म्याग्दीको सदरमुकाम बेनीमा शुक्रवार विपद् व्यवस्थापन समिति एवं सरोकारवालाबीच अपाङ्गता समावेशी तथा विपद् सुरक्षा जोखिम न्यूनीकरणमा अन्तर्क्रिया सम्पन्न भएको छ ।
अपाङ्गता स्वाबलम्बन विकास संघ डिडा नेपाल, जर्मन कर्पोरेसन, हुमेडिया इन्टरनेशनल एड, आईएनएफ नेपाल, ईन्सेक गण्डकी प्रदेश र राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकी प्रदेशको संयुक्त आयोजनामा म्याग्दीका सरोकारवालाहरुबीच अन्तर्क्रियार छलफल गरिएको हो ।
कार्यक्रममा विपद् व्यवस्थापन समिति एवं सरोकारवालाहरुबीच अपाङ्गता समावेशी तथा विपद् सुरक्षा जोखिम न्यूनीकरण सम्बन्धी विषयमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकी प्रदेशका अध्यक्ष खोमराज सुवेदीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। अध्यक्ष सुवेदीले प्रस्तुत गरेको कार्यपत्रमाथि कार्यक्रममा सहभागी सरोकारवालाहरुले छलफल समेत गरेका थिए ।
अन्तर्क्रिया तथा छलफलमा सहभागीहरुले म्याग्दी जिल्ला विपद्का हिसाबले उच्च जोखिममा रहेकाले सतर्कताको लागि आवश्यक पूर्वतयारी गर्नुपर्ने बताएका छन् । सहभागीहरुले विपद्को अवस्थामा उद्धार, राहत र पुनसर््थापना तथा आवश्यकताअनुसार सामग्रीहरुको भण्डारण गर्ने कार्यमा स्थानीय तहले तयारी गर्नुपर्नेमा जोड दिए ।
यसैगरी विपद्जन्य घटनाहरुमा जिल्ला विपद् व्यवस्थापन समितिले विपद्को समयमा अपाङ्गता भएकाहरुलाई उपयुक्त हुने खालका सामग्रीहरु अनिवार्य रुपमा व्यवस्था गर्नुपर्ने सहभागीको भनाइ छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले जिल्लाका सबै पालिकाहरुलाई विपद् व्यवस्थापन गर्नको लागि उपयुक्त पूर्वाधार बनाउन निर्देशन दिइएको बताउनुभयो ।
उहाँले अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यक पर्ने तथा उपयुक्त सामग्रीहरु तत्काल खरिद गर्न आग्रह गर्दै जिल्ला विपद् व्यवस्थापन समितिमा अपाङ्गता भएका व्यक्तिको पनि प्रतिनिधित्व सुनिश्चित गराउन निर्देशन दिनुभयो ।
कार्यक्रममा म्याग्दीका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, नेपाली कांग्रेस म्याग्दीका उपसभापति हरिकुमार श्रेष्ठ, नेकपा एमालेका जिल्ला अध्यक्ष बालकृष्ण सुवेदी, माओवादी केन्द्रका जिल्ला संयोजक शेरबहादुर केसी, राष्ट्रिय जनमोर्चाका पूर्व अध्यक्ष रमेश पुन र ईन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
आईएनएफ नेपालका आउटरिच म्यानेजर ताराहाङ तावालिम्बुले औचित्यमाथि पुष्टि गर्नुभएको कार्यक्रम डिडा नेपालका अध्यक्ष दिपक तिमिल्सेनाको अध्यक्षता र संस्थापक गिरीधारी सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो भने राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेशका सहसचिव टिकाराम सापकोटाले स्वागत गर्नुभएको थियो ।

Leave a Reply