पर्वतको जलजला गाउँपालिका-२ स्थित मल्लाज दहमा सोमबार राति हत्या गरिएको ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी पत्नी ६७ वर्षीया कमला जिसीको आज अन्त्येष्टि गरिने भएको छ ।

बेनी अस्पतालमा राखिएको जिसी दम्पत्तीको रोजगारको सिलसिलामा दक्षिण कोरियामा रहेका दुई छोरा आएपछि गरिएको पोष्टमार्टम गरी आज कालिगण्डकी नदीमा अन्त्येष्टि गरिएको हो ।कालिगण्डकी नदीमा अन्त्येष्टीमा पुगेका सबैको आँखा रसाएका थिए भने गाउँमा नै स्तब्ध भएको छ ।क्रुर, वर्वर घटनामा संलग्नको पहिचान हुन सकेको छैन ।

घटनाको अनुसन्धानमा गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराको केनाइन शाखाबाट ट्रयाकर विषयमा तालिम प्राप्त कुकुर परिचालन समेत गरिएको थियो। घटनास्थलमा अनुसन्धानका विज्ञ टोली खटाइएको छ । घटनास्थल आसपासका क्षेत्रमा बसोबास गर्नेदेखि अनुसन्धानमा सहज हुने गरी प्रहरीले विभिन्न माध्यमबाट सोझपुछ तथा हत्यारालाई पत्ता लगाउन आधुनिक विधिको समेत प्रयोग गरेको छ।

हत्यामा प्रयोग गरिएको हँसिया र चाँबी तालिम प्राप्त कुकुरले पत्ता लगाएको थियो । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले हत्याराको पहिचान गरेरै छाड्ने बताए । मृतक दम्पतीको घाँटी र टाउकामा चोट लागेको थियो । घटनाको विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ ।प्राविधिकतर्फ गण्डकी प्रदेश प्रहरीले अनुसन्धान गरिरहेको छ ।

हत्यामा संलग्नले घर बाहिर प्रमाणहरु फेला नपर्ने गरी निकै चनासो अपनाएको देखिएको छ । घटनालगत्तै बाहिरबाट ढोकाको चाबी लगाएर भागेको, घटनास्थलमा रगताम्मे हुदाँ समेत आगनमा रगत देखिएकाले योजनाबद्ध तरिकाले हत्या गरिएको हुनसक्ने बताइएको छ ।

प्रहरीले घटनाको दिनदेखि बिहिबार साँझसम्म शंकास्पदसँग प्रहरीले सोधपुछ गरिरहेको छ । क्रुर यातना दिई निर्ममतापूर्वक ज्यान लिने हत्याराको खोजीमा कुनै कमि हुन नदिन पिडित परिवारले घटनास्थलमै पुगेका कानुनमन्त्री पदम गिरी सहित सरोकारवाला निकायको टोलीसँग माग समेत गरेका छन् ।

 

Leave a Reply