म्याग्दीको एक सामुदायिक बनमा आगो लगाउने १ जना पक्राउ परेका छन्। बेनी नगरपालिका-६को खैरेनी सामुदायिक बनमा आगो लगाउने सोही वडाका एक यूवालाई पक्राउ गरिएको डिभिजन बन कार्यालय म्याग्दीले जनाएको छ।

गत वैशाख ९ गते आगो लगाएको विशेष सूचनाका आधारमा १० गते पक्राउ गरिएका यूवा केहीदिन अगाडी मात्रै बैदेशिक रोजगारीको सिलसिलामा खाडीमुलुकबाट फर्किएका थिए ।

‘अनुसन्धान गरि मुद्दा चलाउने प्रक्रियामा छौ,मुद्धा दर्ता गरेपछि ब्यक्तिगत परिचय सहित सम्पूर्ण जानकारी दिन्छौ’सहायक बन अधिकृत विनयबहादुर अधिकारीले भन्नुभयो । उहाँका अनु्सार मुद्धा दर्ताको प्रक्रिया अगाडी बढाइएको छ ।

म्याग्दीमा ३ सय ११ सामुदायिक वनमध्ये १ सय १२ वटाको १ हजार हेक्टरमा डढेलोले जलेर खरानी बनेको छ । भिरालो क्षेत्रमा लागेको डढेलोले ग्रामिण बस्तीलाई नै त्रसित बनाइरहेको छ । बन क्षेत्रमा फैलिएको आगलागीले गर्दा निस्केको धुँवाले जिल्लामा पछिल्लो एक महिना यता वायु प्रदूषण बढेको छ । प्रदेश वन निर्देशनालयले गण्डकी प्रदेशका ११ जिल्ला मध्ये सबैभन्दा बढी म्याग्दीको बन क्षेत्रमा क्षती पुगेको तथ्याङ्कले देखाउँछ ।

आगलागीले जिल्लाका अधिकांस सामुदायिक र राष्ट्रिय बनक्षेत्र उजाड र नाङ्गो भएको छ ।नयाँ घाँस पलाउने आसमा डढेलो लगाउँदा साना तथा ठूला सयौं रूख विरुवा जलेर नष्ट भएको डिभिजन बन कार्यालय म्याग्दीका प्रमुख विष्णु अधिकारीले बताए ।सामुदायिक बन क्षेत्रमा अग्नीरेखा सहित आगो फैलिन नदिने गरी विभिन्न योजनाहरू मार्फत समुदायलाई नै तालिमको आवश्यकता रहेको उपभोक्ता समुहको भनाई छ । वन ऐन २०७६ दफा ५० को उपदफा ४ अनुसार वन डढेलो लगाएर कसुर गर्नेलाई क्षति भएको विगो असुल गरि तीनवर्षसम्म कैद वा ६० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख छ।

Leave a Reply