पर्वतको जलजला गाउँपालिका- वडा ६  हिन्दू धर्मग्रन्थहरूमा पवित्र तपोभूमिका रूपमा व्याख्या गरिएको कालञ्जर पर्वतको धार्मिक पुर्वाधार तथा प्रचारप्रसारका लागि पञ्चदिवसात्मक साधना अनुष्ठान सुरू भएको छ । समुन्द्रि सतहदेखि तीन हजार ३०० मिटर उचाइमा रहेको हम्पालमा बैशाख ७ गतेदेखि पाठपरायण, जप, हवन, पुजन सहित अनुष्ठान, मृगसरोबर तथा कालाञ्जार मुक्ति क्षेत्रको महिमा विशेष सत्संग आगामी बैशाख ११ गतेसम्म सञ्चालन हुने जलजला गाउँपालिकाले जनाएको छ ।

पञ्चदिवसात्मक साधना अनुष्ठानको गाउँपालिकाका अध्यक्ष राजु आचार्यले पूजा गरी उद्घाटन गरेका थिए । गाउँपालिका अध्यक्ष आचार्यले सडक सञ्जाल सहित भौतिक पूर्वाधारहरु समेत विस्तारसँगै कालञ्जर भूमिलाई हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल र धार्मिक गन्तव्यका रूपमा विकासमा गाउँपालिकाले प्राथमिकतामा राखेको बताए । पूजाअवधिभर मुक्तिनाथ पिठाधिश्वर स्वामी कमलनयनाचार्यको समेत विशेष उपस्थिती रहने छ ।

हिन्दू धर्मग्रन्थमा पवित्र तपोभूमिका रूपमा व्याख्या गरिएको सो पर्वतको महिमा वर्णन मात्रै गरिएको छैन, त्यहाँ पुगेर तपस्या गरेर धेरै ऋषिमुनिले सिद्धप्राप्त गरेको उल्लेख छ । पद्मपुराणमा महादेव र पार्वतीको क्रिडास्थल, पितृको श्राद्धकर्मका लागि निर्देश गरिएका गङ्गासागर, ब्रह्मसागर, यमुना, कुरुक्षेत्र, नीलकण्ठजस्तै कालञ्जर तीर्थलाई पनि उत्तम पितृतीर्थका रूपमा उल्लेख गरिएको पाइन्छ ।

हिमालय पर्वतका राजा र उनकी पुत्री पार्वतीसँग जोडिएको यो क्षेत्र पवित्र भूमि र तपस्यास्थलका रूपमा रहेको मानिन्छ । राजर्षि जडभरतले यस क्षेत्रमा तपस्या गरेको पुराणमा उल्लेख गरेको पाइन्छ । एकपटक कालञ्जरमा रहेको मृग सरोवरमा स्नान गरेर त्यहाँ रहेका भगवान् शिवको दर्शन गरेमा मात्रै पनि स्वर्गलोकमा जान पाइन्छ भन्ने मान्यता छ।

सो पर्वतलाई बराहपुराणले भगवान् शिवको बासस्थानका रूपमा व्याख्या गरेको छ । यो क्षेत्र प्राचीन धर्मग्रन्थहरूमा ‘मृग सरोवर’ र सीमसार क्षेत्रका रुपमा उल्लेख छ । हनुमानले यही क्षेत्रबाट जडीबुटी लगेर औषधोपचारमा प्रयोग गरेको मुक्तिनाथ पिठाधिश्वर स्वामी कमलनयनाचार्यको बताउँछन् । स्वामी कमलनयनाचार्यले केही समय कालञ्जर भूमिमै तपस्या गरेका थिए ।

प्राचीन धर्मग्रन्थका अनुसार मृत्यु र समयलाई जित्नका लागि सिद्ध तपस्यास्थल वा तीर्थभूमिको नाम नै कालञ्जर हो भनिन्छ । अग्निपुराण, विष्णुपुराण र श्रीमद्भागवत् महापुराणले राजर्षि जडभरतको तपस्थली र उनका तीन जन्मसँग जोडेर कृष्णगण्डकीको सान्निध्यमा रहेको पवित्र भूमिका रूपमा कालञ्जरको व्याख्या गरेका छन् । बराहपुराणमा भगवान् शिवको निवासस्थलका रूपमा यसलाई व्याख्या गरेको पाइन्छ भने त्यहाँ रहेका भगवान् शिवको दर्शन गरे मात्रै कृष्णगङ्गा स्नानको फल मिल्छ भन्ने उल्लेख छ ।

हिन्दू धर्मग्रन्थहरूमा पवित्र तपोभूमिका रूपमा व्याख्या गरिएको कालञ्जर पर्वतलाई अहिले हम्पाल भनेर पनि चिनिन्छ । हिमश्रृंखला, सुर्योदय, सुर्यास्त र पहाडी भुगोल देख्न सकिन्छ । धौलागिरि, अन्नपूर्ण, निलगिरि, गुर्जा, पुथा, माछापुच्छ्रे, मनास्लु लगायत १६ भन्दा बढी हिमालकासाथै पर्वत, बागलुङ, म्याग्दी, कास्की, स्याङ्जा, गुल्मी, पाल्पा, गोरखा, तनहुँ, लमजुङसम्म अवलोकन गर्न सकिने स्थानीयको भनाइ छ ।

Leave a Reply