सबैभन्दा ठूलो भूमिका प्रशिक्षक राईको छ । उनको जिम्मेबारी र खेलाडीको आवश्यकतामा विद्यालयले समेत लगानी गरेको छ । आइतबार सम्पन्न भएको खेलमा वेष्ट प्वाईन्टले बुद्ध एकेडेमीलाई शुन्यका विरुद्ध चार गोल अन्तरले पराजित गरेको थियो ।

Leave a Reply