२०७४ मंसिर २७ गतेका दिन संस्था दर्ता ऐन २०३४ बमोजिम जिल्ला प्रशासन कार्यालय म्याग्दीमा विधिवत् रुपमा दर्ता भएको मुनाफारहित सामाजिक तथा विकास संस्था हो म्याग्दी विकास मञ्च । संस्थाको स्थापना म्याग्दी जिल्लाको विभिन्न भूभागमा बसोबास गर्ने नेपाल राज्यभित्रको विभिन्न जिल्लामा बसोबास गर्ने तथा विदेशमा समेत बसोबास गर्ने म्याग्देलीहरुका बीचमा आपसी सम्पर्क, सुमधुर सम्बन्ध, मैत्रीभाव, मातृभाव, समझदारी र सद्भावना कायम गरी जिल्लाको विकासमा सहकार्य गर्ने रहेको छ । स्थापनाकालदेखि हालसम्म संस्थागत र छलफलमै केन्द्रित भएको म्याग्दी विकास मञ्चका अध्यक्ष तेजप्रकाश पुनसँग बेनीअनलाइनका हरिकृष्ण गौतमले गरेको छोटो कुराकानी ।

म्याग्दी विकास मञ्चको स्थापना किन ?
सर्वप्रथम बेनी साप्ताहिक परिवारलाई धन्यवाद ज्ञापन गर्दछु । म्याग्दी विकास मञ्च जिल्दलाको सामाजिक आर्थिक उद्योग व्यापार, शैक्षिक, ऐतिहासिक साहित्यिक कलाकौशल, स्वास्थ्य, कृषि, पशु, प्राकृतिक चिकित्सा, जडिबुटी संरक्षण र खेलकुद आदि क्षेत्रका विविध फाँटहरुको महत्व, आवश्यकता र विशेषताहरुबारे जानकारी दिन जनचेतना अभियान गर्नुका साथै समृद्ध म्याग्दी अभियानमा हातेमालो गर्न, सूचना प्रविधि, शिक्षाका साथै स्वास्थ्य, अर्गानिक कृषि अभियान, मानव संशाधन विकासमा सहभागिता, साझेदारी उद्योग, व्यापार, जलविद्युत, पुल, वन जङ्गल र वातावरण आदिको क्षेत्रमा व्यावसायीकरण, आधुनिकीकरण र लगानीयोग्य वातावरण बनाउन आवश्यक पहलकदम एवम् सहयोग गर्ने गरी म्याग्दी जिल्लाका बेनी नगरपालिका र पाँच वटा गाउँपालिका बीच सम्बन्ध स्थापना गर्न र अन्तर्राष्ट्रिय स्तरमा भगिनी सम्बन्ध स्थापना गर्नु रहेको छ । धेरै योजनाहरू भएपनि विस्तारै संस्थागत गतिविधि तथा स्थानीय तहसँग सहकायै गरिरहेका छौ।

स्थापनाकालदेखि अहिलेसम्म के कस्ता कार्यक्रम गर्नुभयो त ?
म्याग्दी विकास मञ्चले वृहत्तर रुपमा आम भेला गरी पहिलो साधारणसभा सम्पन्न गरेको छ । त्यसपश्चात् समितिको बैठक बसी विभिन्न निर्णयहरु गरी जिल्लाको अर्गानिक प्रविधि खेती अभियानलाई प्राथमिकता दिँदै काठमाडौंमा कृषि विज्ञहरुसँग बैठक सम्पन्न गरेको छ । साथै म्याग्दी जिल्लाका ५ वटा गाउँपालिका र नगरपालिकाबाट अध्यक्ष, उपाध्यक्ष, प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतहरु, कृषकहरु र सञ्चारकर्मीहरुको समन्वयात्मक “म्याग्दीमा अर्गानिक खेतीको सम्भावना” विषयमा एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । सबै गाउँपालिका र नगरपालिकाका वडाहरुमा प्रस्तावपत्र समेत पेश गरेको अवस्था छ ।

त्यसको अनुगमनको लागि संस्थाका प्रमुख कार्यकारी अधिकृतबाट निरन्तर अनुगमन गर्ने कार्य भइरहेको छ भने मंगला, मालिका, रघुगंगा, अन्नपूर्ण गाउँपालिका र बेनी नगरपालिका वडा नं. २ खबरामा प्राङ्गारिक झोल मोल बनाउने प्रविधिबारे व्यावहारिक तालिम समेत सम्पन्न गरिएको छ । र अन्नपूर्ण, रघुगंगा गाउँपालिकामा एक वटा सहयोग समिति, धौलागिरि, मंगला र मालिकामा एक सहयोग समिति र बेनी नगरपालिकामा एक सहयोग समिति बनाउने र म्याग्दी जिल्लाको समृद्धिको लागि पूर्वाधार तयार पार्ने र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्ने समेत उद्देश्य लिएको छ ।

म्याग्दीमा यस्ता काम गर्ने संस्था धेरै छन्, म्याग्दी विकास मञ्चमा त्यो भन्दा फरक के छ ?
म्याग्दीमा धेरै संघसंस्थाहरु छन् र उनीहरु पनि काम गरिरहेका छन् तर म्याग्दी विकास मञ्च त्योभन्दा केही नवीनता, सृजनशीलता र अनुकरणीयता जस्ता कार्यहरु गर्न तत्पर रहेको छ । जसमा म्याग्दी जिल्लालाई अर्गानिक उत्पादन र वितरण एवम् उपभोग गर्ने उदाहरणीय अभियान प्रारम्भ गरिसकेको छ । Myagdi Development Trust को माध्यमबाट आर्थिक वृद्धि गरी संस्थालाई आर्थिक रुपमा सफल बनाउने रणनीति लिइएको छ । प्रारम्भदेखि नै म्याग्दी जिल्लाका स्थानीय तहहरु, कृषक, सञ्चारकर्मीहरुसँग वृहत छलफल गरी म्याग्दीमा अर्गानिक खेती प्रविधिलाई जोड दिँदै यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत सूचना प्रवाह गर्ने कार्य गरेको छ । विषय विज्ञहरुद्वारा SWOT विश्लेषण गर्ने गरिएको छ । जिल्लाको समृद्धिको खातिर बहुक्षेत्रीय सेवाको लागि कार्यक्रमहरु तयार गरिएको छ ।

संस्थामार्फत मुख्य गरी कुन कुन क्षेत्रलाई प्राथमिकता दिने योजना छ त ?
म्याग्दी विकास मञ्चले क्षेत्रगत रुपमा गरिएका प्राथमिकताका आधारहरु निम्नानुसार रहेका छन् – पर्यटन, इको टुरिजम, अर्गानिक खेती अभियान, सामाजिक आर्थिक उद्योग, व्यापार, शैक्षिक, ऐतिहासिक, साहित्यिक, कलाकौशल, धार्मिक, भाषिक, ज्ञानविज्ञान, कृषि, पशु, स्वास्थ्य, प्राकृतिक चिकित्सा र खेलकुद आदिलाई प्राथमिकता दिइएको छ भने स्थानीय तहसँग समन्वय र सहकार्य, मानवअधिकार संरक्षण र समृद्ध म्याग्दी अभियानमा सहकार्य गर्नुका साथै नेपाल सरकारले लिएको दिगो विकास लक्ष्यलाई पूरा गर्न सहयोग गर्ने अभियान लिइएको छ ।

तपाई प्रवासी म्याग्देलीको साझा संस्था मोनाको संस्थापक अध्यक्ष एवम् संरक्षक पनि हुनुहुन्छ, प्रवासीलाई यो संस्थासँग जोड्ने प्रयास गर्नुहुन्छ कि हुदैन त ?
अवश्यै गर्छु । किनभने प्रवासी म्याग्देलीको साझा संस्था मोना हो । यस अन्तर्गत म्याग्दी विकास मञ्चलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन विभिन्न गोष्ठी, बैठक, विभिन्न कन्सर्टहरुको आयोजना गरी चिनाउने प्रयास गरिएको छ । संस्थागत गतिविधिमा प्रवासी म्याग्देलीलाई जोड्ने भन्दा पनि मोनासँग सहकार्य गरी विभिन्न कार्यक्रम गर्ने योजना रहेको छ । म्याग्दी जिल्लाबाट प्रवासमा रहेका म्याग्देलीले जिल्लाको विकासमा ल्याउने योजनाहरूमा सहकार्य गदैं अगाडी बढ्ने संस्था हो । म्याग्दी विकास मञ्चमा प्रवासीहरुको सहयोग तथा म्याग्दीमा जन्मिएर देशका विभिन्न जिल्लामा बसोबास गर्नेहरुको संलग्नतामा लक्ष्य प्राप्तीको अभियान सञ्चालन गरिने छ ।

म्याग्दी विकास मञ्चले नेपालभित्र रहेका म्याग्देलीहरुलाई कसरी समेट्ने योजना छ त ?
बेनी नगरपालिका, गाउँपालिकाहरुमा सम्पर्क कार्यालय स्थापना गर्ने, गण्डकी प्रदेशको पोखरा र प्रदेश नं. ५ को बुटबल र राजधानी काठमाडौंमा सम्पर्क कार्यालय राख्ने योजना र रणनीति लिइएको छ । साथै म्याग्देली २० वर्षदेखि ६० वर्षभित्रका व्यक्तिहरुबाट जीवनमा एक पटक दान हजार भन्ने ट्रस विकास नीति समेत लिइएको छ ।

तपाईकै पहलमा गण्डकी प्रदेशमा समेत विभिन्न कार्यक्रम भएका छन्, प्रदेशसँग जोडेर काम गर्ने योजना हो ?
गण्डकी प्रदेशसँग म्याग्दी विकास मञ्चको हैसियतले विभिन्न कार्यक्रमहरु गर्नुको साथै प्रदेश स्तरीय सम्पर्क कार्यालय स्थापना गरी त्यस मार्फत् विभिन्न मन्त्रालयहरुमा प्रस्तावपत्र पेश गर्ने र त्यसको अनुगमन गर्ने कार्य गरिरहेको छु । गण्डकी प्रदेशसँग जोडिएर म्याग्दी जिल्लामा केही योजनामा काम गर्ने प्रयास सकारात्मकतर्फ उन्मुख छ । मैले यसैहप्ता पनि पोखरामा विभिन्न कार्यक्रममा सहभागीता जनाएको छु ।

म्याग्दीका स्थानीय तहका प्रमुखहरूसँग मञ्चले पटकपटक छलफल गरेको छ, जनप्रतिनिधिसँग कसरी काम गदैं हुनुहुन्छ त?
म्याग्दी जिल्लाका बेनी नगरपालिका र पाँच वटा गाउँपालिकाहरुमा म्याग्दी विकास मञ्चका प्रमुख कार्यकारी अधिकृत र सम्पूर्ण मञ्चका पदाधिकारीहरुको सक्रियतामा म्याग्दीमा अर्गानिक खेती प्रविधि अभियान लागू गर्न, जिल्लाको SWOT विश्लेषण गर्न, विकासका सम्भावनाहरु खोजी गरी विस्तृत परियोजना प्रतिवेदन तयार पार्नको लागि सहयोग गर्ने उद्देश्य लिइएको छ । साथै, सबै गाउँपालिका र नगरपालिकाबाट प्रस्तावहरु पेश गरिएको छ भने स्थानीय तहसँग सम्झौता गरी

कार्यक्रमलाई अगाडि बढाउने अपेक्षा गरेको छु ।
म्याग्दीमा धेरै संस्थाले कुरा गर्ने काम नगर्ने प्रबृत्ती छ, म्याग्दी विकास मञ्चलाई यसमा राख्न मिल्छ कि मिल्दैन त ?
म्याग्दीमा धेरै संस्थाले कुरा गर्ने, काम कम गर्ने प्रवृत्ति छ भन्नु भएकोमा मेरो विचारमा म्याग्दी विकास मञ्चमा आबद्ध वरिष्ठ उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सचिव र सदस्यहरुको निरन्तर परामर्श, सरसल्लाह, छलफल गरी कार्यक्रम तय गर्ने र विज्ञहरुबाट परामर्श लिई उनीहरुसँग सहकार्य गर्नुको साथै गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, बेनी नगरपालिकाका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृतहरु, सञ्चारकर्मीहरु, नागरिक संघसंगठनहरु, कृषकहरुसँग निरन्तर समन्वय र सहकार्य गरी कार्यक्रमहरु सञ्चालन गर्ने र बोलेका कुराहरुलाई व्यवहारमा उतार्ने प्रयास गरेको छु ।

तपाई हङकङको प्रतिष्ठित नेपाली ब्यवसायी पनि हो, म्याग्दीका उत्पादनलाई त्यहाँको बजारसम्म लैजान सकिन्छ कि सकिँदैन त ?
अवश्य सकिन्छ ।किनभने म्याग्दीमा उत्पादित अर्गानिक तरकारी, फलफुल र अन्न गेडागुडी जुन गाउँपालिकामा र नगरपालिकामा उत्पादन हुन्छन्, यी उत्पादित वस्तुहरुलाई संकलन र प्याकेजिङ गरी सोही गाउँपालिका र नगरपालिकाको नाममा म्याग्दी मार्क लेबल लगाई बनेको मिति, जात, तौल, मूल्य आदि उल्लेख गरी नेपालबाट हङकङको बजारमा पु¥याउने र त्यहाँ लाग्ने हाट बजारमा यसको बजारीकरण गर्ने योजना राखेको छु । केही महिना अगाडी म्याग्दीको टिम्बुर र भीर महलाई बजारीकरणमा केन्द्रित गरेका छौ ।

तेस्रो मुलुकमा म्याग्दीका कस्ता उत्पादनले बजार पाउँछन्, त्यसलाई कसरी त्यहाँसम्म पु¥याउन सकिन्छ त ?
म्याग्दीमा उत्पादित अर्गानिक वस्तुहरुको हङकङ लगायतका तेस्रो मुलुकमा धेरै माग हुन्छ । जस्तै न्यूरो, डौंडे, टिम्मुर, सिल्टिम्मुर, च्याउ, ढकायो, भँडभँडे, फलफूलमा स्याउ, सुन्तला, मेवा, आँप जस्ता शुद्ध अर्गानिक वस्तुहरुको बजारको माग धेरै छ । यसका लागि स्थानीय निकायले उत्पादकहरुलाई अनुदान तथा म्याग्दी विकास मञ्चले तयार पारेको प्रस्तावउपर छलफल गरी त्यसको लागि मद्धत पु¥याउन सक्छ ।

अन्त्यमा केही भन्नु छ ।
म म्याग्दीमा जन्मेको हुँदा भाग्यमानी ठानेको छु । म हङकङमा बसे पनि समय समयमा म्याग्दीमा आउने र म्याग्दीको समृद्धि विकासका लागि म्याग्दी विकास मञ्चको स्थापना गरी स्थानीय तहसँग सहकार्य गरी जिल्लाको वृहत्तर विकासको लागि आवश्यक पर्ने पूर्वाधारको विकास, विस्तृत परियोजना प्रतिवेदनको तयारी गर्नुको साथै जिल्लालाई विकासमा रुपान्तरण गर्नका लागि अग्रसर रहेको छु । हङकङमा रहे पनि नेपालको विकासको सपना देख्ने गर्छु । म्याग्दी जिल्लामा एक गाउँपालिका÷नगरपालिका एक अर्गानिक होटेल स्थापना गर्ने र यातायातको लागि सबै वडाहरुमा हेलिप्याड स्टान्डर्ड निर्माण गर्ने र दीनदुःखीहरुलाई बिरामी पर्दा निःशुल्क सेवा गर्नका लागि तत्पर रहने र विकासको आर्थिक वृद्धिको लागि २० वर्षदखि ६० वर्षभित्रका व्यक्तिहरुबाट जीवनमा हजार एक पटक दान अभियान सञ्चालन गर्ने र म्याग्दी विकास ट्रस्टको स्थापना गर्ने समेत विचार लिएको छु । म्याग्दी विकास मञ्चको बारेमा केही विचार राख्ने मौका दिनुभएकोमा यहाँप्रति आभारी छु ।

Leave a Reply