दक्षिण बागलुङको ग्रामीण क्षेत्रलाई राष्ट्रिय राजमार्गसँग जोड्न निर्माण गरिएको सडक स्तरोन्नति गर्न थालिएको छ।

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरदेखि जैमिनी नगरपालिकाको बिनामारे, रिठेडाँडा, व्यार्थलालगायत जर्दनौँ गाउँसम्म जोड्ने गरी १३ वर्ष अगाडि निर्माण गरिएको सडक स्तरोन्नति गर्न थालिएको छ।

नगरपालिकाले गत वर्षदेखि नै यो सडक स्तरोन्नति गर्न थालेको हो। गाउँको सडक स्तरोन्नति हुन थालेपछि स्थानीय हर्षित भएका छन्।

हिउँदमा हिलो र बर्खामा धुलोका कारण यातायातका साधन नियमित गुड्न सक्दैन्थे। नगरपालिकाले स्तरोन्नति गर्न थालेपछि नियमित गाडी सञ्चालन हुनेमा स्थानीय विश्वस्त बनेका छन्।

आर्थिक वर्ष २०७९/८० मा नगरपालिकाले विनियोजन गरेको १० लाखबाट करिडोरसँग जोडिएको खण्ड स्तरोन्नति गरिएको र यस वर्ष त्यसभन्दा माथिल्लो क्षेत्रमा काम गरिरहेको वडा नं-५ का अध्यक्ष ठगबहादुर थापाले जानकारी दिए।

यस वर्ष नगरपालिकाले १० लाख विनियोजन गरेको हुँदा उक्त रकमबाट सडक फराकिलो बनाउने, नाली निर्माण र अप्ठ्यारो स्थानमा ढलान गर्न थालिएको उनको भनाइ छ।

करिडोरदेखि पर्यटकीय क्षेत्र हाँडीकोटसम्म जोडिएको सो सडक करिब १६ किमी रहेको हुँदा बर्सेनि नगरपालिकाले बजेट व्यवस्थापन गरी काम गर्दै आएको अध्यक्ष थापा बताउँछन्।

करिडोर खण्ड निरिङ्गे, बिनामारे, रिठेडाँडा, व्यार्थला हुँदै हाँडीकोटको जोडिएको यस सडक बजेट अभावमा एकैपटक काम गर्न नसकिएको उनको भनाइ छ। केन्द्र र प्रदेश सरकारले बजेट व्यवस्थापन गरे एक/दुई वर्षमै काम गर्न सकिने थापाले बताए।

उनले भने, ‘यो सडकको ट्र्याक खुलेको धेरै वर्षपछि अहिले बल्ल स्तरोन्नतिको काममा लागिरहेका छौँ, यो सडकले धेरै ग्रामीण क्षेत्र जोडिएको हुँदा यात्रा र सामान ढुवानीमा समस्या छ, स्तरोन्नतिपछि सहज बन्नेछ, गाउँमा उत्पादन हुने वस्तुलाई बजारीकरण गर्न पनि यो सडकले महत्वपूर्ण टेवा पुर्‍याउनेछ, करिडोरदेखि हाँडीकोटसम्मको सडक समयमै स्तरोन्नति गर्नसके, पर्यटक भित्र्याउन र सहज रुप हाँडीकोट पुर्‍याउन सकिने थियो।’

जैमिनी–५ का स्थानीय फमबहादुर थापाले ट्र्याक खुलेको दशक वर्ष बढी हुँदा पनि सबै सडक स्तरोन्नति हुन नसक्दा हजारौँ नागरिकले सास्ती खेप्नुपरेको बताए। सडक स्तरोन्नतिका लागि करोडौँ रकम लाग्ने भए पनि नगरपालिकाले सीमित बजेट विनियोजन गरेर काम गर्दै आएको उनको भनाइ छ।

यो सडकलाई स्तरोन्नति गर्नका लागि प्रदेश र केन्द्र सरकारबाटै बजेट आउनुपर्ने थापा बताउँछन्। सडक अप्ठ्यारो हुँदा कृषिउपज वस्तु बजार पुर्‍याउँदा बढी भाडा तिर्नु परेको उनले सुनाए। केही ठाउँमा स्तरोन्नति हुँदा थोरै भए पनि यात्रमा सहज भएको उनको भनाइ छ।

Leave a Reply