रविना बोहोरा  चर्चित पत्रकार रवि लामिछानेले पत्रकारहरूले लोकप्रियता घट्ने सन्त्रासमा सत्य लेख्न डराउन नहुने बताउनुभएको छ । नेपाल पत्रकार महासंघले बागलुङमा आयोजना गरेको फेस टु फेस कार्यक्रममा बोल्दै लामिछानेले पत्रकारहरु आलोचना र विवादमा परिएला भन्ने डरकै कारण सत्य लेख्न नसक्नु पत्रकारिताको धर्म विपरित हुने बताउनुभयो ।

‘सत्य लेख्दा केही मान्छेको चित्त दुख्न सक्छ, उनीहरुले गाली गर्न सक्छन्, धम्की दिन सक्छन्,’ उहाँले भन्नुभयो, पत्रकारितामा लागेकाहरुले यो चुनौतिपूर्ण पेशा हो भन्ने बिर्सनु हुँदैन, सत्य पक्षमा गाली मात्र होइन, ताली पनि पाइन्छ ।’ चुनौतिका बिरुद्ध बिद्यमान विकृति विसंगति, भ्रष्टाचार र अनियमितताका बिरुद्धमा आवाज बुलन्दित गरेर प्राप्त गर्ने सफलता र सन्तुष्टि जिवनकै पृथक अनुभव हुने उहाँको भनाई थियो ।

लामिछानेले अहिले पनि नेपाली समाजमा परम्परागत पत्रकारिताको अभ्यास व्याप्त रहेकाले यस्तो पत्रकारिताले बर्तमान समाजको व्यथिति अन्त्य गर्न कठिन देखिएकाले अब समाजको माग अनुसारको पत्रकारिता आवश्यक भएको बताउनुभयो । यसका लागि सिधा कुरा जनता सँग मार्फत फरक धारको पत्रकारितामा आँफु क्रियाशिल रहेको उहाँको भनाई छ ।

पत्रकारको काम खाली प्रश्न सोध्ने मात्र नभई सर्वसाधारण जनताको चिक्त बुझ्दो जवाफ आयो कि आएन रु र जनता प्रति जवाफदेही छ छैन भन्ने बिषयमा फ्लो अप जरुरी भएको लामिछानेले बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषले आजको समयको पत्रकार र पत्रकारिताका बिषयमा बहस गरेर जिल्लामा क्रियाशिल पत्रकारहरुलाई थप खोज पत्रकारितामा लाग्न अभिप्रेरित गर्न फेस टु फेस कार्यक्रम गरिएको बताउनुभयो ।

उहाँले जिल्लाको पत्रकारितालाई थप सशक्त बनाउन पत्रकार सम्वद्ध अग्रज व्यक्तिहरुको उपस्थितिमा यस्तो कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो । कार्यक्रमको सञ्चालन महासंघका सचिव राम थापा अविरलले गर्नुभएको थियो ।