समुन्द्र सतहदेखि करिव ३३ सय मिटरको उचाईमा अवस्थित मालिका मन्दिरमा मालिका,जालपा, कालिका देबीको शक्ति प्राप्त हुन्छ भन्ने विश्वास लिएर भक्तजन पुग्ने गरेका छन् । मालिका र रघुगंगा गाउँपालिका सिमानामा अवस्थित मन्दिरमा बर्षेनी हजारौ भक्तजन पुग्ने गरेपनि पूर्वाधारको अभावका कारण समस्या हुने गरेको छ ।

जंगलै जंगलको साँधुरो बाटोबाट दैनिक ७ घण्टासम्म यात्रापछि पुगिने मालिका पछिल्लो समय धार्मिक आस्थाको केन्द्र बनेको छ । आँखै अगाडी टल्किने धौलागिरी, निलगिरी अन्नपूर्ण, मनास्लु, माछापुच्छे, गुर्जा, चुरेन,पुथा लगाएतका दर्जनौ हिमश्रंखला सहित प्राकृकित सौन्दर्यताको खानी मालिकालाई आर्कषक गन्तब्य बनाउने गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले बताए । रोकासँग बेनीअनलाइनले गरेको छोटो कुराकानी

मालिका मन्दिरमा पूर्वाधार विस्तारको योजना बनाउनुएको छ त ?
धन्यवाद, मालिका मन्दिरमा आवश्यक पूर्वाधार विस्तारलाई प्राथमिकता दिएका छौ । जिल्लाकै धार्मिकस्थलको रुपमा विकास भइरहेको मन्दिरमा आउने भक्तजनलाई लक्षित गरी गतबर्ष गाउँपालिकाले गौरवको योजना अन्तरगत वडा नं ७ बिमको बिलबाङ हुदै मालिकाधुरीको फेदीमा अवस्थित नागीथला सम्म पुग्ने गरी सडक विस्तारको योजना अन्तरगत काम सडकको काम भइरहेको छ ।

मन्दिरमै आवश्यक पर्ने न्यूनतम पूर्वाधार विस्तारमा समेत करिव १५ लाख बजेट विनियोजन गरिएको छ । मन्दिरसम्म पुग्ने पदमार्गको मर्मत तथा आसपासका बस्तीसम्म सडक सञ्जाल समेत जोडिएको छ । मन्दिरमा हरेक बर्ष भक्तजनको चाप बढ्न थालेपछि आगामी आवमा समेत बजेटलाइ प्राथमिकता दिन्छौ ।

मन्दिरमा तत्काल के कस्ता पूर्वाधारको आवश्यकता छ त ?
अग्लो डाँडामा अवस्थित मन्दिर आसपासमा घेरावार, खानेपानी, मन्दिरसम्म पुग्ने रुटको पदमार्ग ब्यवस्थित र रातको समयमा सुत्ने सत्तल सहितका पूर्वाधार न्यूनतम आवश्यकता हुन् । अहिलेपनि मन्दिरमा ब्यवस्थित रुपमा पानी पु¥याउन सकिएको छैन् । खानेपानीको अभावसँगै शौचालय समेत छैन्। भक्तजनहरू मन्दिरमा दर्शन गर्न जाँदा अघिल्लो दिन ओडार र खुल्ला आकाशमा दिन बिताउन बाध्य छन् । भक्तजन तथा घुम्न जाने पर्यटकलाई न्यूनतम पूर्वाधार विस्तारका लागि गाउँपालिकाबाट बिनियोजित बजेट अपुग भएमा प्रदेश र संघीय सरकारलाई समेत बजेटका लागि अनुरोध गर्दछौ । गाउँपालिकाले मालिकाको विकासलाई धार्मिक तथा पर्यटनको क्षेत्रसँग जोडेर लिएको छ ।

मालिका छिमेकी रघुगंगा गाउँपालिकाको सिमाना समेत हो, पूर्वाधार बनाउन सहकार्य हुन्छ कि हुदैन त?
मालिकामा आउने भक्तजनलाई लक्षित गरी रघुगंगा गाउँपालिकाले समेत पूर्वाधार विस्तारलाई तिब्रता दिएको छ। रघुगंगाको पाखापानी हुदै ठाडाखानीसम्म सडक सञ्जाल जोडिएको छ । दुवै क्षेत्रबाट पदमार्गको विस्तारसँगै आफ्नो क्षेत्रमा भक्तजनलाई सहज हुने गरी पूर्वाधार विस्तार भइरहेकाले आवश्यकता अनुसार सहकार्य गरिन्छ । जंगलभित्र रहेका पशुचौपायाका गोठ, समथर भुभाग, चराचुरुङी र बन्यजन्तुको आवाज, रोमाञ्चक मालिकाको ब्यापाक प्रचारप्रसार र पूर्वाधार विस्तारमा आवश्यकता अनुसार पूर्वाधार विस्तारमा छलफल भइरहेको छ ।

धार्मिक बाहेक अन्य समयमा पर्यटकलाई आर्कषित गर्ने पनि सकिन्छ नी, के योजना बनाउनुभएको छ त ?
निकै महत्वपूर्ण प्रश्न गर्नुभयो ।मालिकाधुरीलाई पर्यटकीय गन्तब्य बनाउन विभिन्न संघसंस्थासँग सहकार्य भइरहेको छ ।मन्दिरमा म्याग्दी उद्योग वाणिज्य संघ, पर्यटन क्षेत्रमा आवद्ध सघसंस्थाका साथै विभिन्न निकायबाट पदमार्ग हुदै आन्तरिक तथा बाह्य पर्यटकलाई पुग्ने गरी पूर्वाधार विस्तारमा चासो देखाएका छन् । मन्दिरमा घुम्न जानेलाई लक्षित गरी हेलिप्याड बनाउने योजना छ । त्यस्तै चारैतिर मोटरबाटो बाहेक पदमार्गलाई समेत ब्यवस्थितका योजना भएकाले पनि दुई देखि ५ दिने प्याकेज बनाएर गुरूयोजना बनाउने तयारीमा छौ ।

मालिका परियोजना अन्तरगत तत्काल पूर्वाधार विस्तारमै करिव ७ देखि १० करोड खर्च गर्न सकेमा बाह्ै महिना पर्यटकको जमघट गराउन सकिन्छ । मालिकाबाट म्याग्दीका अधिकांस भुभागका साथै पर्वत, बागलुङ, कास्की लगाएतका जिल्ला समेत देखिन्छ । त्यहाँ रहेको अग्लो ढुंगाबाट पोखराको फेवाताल आसपासका क्षेत्र समेत सजिलै देखिन्छ । आसपासमा हिमाल, प्राकृतिक दृष्य, मानव बस्ती जस्तै देखिने ओडार र पदयात्रामा रमाउने विदेशीलाई सुन्दर गन्तब्यका रुपमा मालिकालाई लिन सकिन्छ ।

मन्दिरमा सङ्कलन भएको भेटी के गरिन्छ त ?
यसबर्ष मन्दिरमा संकलन भएको भेटी अहिलेसम्मकै धेरै हो । मन्दिरमा भेटीसँगै बली समेत चढाउने गरिन्छ । विगतमा भेटीका बारेमा केही विवाद भएपनि दुवै गाउँपाकिलाबाट ब्यवस्थापन समितिमा रहेकाले पनि भेटीलाई पूजाको भोलीपल्ट सार्वजनिक गर्ने गरिन्छ । मन्दिरको भेटीलाई पूजारीको खर्च सहित आवश्यकता अनुसार मन्दिरकै हितमा प्रयोग गर्ने गरिएको छ । मन्दिरको पूर्वाधार विस्तारमा भेटीको प्रयोग नभएपनि सामान्य खर्च हुने क्षेत्रमा भेटीलाई नै प्रयोग गर्ने गरिएको अवस्थामा आगामी दिनमा ब्यवस्थित गर्ने तर्फ पहल हुने छ । धार्मिक क्षेत्रका भेटीमा आँखा लगाउनु हिन्दु धर्मको नराम्रो पक्ष भएकाले पनि भक्तजनको दानलाई सदुपयोग गरी मन्दिरको बृह्तर हितमा खर्च गर्नेछौ ।

Leave a Reply