घरमा झुण्डिएको अवस्थामा भेटिएकी काठेखोला गाउँपालिका वडा नं. १ खहरकी दीक्षा भण्डारीको हत्या भएको आशंकामा माइती पक्ष र स्थानीयले सत्यतथ्य छानविनको माग गरेका छन् । उनीहरुले केही दिनदेखि बजारमा नाराबाजीसमेत गरेर दोषीलाई कारवाही गर्न माग गरेका छन् ।

बुधबार बेलुकी मृत भेटिएको भन्दै परिवारका सदस्यले उनको शव अस्पताल ल्याएका थिए । माइती पक्षले भने हत्या गरिएको भन्दै जाहेरी दिएपछि प्रहरीेले शंकास्पद दोषीलाई पक्राउ गरेको छ । ढीला समयसम्म पोष्टमार्टम नभएपछि स्थानीय आक्रोशित थिए । मृतकको पोष्टमार्टमका लागि विज्ञ चिकित्सक चाहिने भन्दै अस्पतालले ढिला गरेको थियो ।
धौलागिरि अस्पतालमा फरेन्सी विज्ञ ल्याएर शनिबार पोष्टमार्टम गरिएको छ ।

उक्त पोष्टमार्टमको रिपोर्ट आएपछि प्रहरीले थप अनुसन्धान अगाडि बढाउने बताएको छ । घटनाबारे परस्पर विरोधी धारणाहरु आइरहे पनि वास्तविकता खुल्न भने अझै केही समय लाग्ने प्रहरी अधिकारीहरुको भनाइ छ । अनुसन्धानको क्रममा भएकोले यसै भन्न नमिल्ने उनीहरुले बताए ।
मृतक किशोरीको माइती भने बागलुङ नगरपालिका वडा नं. १० भकुण्डेको गलुवा हो ।

उनको मृत्युलाई रहस्यमय भन्दै उचित छानविन गरी दोषीलाई कारवाही गर्न क्षेत्री समाज बागलुङले माग गरेको छ ।
गलुवाका देवेन्द्र भण्डारी र सावित्री भण्डारीकी छोरी दीक्षा बिद्यामन्दिर माविमा पढ्दै थिइन् । समाजले घटनाको सत्यतथ्य नलुकी बाहिर आउने वातावरण बनाउन सबैलाई आग्रह गरेको छ । अध्यक्ष रुद्रबहादुर महतले हस्ताक्षर गरेको विज्ञप्तिमा यथार्थ छानविन र अनुसन्धान हुनुपर्नेमा पनि जोड दिएको छ ।

Leave a Reply